मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
सिरिए लिग च्याम्पियन बनेपछि खुसी साट्दै इन्टर मिलानका खेलाडी ।
एजेन्सी पेरिस
२०७८ जेठ ११ मंगलबार ०८:३४:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

दर्शकविनै सकिए युरोपका प्रिमियर लिग : इन्टर मिलान र लिले एक दशकपछि च्याम्पियन

Read Time : > 3 मिनेट
एजेन्सी पेरिस
२०७८ जेठ ११ मंगलबार ०८:३४:००

लगातार दोस्रो वर्ष पनि युरोपियन फुटबल प्रतियोगितामा कोरोना भाइरस (कोभिड– १९) को प्रभाव परेको छ । कोभिड–१९ महामारीबीचमै युरोपका माथिल्लो डिभिजनको प्रिमियर लिग दर्शकरहित सम्पन्न भएका छन् ।

गत वर्ष खेलाडी नै कोरोना भाइरस संक्रमित हुँदा युरोपियन लिग संकटमा परेझैँ भए पनि यस वर्ष खेलाडी, प्रशिक्षक तथा स्टाफलाई कोरोना लागेको समाचार त्यति धेरै सुन्नु परेन । स्पेन, फ्रान्स, इटाली, बेलायत र जर्मनीमा माथिल्लो डिभिजन लिग आयोजना भए । जर्मनीको वुन्डेस लिगमा बाहेक अन्य प्रिमियर लिगमा नयाँ विजेता देखापरे । इटालीमा इन्टर मिलान ११ वर्ष, स्पेनमा एट्लेटिको म्याड्रिड सात वर्ष र फ्रान्समा लिले १० वर्षपछि लिग च्याम्पियन बने । साथै स्पेनमा रियल म्याड्रिड, बार्सिलोना, इटालीमा युभेन्ट्स र फ्रान्समा पेरिस सेन्ट जर्मेन (पिएसजी) को एकाधिकार समाप्त भएको सन्देश दिएको छ । वुन्डेस लिगमा बायर्न म्युनिखले उपधि रक्षा गरेको छ । 

फ्रान्स, बेलायत र इटालीमा आइतबार लिगको अन्तिम दिनका रूपमा रह्यो । यसै खेलबाट चेल्सी, युभेन्ट्स र लिभरपुलले च्याम्पियन्स लिगको स्थान सुरक्षित गरेका छन् । इटाली, स्पेन, बेलायत तथा जर्मनीका शीर्ष चार क्लब सीधै च्याम्पियन्स लिगमा छनोट हुने प्रावधान छ । 

दश वर्षपछि लिले फ्रेन्च लिग विजेता
फ्रान्सको पेरिस लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) को एकाधिकार लिलेले तोडेको छ । यस सिजनको फ्रेन्च लिग वान उपाधि जित्दै लिलेले पिएसजीको दबदबा भंग गरेको हो । लिलेले दश वर्षपछि प्रिमियर लिग उपाधि जित्दा आइतबार अन्तिम खेलमा एन्जर्समाथि २–१ को जित निकाल्यो । समग्रमा लिलेको यो चौथो फ्रेन्च लिग वान उपाधि हो । नेमार जुनियर तथा केलियन एम्बाप्पेजस्ता महँगा खेलाडी भए पनि पिएसजीले यस सिजनमा उत्कृष्ट नतिजा निकाल्न सकेन । 

यो सिजनमा पिएसजीले आठ हार सामना गरेको थियो । लिग च्याम्पियन लिलेले ३८ खेलमा २४ जित, ११ बराबरी र तीन हार सामना गरी सर्वाधिक ८३ अंक बटुल्यो । साविक विजेता पिएसजी ८२ अंकका साथ उपविजेता बन्यो । फ्रान्सबाट लिले, पिएसजी र मोनाको युरोपियन च्याम्पियन्स लिगका लागि छनोट भएका छन् । लियोनले युरोपा लिग खेल्नेछ । 

