१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
टेकराज थामी काठमाडौं
२०७८ जेठ १२ बुधबार ०७:०१:००
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

कोभिडबाट १७ पत्रकारले ज्यान गुमाए

Read Time : > 1 मिनेट
टेकराज थामी, काठमाडौं
२०७८ जेठ १२ बुधबार ०७:०१:००

आठ सय ५० संक्रमित, आठको अवस्था चिन्ताजनक, पत्रकारलाई विशेष राहतको व्यवस्था गर्न सरकारसँग माग

रूपन्देहीका पत्रकार हिक्मत चौधरी लकडाउनमा पनि फ्रन्टलाइनमै रहेर समाचार संकलन गर्दै थिए । २१ वैशाखमा अचानक बिरामी परे । कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो । उनलाई संक्रमण पुष्टि भयो । निमोनियाले गलेका उनलाई बचाउन चिकित्सकले सक्दो कोसिस गरे । गत बुधबार कोभिडकै कारण उनको मृत्यु भयो । 

विपुल पोखरेल अध्यक्ष, नेपाल पत्रकार महासंघ

पत्रकारिता गर्नेक्रममा झन्डै डेढ दर्जन पत्रकारको कोभिडबाट मृत्यु भएको छ । पत्रकारलाई पनि सरकारले फ्रन्टलाइनर घोषणा गर्नुपर्छ । उनीहरूलाई विशेष राहतको व्यवस्था गर्नुपर्‍यो । यसका लागि विगतमा रहेको द्वन्द्वकालीन राहत कोषको रकम परिचालन गर्न सकिन्छ । सरकार सकारात्मक देखिएको छ ।

३४ वर्षीय शान्तिराम कार्की काठमाडौंमै बसेर पत्रकारिता गर्थे । समाचार सम्प्रेषणकै क्रममा उनी बिरामी परे । परीक्षणपछि कोभिड पुष्टि भयो । ठीक होला भन्ने लागेर सुरुमा घरमै बसेर उनले उपचार गरे । तर, ठीक हुने संकेत नभएपछि उनलाई स्वयम्भूस्थित मनमोहन अस्पताल लगियो । त्यसवेलासम्म उनी निमोनियाले गलिसकेका थिए । चिकित्सकले बचाउन सबै कोसिस गरे । तर, कोरोनाकै कारण उनको मृत्यु भयो । 

पत्रकारितामै भविष्य खोजिरहेका काभ्रेका विष्णु चौलागाईँ पनि फ्रन्टलाइनमै रहेर समाचारको खेती गर्दै थिए । यही क्रममा उनी बिरामी परे । सामान्य ज्वरो र रुघाखोकी ठानेर सुरुमा उनी अस्पताल गएनन् । घरेलु उपचार विधिबाट ठीक हुने आसमा उनी घरमै रहे । निको हुने चाल नभएपछि उनलाई चाबहिलस्थित ओम अस्पताल भर्ना गरियो । अस्पताल भर्ना गर्दा निमोनियाले उनको पनि फोक्सो बिग्रिसकेको थियो । चिकित्सकले उपचारका सबै विधि अपनाए पनि उनको मृत्यु भयो ।

नेपाल पत्रकार महासंघको तथ्यांकअनुसार फ्रन्टलाइनमा खटिएर काम गर्ने १७ पत्रकारले ज्यान गुमाइसकेका छन् । बिहीबारसम्म संक्रमित हुनेको संख्या आठ सय ५० पुगेको छ । जसमध्ये दुई सय ५० सक्रिय संक्रमित छन् । ४० विभिन्न अस्पतालमा उपचाररत छन् । बाँकीलाई भने होम तथा सामुदायिक आइसोलेसनमा राखिएको छ । आठजनाको अवस्था भने चिन्ताजनक छ । उनीहरूलाई विभिन्न अस्पतालको आइसियू तथा भेन्टिलेटर कक्षमा राखिएको महासंघले जनाएको छ । 

पत्रकार महासंघका महासचिव रोशन पुरीले सबै पत्रकार समाचार संकलन तथा सम्प्रेषण गर्नेक्रममा संक्रमित बनेको बताए । ‘कोभिडबाट १७ पत्रकारले ज्यान गुमाइसकेका छन् । आठजनाको अवस्था चिन्ताजनक छ । दुई सय ५० जना सक्रिय संक्रमित छन् । सबै फ्रन्टलाइनमा खटिने क्रममा संक्रमित भएका हुन् । संक्रमित हुनेको संख्या अझै बढ्न सक्छ । नियन्त्रणका लागि सुरक्षाको प्रबन्ध अपनाउन हामीले भनेका छौँ,’ उनले भने ।

महासंघका अनुसार मृत्यु हुनेमा बनारसी बर्मा, विक्रम शाक्य, विष्णु चौलागाई, सीताराम बर्मा, महेन्द्र केसी, दामोदर अधिकारी, कमल मिश्र, सन्त राउत, मनोज चौधरी, गणेश पौडेल, रमा यादव, शान्तिराम कार्की, लक्ष्मण बस्नेत, हिक्मत चौधरी, दिनेश दहाल, कृष्णप्रसाद ओझा र सुशील लामा रहेका छन् । 

पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले पत्रकारलाई सरकारले सुरक्षाकर्मी, चिकित्सक र सरसफाइ कर्मचारीलाई जस्तै फ्रन्टलाइनर घोषणा गर्नुपर्ने र मृतकका परिवारलाई द्वन्द्वकालीन राहत कोषको रकम कार्यविधि परिवर्तन गरी उपलब्ध गराउनुपर्ने बताए । ‘पत्रकारिता गर्नेक्रममा झन्डै डेढ दर्जन पत्रकारको कोभिडबाट मृत्यु भएको छ । पत्रकारलाई पनि सरकारले फ्रन्टलाइनर घोषणा गनुपर्छ । उनीहरूलाई विशेष राहतको व्यवस्था गर्नुपर्‍यो । यसका लागि विगतमा रहेको द्वन्द्वकालीन राहत कोषको रकम परिचालन गर्न सकिन्छ । सरकार सकारात्मक देखिएको छ,’ उनले भने ।