मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
जीवन बस्नेत काठमाडौं
२०७८ जेठ १२ बुधबार ०९:५६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

उपत्यकामा पूर्वाधार निर्माण कार्य रोक्ने र निर्माण सामग्री ढुवानीमा रोक लगाउने निर्णय

Read Time : > 1 मिनेट
जीवन बस्नेत, काठमाडौं
२०७८ जेठ १२ बुधबार ०९:५६:००

पुलको ढलान र नदीजन्य रोकथामका काम प्रभावित हुने

काठमाडौं उपत्यकाका तीन (काठमाडाैं, ललितपुर र भक्तपुर) जिल्ला प्रशासनले पूर्वाधार निर्माण कार्यमा रोक लगाउनुका साथै निर्माण सामग्री ढुवानीमा पनि प्रतिबन्ध लगाएको छ । नयाँ भेरियन्टको कोभिड–१९ महामारीको संक्रमण तीव्र रूपमा बढिरहेका कारण त्यसलाई रोकथाम र नियन्त्रण गर्नका लागि निर्माणको काम र निर्माण सामग्री ढुवानी गर्न रोक लगाएको ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।  

जिल्ला प्रशासनको निर्णयअनुसार १४ जेठदेखि निर्माण कार्य स्थगित गर्ने र निर्माण सामग्रीको ढुवानीमा रोक लगाइनेछ । अहिलेको भेरियन्ट अत्यधिक संक्रामक भएकाले पनि प्रशासनले लिएको निर्णय सही रहेको महासंघको भनाइ छ । तर, यो समयमा हुने पुलको ढलान, नदीजन्य रोकथामलगायतका काममा भने असर पुग्ने अध्यक्ष सिंहले बताए । अघिल्लो वर्ष केही सतर्कता अपनाएर काम गरेको र कामदारमा खासै असर देखिएको थिएन । यसपटक भनेजति नै मापदण्ड अपनाए पनि  बच्न नसकेको उनको भनाइ छ । यसपटक अघिल्लो वर्षजस्तो मजदुरको बिचल्ली भने नभएको निर्माण व्यवसायीहरूको भनाइ छ ।  

नेपाल निर्माण व्यवसायी महासंघका अनुसार निर्माणाधीन कार्यलाई प्रशासनले स्थगित गर्नुअघि नै धेरैजसो आयोजना ठप्प भइसकेको जानकारी दिएको छ । ‘अहिले आयोजनाको ८० प्रतिशत काम ठप्प नै छ,’ महासंघका अध्यक्ष रवि सिंहले भने । हरेकजसो आयोजनामा करिब २० प्रतिशत मात्र कामदार छन् । त्यो पनि निर्माण सामग्री नियमित नहुँदा ठप्पजस्तै बनेको उनको भनाइ छ । सरकारले ढुवानीका साधनलाई खुला गरे पनि निर्माण सामग्री उत्पादन गर्ने उद्योग बन्द हुँदा पनि बजारमा निर्माण सामग्री प्राप्त हुन छाडेको निर्माण व्यवसायीहरूको भनाइ छ । 

अहिले देशभर नै निर्माण कार्य लगभग ठप्प रहेको र निर्माण क्षेत्र नै तहसनहस बनिरहेको निर्माण व्यवसायीहरूको भनाइ छ । तर, सबैभन्दा ठूलो विषय मानिसको जीवन भएकाले अहिलेको बढ्दो संक्रमणको ‘चेन ब्रेक’ गर्न पनि केही समय रोक लगाउनु सही भएको उनीहरूको भनाइ छ । ‘यसमा हामीले अन्यथा लिँदैनौँ,’ महासंघ अध्यक्ष सिंहले भने । त्यस्तै, प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडाैँ उपत्यकामा सार्वजनिक र निजी सवारीसाधन सञ्चालनमा पनि रोक लगाउने निर्णय गरेको छ ।