मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ जेठ १४ शुक्रबार ०८:४९:००
Read Time : > 2 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

बारपाकमा दुई सातामा १५ को मृत्यु, तीनमा कोरोना संक्रमण पुष्टि

Read Time : > 2 मिनेट
२०७८ जेठ १४ शुक्रबार ०८:४९:००

कोरोनाको जस्तै लक्षण देखिए पनि परीक्षण गर्न मान्दैनन् स्थानीय, गाउँपालिकाले प्रदेश र केन्द्र सरकारसँग माग्यो सहयोग

गोरखाको बारपाकमा दुई सातामा १५ जनाको मृत्यु भइसकेको छ । जसमध्ये तीनजनामा कोरोना पजिटिभ देखिएको थियो भने १२ जनाको परीक्षण नै गरिएन ।बुधबार राति एक महिला र दुई पुरुषको मृत्यु भएको थियो । उनीहरूमध्ये दुईजनाको गाउँमै र एकजना उपचारका लागि भरतपुर लैजाँदै गर्दा मृत्यु भएको वडाध्यक्ष लालबहादुर गुरुङले जानकारी दिए । परीक्षण नगरिएका मृतक १२ जनामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको गुुरुङले बताए । 

‘गाउँमा मृत्युदर दिनप्रतिदिन बढिरहेको छ । मृत्यु हुनेहरूमा रुघाखोकी, ज्वरो तथा श्वासप्रश्वासको समस्या देखिएको मृतकका आफन्तहरू बताउँछन् । तर, परीक्षण नै नभई कोरोनाका कारण भन्न मिलेन,’ उनले भने ।

बारपाकमा हालसम्म मृत्यु भएका अधिकांशमा दीर्घरोगी रहेको गुरुङको भनाइ छ । तर, बिरामी भए पनि बारपाकका स्थानीय परीक्षण गर्न नआउने गरेको उनले बताए । ‘गाउँमा धेरै मान्छे बिरामी छन् । तर, परीक्षण गर्र्न आउँदैनन्, स्वास्थ्यकर्मी घरघर नै जाने कुरा भएन । सम्झाइबुझाइ गरेकै हो,’ गुरुङले भने । रोग फैलिए पनि बारपाकमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइएको छैन । मृतकहरू सबैको स्थानीय परम्पराअनुसार आफन्तले अन्त्येष्टि गर्ने गरेका छन् । मलामी जाँदा एकजनाकै एक सयभन्दा बढी जाने गरेको स्थानीय बताउँछन् । 

१२ सयभन्दा बढी घरधुरी रहेको बारपाकमा पाँच हजारभन्दा बढी जनसंख्या छ । बारपाकका करिब ७५ प्रतिशत घरमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी रहेको स्थानीय बताउँछन् । तर, तीन चरणमा एक सय १४ जनाको मात्रै कोरोना परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये करिब ५३ प्रतिशत अर्थात् ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्यकर्मीको टोलीसहित मन्त्री र सांसद बारपाक जाने
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिए पनि परीक्षणमा समस्या भएपछि सहयोगका लागि गण्डकी प्रदेश सरकारले स्वास्थ्यकर्मी टोली बारपाक पठाउने भएको छ । गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेत, सांसद प्रकाशचन्द्र दवाडी शुक्रबार स्वास्थ्यकर्मीको टोलीसहित बारपाक जाने भएका हुन् । 

‘बारपाकमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी बढेको र केही दिनयता मृत्युदर पनि बढेको भन्ने जानकारी आएकाले प्रदेश सरकारबाट स्वास्थ्यकर्मीको टोली र आवश्यक औषधि लिएर शुक्रबार त्यहाँ पुग्ने तयारी गरिरहेको छु,’ मन्त्री बस्नेतले टेलिफोन सम्पर्कमा भने । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद बिन्दु शर्मा, तीनजना चिकित्सक, तीनजना नर्स, दुईजना ल्याब टेक्निसियन र एकजना मनोसामाजिक परामर्शदातासहितको टोली बारपाक जानेछ ।

गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने बारपाक गाउँमा शंकास्पद संक्रमित भए पनि परीक्षण गर्ने व्यक्तिको संख्या बढ्न नसकेकाले समस्या भएको भन्दै बिहीबार गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले सहयोगका लागि केन्द्र र प्रदेश सरकारलाई अपिल गर्दै एक विज्ञप्ति सार्वजनिक गरेका थिए । ‘बारपाक क्षेत्रको पछिल्लो स्थितिको अनुमानको आधारमा गाउँपालिकाको मात्रै एकल पहलको आधारमा यसको नियन्त्रण, रोकथाम एवं व्यवस्थापनमा चुनौती देखापरेका कारण संवैधानिक रूपमा तोकिएबमोजिम महामारी नियन्त्रणका लागि जिम्मेवारी तोकिएका संघीय एवं प्रदेश सरकारसँग सहयोग र समन्वयका लागि गाउँपालिका अनुरोध गर्दछ,’ अध्यक्ष भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बारपाक गाउँपालिका अध्यक्ष विष्णु भट्ट भन्छन्–कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या बढ्दो छ

बारपाकमा हालसम्म एन्टिजेन परीक्षणबाट ४४ जनामा र पिसिआर परीक्षणबाट १९ जनामा कोरोना पजिटिभ देखिएको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । ‘बारपाकमा कोभिडसँग मिल्दोजुदो लक्षण भएका बिरामीको संख्या बढिरहेको छ । हामीले दुई हप्ताको बीचमा एन्टिजेन विधिमार्पmत तीनपटक परीक्षण गरेका थियौँ । 

तर, परीक्षण गर्ने संख्या अपेक्षाअनुसार बढ्न सकेको छैन,’ उनले भने । सम्भावित संक्रमितहरू परीक्षण गर्न नआउँदा संक्रमितको संख्या भित्रभित्रै बढिरहेको हुन सक्ने उनको भनाइ छ । यसले थप जोखिम बढेकाले सबै राजनीतिक दल, संघसंस्था, क्लब, आमा समूहलगायतलाई परीक्षणका लागि तयार रहन अनुरोध गरिएकोसमेत उनले जानकारी दिए ।

‘स्थानीय बासिन्दा परीक्षण गर्न नआउँदा संक्रमण जोखिम बढेको देखिन्छ । हामीले क्षमताले भ्याएसम्म परीक्षण गरिरहेका छौँ,’ उनले भने । कोभिड परीक्षणलाई तीव्रता दिन आवश्यकताअनुसारका डाक्टरसहितको स्वास्थ्यकर्मी टोली र सुरक्षाकर्मी टोली पठाउन प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गरे पनि अहिलेसम्म उपलब्ध हुन नसकेको उनले बताए । बारपाकमा कोभिड महामारीको नियन्त्रण, रोकथामका लागि संघीय सरकार र प्रदेश सरकारलाई सहयोग एव समन्वयका लागि गाउँपालिकाले अनुरोध गरेको अध्यक्ष भट्टले जानकारी दिए ।