निर्वाचन आयोगमा पदाधिकारी नियुक्ति गर्न छलफल सुरु
संवैधानिक परिषदले निर्वाचन आयोगका पदाधिकारी नियुक्ति गर्ने विषयमा छलफल सुरु गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा बसेको बैठकले आयोगमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरु नियुक्ति गर्न सिफारिसका सम्बन्धमा छलफल गरेको हो ।
आयुक्तहरु नियुक्ति बारे आगामी १२ गते बस्ने बैठकले टुंगो लगाउने गरी छलफल भएको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए । बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय सभावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगका सदस्यहरुको सिफारिसका विषयसमेत छलफल भएको थियो ।
सोमबार बसेको बैठकले ती आयोगका अध्यक्षहरु सिफारिस गरे पनि सदस्यहरुबारे छलफल भएको थिएन । त्यसको नियुक्तिका लागि सिफारिस गर्ने विषयमा पनि छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
संवैधानिक व्यवस्थाअनुसार आयोगमा आयुक्तहरु नियुक्तिका लागि गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरी राष्ट्रपतिले नियुक्त गर्नु पर्ने हुन्छ ।