मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ १४ शुक्रबार २०:५८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गलत मनसायका साथ पटकपटक संसद् विघटन गणतन्त्रलाई समाप्त गर्ने कोसिस : नेपाल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ १४ शुक्रबार २०:५८:००

एमाले नेता माधवकुमार नेपालले  जननिर्वाचित संस्था प्रतिनिधिसभालाई हठात् रूपमा  गलत मनसायका साथ पटकपटक विघटन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोसिस भइरहेको त छैन भन्ने आशंका उत्पन्न भएको बताएका छन् । १४औँ गणतन्त्र दिवसको अवसरमा अपिल जारी गर्दै नेता नेपालले सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआउँदै फेरि पनि प्रतिनिधिसभा विघटन गरिनु त झन् स्वेच्छाचारी र प्रतिगामी कदम भएको बताएका छन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन्त्र सुरक्षित हुन नसक्ने नेपालको भनाइ छ ।

 

विज्ञप्तिको पूर्णपाठ


१४औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश र विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि पटक–पटक भएको ऐतिहासिक जनआन्दोलन र संघर्षमा त्याग एवं बलिदान गर्ने सहिदहरूलाई स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास, समानता र सामाजिक न्यायमा आधारित समाजको विकास र रूपान्तरण गणतन्त्रको प्रमुख उद्देश्य हो । साथै जनताद्वारा निर्वाचित जनप्रतिनिधिमूलक संस्थाहरू गणतान्त्रिक मूल्य–मान्यताबमोजिम जनभावनाको कदर गर्दै संविधान र कानुनद्वारा निर्दिष्ट दायित्व पूरा गर्न लाग्नु उनीहरूको दायित्व हो ।

तर,  त्यसविपरीत जननिर्वाचित संस्था प्रतिनिधिसभालाई हठात् रूपमा  गलत मनसायका साथ पटकपटक विघटन गरिनुले कतै हाम्रो गणतन्त्रलाई समाप्त गर्ने कोसिस भइरहेको त छैन भन्ने आशंका उत्पन्न भएको छ। प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गरी सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआउँदै फेरि पनि प्रतिनिधिसभा विघटन गरिनु त झन् स्वेच्छाचारी र प्रतिगामी कदम हो । संवैधानिक मूल्य र मान्यताविपरीत चल्ने र राज्यका सबै अंगको हुर्मत लिई आफूमातहत सबै शक्ति केन्द्रित गर्ने कार्यलाई लोकतान्त्रिक मान्न सकिँदैन।

गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता एवं समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको सम्मान नगर्दासम्म गणतन्त्र सुरक्षित हुन सक्दैन । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधीनता र स्वाभिमानसमेतमा गम्भीर खतरा उत्पन्न हुँदा सशक्त आवाज उठाउनु गणतन्त्रप्रेमी र देशभक्त नागरिकको दायित्व हो । यस ऐतिहासिक दिवसले गणतन्त्रको रक्षाका लागि लोकतन्त्रप्रेमी, देशभक्त, राजनीतिक दल एवं जनसमुदायमा एकताबद्ध भएर अघि बढ्न र गणतन्त्रको रक्षाका लागि लाग्न प्रेरणा मिल्नेछ भन्ने विश्वास लिएको छु ।

साथै कोरोनाका कारण मृत्युवरण गर्नुभएका सम्पूर्णप्रति  हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। कोरोनाको कारणले बिरामी हुनुभएका सम्पूर्ण जनसमुदायको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यहाँहरूको निम्ति स्वास्थ्य व्यवस्था गर्न तथा स्वास्थ्य उपचारमा विशेष ध्यान पुर्‍याउन सरकारलगायत सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँछु । र, अन्त्यमा स्वास्थ्य सुरक्षाका सबैखाले मापदण्ड पालना गर्न सम्पूर्ण जनसमुदायमा अपिल गर्दछु ।

धन्यवाद !        

२०७८ जेठ १४ गते