मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ १३ बिहीबार २२:३४:००
Read Time : > 1 मिनेट
विश्व

बाइडेनको निर्देशन– ९० दिनभित्र कोरोना भाइरस उत्पत्तिको रिपोर्ट बुझाऊ

Read Time : > 1 मिनेट
२०७८ जेठ १३ बिहीबार २२:३४:००

अमेरिकी राष्ट्रपति जो बाइडेनले पदभार सम्हालेको करिब ६ महिनापछि कोरोना भाइरस (कोभिड– १९) को सम्बन्धमा बोलेका छन् । राष्ट्रपति बाइडेनले कोरोना भाइरस कहाँबाट सुरु भएको, यसको उत्पत्ति र विश्वभर कसरी फैलिएको भन्ने प्रश्नको उत्तरसहित ९० दिन भित्र रिपोर्ट बुझाउन आफ्ना अनुसन्धान र गुप्तचर एजेन्सीहरूलाई निर्देशन दिएका छन् । 

गुप्तचरलाई निर्देशन दिनुअघिसम्म पनि उनले विश्वको कुनाकाप्चामा भ्याक्सिन उपलब्ध गराउँदै कोरोना निर्मूल पार्ने बताइरहेका थिए । यसै साता अमेरिकाका अनुसन्धान गर्ने संस्थाहरूले नोभेम्बर २०१९ मै वुहानको ल्याबमा कार्यरत तीनजना शोधकर्तालाई कोरोना भाइरसको जस्तै समस्या देखेको दाबीसहित रिपोर्ट सार्वजनिक गरेका थिए । उनीहरूले कोरोना भाइरससम्बन्धी मुख्य सूचना नै चीनले लुकाएको आरोपसमेत लगाएका थिए ।

ती संस्थाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को विज्ञ टोलीलाई समेत वुहानमा रहँदा सहयोग नगरेको आरोप लगाएका छन् । यही क्रममा राष्ट्रपति बाइडेनले वुहानको शंकास्पद सबै ल्याबमा समेत अनुसन्धान गर्न भनेका छन् । ‘भाइरस कहाँबाट फैलिएको हो, त्यसबारेमा पत्ता लगाउन आवश्यक छ,’ बाइडेनले भने, ‘जनावर वा प्रयोगशालाबाट भाइरस सरेको हो, यसबारे स्पष्ट अनुसन्धान हुनुपर्छ ।’ 

चीनमाथि दबाब सिर्जना गर्न अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्ने बाइडेनको भनाइ छ । ‘विश्वलाई नै आक्रान्त बनाएको भाइरससम्बन्धी यथार्थ जानकारी पत्ता लगाउनु आवश्यक छ, यसका लागि अन्तर्राष्ट्रिय समुदाय नै अग्रसर भएर अनुसन्धान गर्नुपर्छ, जसले चीनमाथि दबाब राख्न सकोस्,’ उनले भने । 

डब्लुएचओले पनि पुनः अनुसन्धान गर्नुपर्छ : फाउसी
अमेरिकाको संक्रमित रोग विशेषज्ञ डा.एन्थनी फाउसीले डब्लुएचओको उच्च टोलीले समेत पुनः अनुसन्धान गर्नुपर्ने सल्लाह दिएका छन् । कोरोना भाइरसको पहिलो संक्रमित डिसेम्बर ०१९ मा चीनको वुहान सहरमा भेटिएको थियो । त्यसयता विश्वभरि १६ करोड ९१ लाख भन्दामाथि बढी संक्रमित तथा ३५ लाख १४ हजारको ज्यान लिइसकेको छ । 

चिनियाँ अधिकारीहरूले भने वुहानबाट कोरोना भाइरस सरेको नर्कादै आइरहेका छन् । वैज्ञानिकहरूले भने यो भाइरस जनावरबाट मानिसमा सरेको भनाइ राख्दै आएका छन् । डब्लुएचओले भने वुहानको ल्याबबाट भाइरस सरेको मानेको छ । 

अमेरिकी राष्ट्रपति बाइडेनले ९० दिनभित्र सबै तथ्य पत्ता लगाउन अन्तर्राष्ट्रिय प्रयोगशालाको सहयोग लिनुपर्ने बताएका छन् । उनी भन्छन्, ‘अमेरिका सबैसँग सहकार्य गर्न तयार छ, साथै भाइरससम्बन्धी हुने अनुसन्धानमा अन्तर्राष्ट्रिय समुदायले पनि सहयोग गर्नुपर्छ, हामी चीनमाथि पारदर्शी रूपमा अनुसन्धान होस् भन्ने चाहन्छौँ ।’ विश्वकै शक्तिशाली व्यक्ति तथा अमेरिकी राष्ट्रपति बाइडेनको निर्देशनअनुसार काम थालनी भयो भने चीन दबाबमा पर्न सक्ने अन्तर्राष्ट्रिय एजेन्सीहरूले जनाएका छन् ।

कोरोना भाइरस टाक्स फोर्सका प्रमुख एन्थनी नयाँ तरिकाले भाइरसको अनुसन्धान हुनुपर्ने माग राखेका छन् । ‘अहिलेसम्म भएका अनुसन्धान पुरानो जस्तो देखियो, अब नयाँ विधि अनुसार यसको अनुसन्धान गर्नुपर्छ,’ उनले भने । ह्वाइट हाउसले अनुसन्धानको क्रममा चीनलाई अलग राख्नुपर्ने सुझाब दिएको छ । चीनलाई समावेश गरेको खण्डमा नतिजा नआउने र महत्वपूर्ण सूचना लुकाइन सक्ने ठहर ह्वाइट हाउसको छ ।

अघिल्लोपटक डब्लुएचओको टोली वुहानमा पुग्दा चिनियाँ अधिकारीहरूले भनेको स्थानमा मात्रै अनुसन्धान भएको थियो । डब्लुएचओको टोलीले स्वतन्त्र रूपमा केही पनि गर्न पाएको थिएन । यसकारण नै ९० दिनभित्र कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन चीनलाई बाहिर नै राख्नुपर्ने ह्वाइट हाउसले जनाएको हो ।