Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फ्रिडा घिटिस
२०७८ जेठ १३ बिहीबार ०९:४३:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

बेलारुसको स्तब्धकारी जहाज अपहरण

Read Time : > 2 मिनेट
फ्रिडा घिटिस
२०७८ जेठ १३ बिहीबार ०९:४३:००

बेलारुसविरुद्ध कडा कदम उठाइयो भने लुकासेन्कोको अनुसरण गर्न सक्ने अन्य तानाशाहलाई गतिलो पाठ हुनेछ

आइतबार एथेन्सबाट भिलनियसका लागि उडेको रायनएयर जहाजका यात्रुले आफूलाई थ्रिलर फिल्मको पात्रजस्तो अनुभव गरे । जहाजलाई बेलारुसको लडाकु विमानले पछ्याई उसको उडान रुटबाट मोडेर बेलारुस अवतरण गर्न बाध्य बनायो । बेलारुसका राष्ट्रपति एलेक्ज्यान्डर लुकासेन्कोको निर्देशनमा जहाज निर्धारित गन्तव्य पुग्न सकेन । जहाजले बेलारुसमा अवतरण गरेलगत्तै सुरक्षाकर्मीले जहाजमा यात्रा गरिरहेका पत्रकार रोमन प्रोटासेभिचलाई पक्राउ गर्‍यो । 

पछिल्लो केही समयदेखि एकपछि अर्को तानाशाही नेताले खुलमखुला स्थापित अन्तर्राष्ट्रिय मान्यतालाई उल्लंघन गर्न थालेका छन् । बेलारुसमा तानाशाही नेता लुकासेन्कोले अन्य तानाशाहका हर्कतबाट सुरिएर नागरिक उड्डयन क्षेत्रमा पालना गर्नुपर्ने लगभग सबै नियमलाई निर्लज्जतासाथ उल्लंघन गरेका छन् । यस कदमविरुद्ध अन्तर्राष्ट्रिय समुदायले कडाइसाथ कदम चाल्नुपर्छ । किनकि लुकासेन्कोको कदमबाट अन्य अधिनायकवादी अर्को गलत कदमका लागि प्रेरित हुन सक्छ । अहिले लुकासेन्कोविरुद्ध कठोर बन्देजकारी कदम चालिएन भने विमानयात्रा पनि निकै खतरनाक हुँदै जानेछ । अझ तानाशाहलाई असहज प्रश्न गर्ने पत्रकारहरू कहीँ पनि सुरक्षित हुनेछैनन् । बेलारुसको राष्ट्रपति कार्यालयअनुसार लुकासेन्कोले व्यक्तिगत रूपमा एमआईजी–२९ लडाकु पठाएर रायनएयर विमानलाई नियन्त्रणमा लिन निर्देशन दिएका थिए ।

बेलारुसका सरकारी अधिकारीले विमानमा बम रहेको सूचना पाएको पाइलटलाई जानकारी गराएको र पाइलटले नै बेलारुसमा विमान अवतरण गर्ने निर्णय गरेको बताएका छन् । बेलारुसको मेजर जनरल एन्ड्रे गुर्टसेभिचका अनुसार लडाकु विमानले विमान अवतरणमा सहयोग मात्र गरेको थियो । तर, रायनएयर विमानका क्रु दलले भने फरक बताइरहेको छ । विमान सेवाले जारी गरेको वक्तव्यअनुसार बेलारुसले क्रुलाई ‘सम्भावित सुरक्षा जोखिम’बारे सूचित गरेर नजिकको विमानस्थलमा विमान फर्काउन सुझाब दिएको थियो । तर, विमानको उडान रुट हेर्दा सूचना दिँदाको समयमा विमान भिलनियसनजिक देखिन्छ । तर, विमानलाई भने टाढाको मिन्स्कमा अवतरण गरियो । रायनएयरका सिइओ माइकल ओलेरीले विमानमा सवार १७१ यात्रुमध्ये केही बेलारुसको जासुसी संयन्त्रका मानिस हुन सक्ने बताए । 

विमान अपहरण गरेर पत्रकार पक्राउ गर्ने लुकासेन्कोको कार्यविरुद्ध कठोर कदम चालिएन भने तानाशाहलाई असहज प्रश्न गर्ने पत्रकारहरू विश्वका कुनै पनि भागमा सुरक्षित हुनेछैनन् 

