१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ जेठ १४ शुक्रबार १२:५३:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीको दाबी– अक्सिजन, सिलिन्डर र भेन्टिलेटर कमी हुन दिएका छैनौँ 

मृत्युदर र संक्रमणदर घटेको छ

Read Time : > 1 मिनेट
२०७८ जेठ १४ शुक्रबार १२:५३:००

प्रधानमन्त्री केपी ओलीले सरकारले कोरोना भाइरस नियन्त्रणमा सरकारले प्रभावकारी काम गरिरहेको दाबी गरेका छन् । झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसको अत्याधुनिक भवनको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले सरकारले कोरोनाविरुद्ध प्रभावकारी काम गरिरहेको दाबी गरेका हुन् ।

उनले अहिले नेपालमा अक्सिजन, अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत सामग्री पर्याप्त व्यवस्था गरेको दाबी गरेका छन् । ‘कोरोनाले एउटा राष्ट्र वा भूगोलको मात्र हाेइन, विश्वलाई नै आक्रान्त बनाएको छ । धनी, गरिब, ठूला, साना नभनी सबैलाई आक्रान्त बनाएको छ । हामी सबैसँग हातेमालो गरेर अघि बढेका छौँ । सरकार कोरोनाविरुद्ध सरकारले प्रभावकारी ढंगले लडिरहेको छ,’ उनले भने, ‘अक्सिजन र सिलिन्डर  भेन्टिलेटरको कमी थियो । पूरा गरेका छौँ ।’ उनले सरकार सबै नागरिकलाई खोपको प्रवर्द्धन गर्न अघि बढेको बताए । 

प्रधानमन्त्री ओलीले सरकारले अहिले कोरोना संक्रमणबाट मृत्युदर र संक्रमण दर घटाएको दाबी गरे । उनले कोरोना संक्रमण नियन्त्रणमा प्रत्येक नागरिक सिपाही भएको बताउँदै सचेत हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले कोरोना महामारीसँगै सरकारले विकास निर्माणको काम पनि अघि बढारहेको बताए । ‘विकासको मार्गमा सरकार अघि बढेको छ,’ उनले भने, ‘कोभिडविरुद्ध लड्ने काममा कमी हुन नदिईकन हामी विकास निर्माणको काम गरिरहेका छौँ ।’

‘लोकप्रियताका लागि अहिलेसम्म गरेकै काम पर्याप्त’
प्रधानमन्त्री ओलीले सरकारको लोकप्रियताका लागि अहिलेसम्म गरेको काम नै पर्याप्त भएको बताएका छन् । निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तले निर्वाचनमा मतदाता प्रभावित पार्ने बजेट नल्याउन आग्रह गर्दै निकालेको विज्ञप्तिको प्रसंग निकाल्दै प्रधानमन्त्री ओलीले लोकप्रियताका लागि सरकारले थप केही गर्न नपर्ने बताएका हुन् ।

‘अहिले वक्तव्यबाजी भएको छ । मलाई अचम्म लाग्छ । चुनावका नाममा विकासका काम गर्नुहुँदैन रे, जनताका पिरमार्का बुझ्नु हुँदैन रे । कृत्रिम ढंगले अलोकप्रिय होइदिन पर्‍यो रे,’ उनले भने, ‘सरकारलाई अहिलेसम्म गरेकै कामले लोकप्रिय हुन पुगेको छ ।’ उनले  जनताका निम्ति, विकासका निम्ति सरकारले काम गर्ने बताए । 

उनले विकासका गतिलाई अवरुद्ध गर्न नहुने बताए । ‘विकासको गति अविछिन्न राख्नुपर्छ । सस्तो लोकप्रियताका लागि राज्यले धान्न नसक्ने खालका क्रियापकलाप गर्नुहुँदैन,’ उनले भने, ‘तर, पूर्वघोषित कार्यक्रम गर्नुपर्छ । पूरा भएका योजनाको उद्घाटन, बनाउन लागेकाको शिलान्यास गर्नुपर्छ ।  निर्वाचनको अवधि र आचरणलाई ध्यानमा राखेर अघि बढ्नुपर्छ । अनुचित प्रकारको काम यो वर्तमान सरकारले गर्दैन ।’ 

प्रधानमन्त्री ओलीले विपक्षी गठबन्धनले निर्दलीय चरित्र देखाएको आरोप लगाए । उनले सरकार एउटाको बनाउँछु भनेर चुनावमा जनतासँग भोट मागेर अर्कैको सरकार बनाउन लागिपर्नेले निर्दलीय चरित्र देखाएको आरोप लगाएका हुन् । ‘चुनावमा एउटा दलको सरकार बनाउँछु भनेर भोट मागेर, अनुशासनहीन ढंगले अर्कोतिर हाम फाल्ने दलीय आचरणविरुद्ध हो । यो लोकतन्त्रमा शाेभनीय हुँदैन,’ उनले भने, ‘यसले लोकतन्त्रलाई कमजोर बनाउँछ ।’