मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
विवेक पोखरेल
२०७५ पौष ५ बिहीबार ०८:१२:००
Read Time : > 1 मिनेट
समाचार

पर्यटकको पर्खाइमा बाटुली पोखरी

Read Time : > 1 मिनेट
विवेक पोखरेल
२०७५ पौष ५ बिहीबार ०८:१२:००

पर्यटकीय सम्भावना रहे पनि प्रचारप्रसारको अभावमा भरतपुर महानगरपालिका–१३ उज्ज्वलनगरस्थित बाटुली पोखरी ओझेलमा परेको छ । विश्व रामसार सूचीमा रहेको बीसहजारी तालनजिकै बाटुली सामुदायिक वन उपभोक्ता समितिको संरक्षणमा उक्त पोखरी रहेको छ । भरतपुरबाट १३ किलोमिटर र सौराहाबाट ८ किलोमिटरको दूरीमा रहेको पोखरी रकम अभावका कारण पनि ओझेलमा परेको बाटुली सामुदायिक वनका अध्यक्ष हरिदत्त मिश्रले बताए । पोखरीलाई सौराहाको पर्यटनसँग जोड्न सकिने भए पनि संरक्षण र सरसफाइका लागि नै रकम अभाव रहेको उनको भनाइ छ । 


 सरिसृप प्राणीको वासस्थान 
करिब २० हेक्टर क्षेत्रफलमा फैलिएको यो पोखरीमा विभिन्न किसिमका चराचुरुंगी, गोहीलगायत सरिसृप प्राणीको बासस्थान छ । साइबेरियाबाट समेत यहांँ चराहरू आउने भएकाले चरा अध्ययन केन्द्रसमेत बनाउन सकिने मिश्रले बताए । बाघ, भालु, गैंडा, हरिण, बंदेल, जरायोलगायतका वन्यजन्तु पानी पिउन पोखरीमा आउने गरेका छन् । ‘यसको संरक्षण र पूर्वाधारका लागि दाता आएका छैनन्,’ उनले भने, ‘हामीले आन्तरिक स्रोतले धानेका छौँ ।’ राष्ट्रिय निकुञ्जको क्षेत्राधिकारभित्र परे पनि यसको सुधारका लागि निकुञ्जले चासो नदेखाएको उनको गुनासो छ । 

बाँध बाँधेर पोखरी
०६४ सालसम्म सुख्खा रहेको यस स्थानमा बांँध बाँधेर पानी जम्मा गरेपछि पोखरीका रूपमा परिणत भएको हो । अहिले पोखरीको बढी भएको पानीले पश्चिम चितवनका १ हजार बिघाभन्दा बढी क्षेत्रफलमा सिँचाइ हुने गरेको छ । मनोरम हरियाली जंगलका बीचमा रहेको यस पोखरीमा अहिले समितिकै सक्रियतामा पर्यटकलाई डुंगा सयरको व्यवस्था गरिएको छ । सँगै सामुदायिक वनभित्र हात्ती सयर सुविधासमेत छ । समितिका सचिव टंकप्रसाद बास्तोलाले पोखरीको चारैतिर पैदलमार्ग र पोखरीका बीचमा रहेको ढिस्कोमा मन्दिर बनाउने योजना रहेको बताए ।

जंगल तथा पोखरीको दृश्यावलोकनका लागि भ्युटावर निर्माण गर्ने योजना रहेकोसमेत उनले बताए । ‘यस ठाउंँलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने योजना छ, तर यसको स्तरोन्नतिका लागि बजेट र निकुञ्ज बाधक बनेको छ,’ उनले भने । हाल आन्तरिक पर्यटकका लागि ५ रुपैयांँ प्रवेश शुल्क र डुंगा सयरबापत ५० रुपैयांँ लिने गरिएको छ । बाह्य पर्यटकका लागि २० रुपैयांँ प्रवेश शुल्क र डुंंगा सयर गरेबापत २ सय रुपैयाँ लिने गरिएको छ ।

वरन्डाभार उपभोक्ता समितिका अध्यक्ष देवराज सापकोटाले सौराहा चितवनको मुख्य पर्यटकीय क्षेत्र भए पनि पछिल्ला दिनमा पर्यटक बीसहजारी ताल, दक्षिणकाली ताल, मयुर ताल, कमलपोखरीजस्ता प्रसिद्ध पोखरी हेर्न आउने गरेको र पोखरीको संरक्षण गरेर आवश्यक प्रचारप्रसार गर्न सके सौराहा आउने पर्यटकको बसाइ लम्ब्याएर बाटुलीपोखरी घुमाउन सकिने बताए ।