लुकासेन्कोका विरोधी तथा प्रजातन्त्र पक्षधर धेरै नेता अहिले लिथुआनियाको राजधानी भिलनियसमा बस्ने गर्छन् । तीमध्ये धेरै अघिल्लो वर्षको विवादित चुनावपछि भएको विरोधमा कठोर दमन भएपछि त्यहाँ गएका हुन् । लुकासेन्को विगत २६ वर्षदेखि बेलारुसमा शासन गरिरहेका छन् । अन्य तानाशाहजस्तै उनी पनि आफूले वैध रूपमा शासन गरिरहेको देखाउन खोज्छन् । त्यसैले बेलारुसमा निर्वाचन हुने गर्छ । तर, यसपटकको निर्वाचनमा उनलाई विपक्षी उम्मेदवार स्वेतलाना तिसानोभ्स्कायाले कडा चुनौती दिइन् । खासमा विपक्षी उम्मेदवार स्वेतलानाका श्रीमान् थिए, लुकासेन्कोले तिनलाई पक्राउ गरेपछि स्वेतलाना उम्मेदवार बनेकी थिइन् । धेरै अवलोकनकर्ताले नमान्दा नमान्दै पनि लुकासेन्कोले आफूलाई विजयी घोषित गरे । लगत्तै प्रतिरोध उठ्यो । उनले झन्डै सत्ता गुमाउनुपर्‍यो । तर, लुकासेन्कोले छिमेकी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनको सहयोग लिएर प्रदर्शनलाई दबाए । छिमेकी देशको तानाशाह ढलेमा आफ्नो तानाशाही शासन खतरामा पर्ने डरमा पुटिनले लुकासेन्कोलाई सहयोग गरेको हुनुपर्छ । प्रदर्शनमा दमन भएपछि धेरै नेता लिथुआनिया भागे । लिथुआनियाले शरण पनि दियो । टेलिग्राम नामक एपमा प्रजातन्त्रवादी प्रदर्शन आयोजना गर्न सघाउने च्यानल सुरु गरेका प्रोटासेभिचलाई बेलारुसले आतंकवादी सूचीमा राखेको छ । उनीमाथि सार्वजनिक शान्तिसुरक्षा भड्काएको आरोप छ । रायनएयर जहाजमा रहेका यात्रुका अनुसार विमान अवतरणलगत्तै प्रोटासेभिचलाई पक्राउ गरिएको थियो । 

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिन्केनले जहाजको बलपूर्वक अवतरणलाई ‘स्तब्धकारी कार्य’ भनेर आलोचना गरे । उनले प्रोटासेभिचको तुरुन्त रिहाइको माग राखेका छन् । युरोपेली नेताले पनि बेलारुसको कडा शब्दमा आलोचना गरेका छन् । कैयौँ वायुसेवाले बेलारुसको आकाशबाट विमान नउडाउने घोषणा गरिसके । बेलायतको नागरिक उड्डयन प्राधिकरणले बेलारुसी विमानका उडान पर्मिट रद्द गरेको छ । अमेरिका, बेलायत, आइसल्यान्ड, जर्मनी, पोल्यान्ड, लिथुआनिया, लात्भिया र चेक गणतन्त्रले बेलारुसलाई अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणबाट निकाल्न आह्वान गरेका छन् । साथै, तिनले बेलारुस आउने र जानेलगायत उसको आकाशबाट उड्ने उडानलाई रद्द गर्न आह्वान गरेका छन् । यसबारे निर्णय गर्न आइकाओले बिहीबार एक बैठक बोलाएको छ । युरोपेली संघका नेताले सोमबार बेलारुसमाथिको उडानलाई रोक्ने सहमति जनाए । विगतमा हरेक निर्णयमा सहमति जनाउँदा ढिलो निर्णय गर्ने भनेर चिनिएको संघले यसलाई शीघ्रतासाथ कार्यान्वयन ग¥यो । अहिले बेलारुसविरुद्ध यस्तै कडा कदम उठाइयो भने मात्र लुकासेन्कोको कार्य अनुसरण गर्न सक्ने अन्य तानाशाह नेतालाई गतिलो पाठ हुनेछ । 

(घिटिस विश्व मामिलाबारे कलम चलाउँछिन्)
सिएनएनबाट