मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ १४ शुक्रबार १९:३६:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरले बनायो ३०९ बेडको आइसोलेसन र ३५ बेडको विशेष अस्पताल 

९ अस्पतालहरुलाई ४५ थान भेन्टिलेटर सहयोग,  ४४ हजारको निशुल्क पीसीआर 

Read Time : > 2 मिनेट
२०७८ जेठ १४ शुक्रबार १९:३६:००

काठमाडौं महानगरपालिकाले उपत्यकाका नौवटा अस्पताललाई ४५ थान भेन्टिलेटर उपलब्ध गराएको छ । कोभिड– १९ को संक्रमण बढेसँगै अस्पतालहरूको क्षमता अभिवृद्धि गर्ने र सेवा विस्तार गरी संक्रमित नागरिकलाई बचाउने उद्देश्यले ती भेन्टिलेटर विभिन्न अस्पताललाई उपलब्ध गराएको मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।

महानगरले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५,  त्रि.वि. शिक्षण अस्पताललाई १०, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई पाँच, छत्रपाटी निःशुल्क चिकित्सालयलाई चार, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई तीन, महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई दुई, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताललाई दुई, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई दुई र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई थान भेन्टिलेटर सहयोग गरेको छ ।

‘चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई वीर ५० वटा मनिटर उपलब्ध गराएका छौँ । आजै मात्र पनि हामीले महेन्द्रनारायण निधि मेमोरियल अस्पताललाई दुई थान भेन्टिलेटर उपलब्ध गराएका छौँ । महानगरपालिकामार्फत गरेको यो सहयोगले राजधानीवासी मात्र नभई ७७ वटै जिल्लाका कोभिड संक्रमित नागरिकहरूको सघन उपचारमा सहयोग पुग्ने अपेक्षा लिएका छौँ,’ उपत्यका नगरपालिका फोरमका अध्यक्षसमेत रहेका मेयर शाक्यले भने, ‘सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र र कान्ति बाल अस्पताललाई महानगरपालिकाले उपलब्ध गराएको पाँच करोडबराबरको सहयोग रकमले निर्माण गरिएको अक्सिजन प्लान्टमध्ये गंगालालले प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । कान्ति अस्पतालमा प्लान्ट असार महिनादेखि सञ्चालन हुनेछ ।’ 

मेयर शाक्यले महानगरपालिकाले ६ वटा विभिन्न सरकारी र सामुदायिक अस्पतालहरूलाई पिसिआर मेसिन, मनिटर, भ्हतचबअतष्यल मेसिन र बेड उपलब्ध गराएको पनि जानकारी दिए। विभिन्न अस्पताललाई उपलब्ध गराएकामध्ये केही भेन्टिलेटर, पिसिआर मेसिनलगायतका सामग्री भगिनी सम्बन्ध स्थापित गरेका चीनका विभिन्न नगरले महानगरपालिकालाई सहयोगस्वरूप उपलब्ध गराएका हुन् । 

‘कोभिड संक्रमित बिरामी तथा आफन्तहरूलाई उपचारमा सहज होस् भन्ने हेतुले नागरिक हटलाइन ११८० बाट २४ सै घन्टा सेवा दिने व्यवस्था मिलाइएका छौँ,’ उनले भने, ‘बिरामीहरूलाई अस्पतालमा पुग्न सहज होस् भनी कोभिड– १९ का बिरामीका लागि फोन नं. १०२ मार्फत  १० वटा र ननकोभिड बिरामीका लागि १० वटा गरी कुल २० वटा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएका छौँ जसबाट हालसम्म २२ हजार कोभिड संक्रमित बिरामी र १२ हजार ननकोभिड बिरामीले सेवा प्राप्त गरिसकेका छन् ।’ 

हालसम्म महानगरपालिका क्षेत्रभित्र ४४ हजारभन्दा बढीले निःशुल्क पिसिआर जाँचको सुविधा लिइसकेको महानगरपालिकाले जानकारी दिएको छ । ‘कोभिड– १९ को संक्रमणको परीक्षण बढाउन महानगरपालिकाको ३२ वटै वडामा केन्द्र तोकी पिसिआर सँगसँगै स्वास्थ्य सेवा विभागको समन्वयमा समुदायस्तरमा एन्टिजेन परीक्षण सञ्चालन गरेका छौँ,’ उनले भने, ‘पाँच दिनसम्म सञ्चालन हुने यो कार्यक्रममा कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रमोर्चामा रहेर काम गर्ने व्यक्ति, कोभिडको लक्षण देखिए पनि परीक्षण नगरेकालगायतलाई समेट्छौँ ।’ 

महानगरपालिकाले अहिलेसम्म महानगरपालिका क्षेत्रभित्र ६५ वर्षभन्दा माथि उमेरका ६७ हजारलाई कोभिसिल्ड खोपका साथै भेरोसेल पहिलो चरणमा एक लाख ३० हजार र दोस्रो चरणमा एक लाखभन्दा बढीलाई लगाएको पनि जानकारी दिएको छ । मेयर शाक्यले जनचेतना अभिवृद्धिका लागि चारवटा शिविरमार्फत २४ हजारलाई प्रत्यक्ष सेवा उपलब्ध गराइएको उनले बताए। जात्रापर्व (शिवरात्रि र सेतो मछिन्द्रनाथलगायत) मा घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरिएको र पाँचवटा गाडीमार्फत टोलटोलमा माइकिङ गरी स्वास्थ्य मापदण्डको पालना गराउन जनचेतना अभिवृद्धि गर्नेजस्ता कार्य गरेको पनि जानकारी दिए ।

कोभिड नियन्त्रणका लागि सबैभन्दा प्रभावकारी माध्यम बनेका खोप सेवा नेपाल सरकारको निर्देशनअनुसार ६५ वर्षमाथिका करिब ६६ हजार ज्येष्ठ नागरिकलाई कोभिसिल्ड खोप, १८ देखि ५९ वर्ष समूहका एक लाख ३० हजारलाई भेरोसेल खोपको पहिलो डोज र एक लाखलाई दोस्रो डोज महानगरपालिकाकै व्यवस्थापनमा लगाउने कार्य सम्पन्न भइसकेको छ ।

तीन सय नाै बेडको आइसोलेसन र विशेष अस्पताल सञ्चालनमा

त्यसैगरी काठमाडौं महानगरपालिकाले अस्पतालमा अक्सिजनको चरम अभावको कारण उत्पन्न असहज अवस्थालाई ध्यानमा राखेर अक्सिजनकै कारण अस्पतालमा हुने बिरामीको चापलाई कम गर्न तीन सय नाै बेडको आइसोलेसन र विशेष अस्पताल सञ्चालनमा ल्याएको पनि जानकारी दिएको छ ।

‘महानगरपालिकाको आर्थिक सहयोगमा सामाखुसीस्थित राधास्वामी सत्संग भवनमा नेपाली सेनाको व्यवस्थापनमा ८८ अक्सिजनसहित एक सय ७४ बेडको कोभिड– १९ आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएका छौँ,’ शाक्यले भने, ‘नरदेवी आयुर्वेद अस्पतालमा ५० अक्सिजनसहित एक सय बेडको कोभिड– १९ आइसोलेन केन्द्र र छत्रपाटी निःशुल्क चिकित्सालयमा आइसीयु र भेन्टिलेटरसहितको ३५ बेडको कोभिड–१९ विशेष अस्पताल सञ्चालनमा ल्याइसकेका छौँ ।’