युभेन्ट्स च्याम्पियन्स लिगमा
इटालीको सिरिए लिग उपाधि इन्टर मिलानलाई सुम्पिएको युभेन्ट्ससमक्ष च्याम्पियन्स लिग छनोट हुनुपर्ने दबाब थियो । आइतबार अन्तिम खेलमा युभेन्ट्सले बोलोग्नाको सामना गरेको थियो । बराबरी वा हारको नतिजा निकाल्दा युभेन्ट्सको च्याम्पियन्स लिगमा छनोट सम्भावना कठिन थियो । पाँचौँ स्थानमा रहेको नेपोली र युभेन्टसबीच एक अंकमात्र फरक थियो । यसकारण नै युभेन्ट्सलाई लिगकै अन्तिम खेल जित्नुपर्ने दबाब थियो । युभेन्ट्सले बोलोग्नालाई ४–१ को अन्तरले हराउँदै अर्को वर्ष च्याम्पियन्स लिगको स्थान सुरक्षित गर्‍यो । 

यो खेलमा रोनाल्डो बेन्चमा थिए । सिरिए लिग च्याम्पियन इन्टर मिलानले ३८ खेलबाट सर्वाधिक ९१ अंक बटुलेको छ । इन्टर मिलान ११ वर्षपछि च्याम्पियन भएको हो । एन्टोनियो कोन्टेको प्रशिक्षणमा रहेको इन्टर मिलानले लिग सकिनु चार खेलअघि नै च्याम्पियनसिप उपाधि जितेको हो । युभेन्ट्सले लगातार नवौँपटक सिरिए लिग जितेको रेकर्ड पनि इन्टरले भंग गरेको छ । इन्टर मिलानले अन्तिम खेलमा उडिनेसलाई ५–१ ले हरायो । एसी मिलानले ७९ अंकका साथ दोस्रो तथा एटलान्टा ७८ अंकका साथ तेस्रो स्थानमा रहे । युभेन्ट्सले चौथो स्थान सुरक्षित गर्दा ७८ अंक बटुल्यो । 

भाग्यमानी चेल्सी
इंग्लिस प्रिमियर लिगको आइतबार आफ्नो अन्तिम खेलमा चेल्सी एस्टन भिल्लासँग २–१ ले पराजित भयो । एक समयको हार नतिजाले चेल्सी अर्को वर्ष च्याम्पियन्स लिगमा छनोट नहुने छाँटकाँट देखाएको थियो । तर, अर्को खेलमा पाँचौँ स्थानमा रहेको लेस्टर सिटी टोटनह्यामसँग स्तब्ध भएसँगै चेल्सीको भाग्य खुल्यो । चेल्सी शीर्ष चार स्थानमा रहँदै अर्को वर्ष च्याम्पियन्स लिगमा छनोट भएको हो । 

पूर्वविजेता लेस्टर भने युरोपा लिगामा छनोट भएको छ । चेल्सीले ३८ खेलबाट ६७ अंक बटुलेको छ । लेस्टरले समान खेलबाट ६६ अंक जोडेको छ । प्रिमियर लिगबाट म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा छनोट भएका छन् । पेप ग्वार्डिओलाको प्रशिक्षणमा रहेको म्यानचेस्टर सिटीले पछिल्लो चार वर्षमा तीनपटक प्रिमियर लिग उपाधि जितेको छ । यस सिजाको ३५औँ खेलमै सिटी प्रिमियर लिगको च्याम्पियन बनिसकेको थियो । अन्तिम खेलमा एभर्टनलाई ५–० ले हरायो । 

सन् २०१६ मा आबद्ध भएका पेपले सिटीलाई दश प्रमुख उपाधि दिलाएका छन् । सिटी पहिलोपटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सिटीले यसपटक उपाधि जित्दा दोस्रो स्थानमा युनाइटेडलाई १२ अंकले पछाडि पारेको छ । सिटीले सर्वाधिक ८६ अंक र दोस्रो स्थानको युनाइटेडले ७४ अंक बटुलेको छ । 

रोनाल्डोले राखे अर्को कीर्तिमान
पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले फरक तीन प्रिमियर लिगमा सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएका छन् । इंग्ल्यान्ड, स्पेन तथा इटालीका शीर्ष प्रिमियर लिगमा सर्वाधिक गोलका साथ गोल्डेन बुट जित्ने रोनाल्डो एक्ला खेलाडी बनेका छन् । ३६ वर्षीय रोनाल्डोले सिरिए लिगमा सर्वाधिक २९ गोल गरेका थिए । सिरिए लिग च्याम्पियन इन्टर मिलानका रामेलु लुकाकुका भन्दा रोनाल्डोले पाँच गोल बढी गरेका हुन् । यस सिजनमा रोनाल्डो आबद्ध युभेन्ट्स सिरिए लिग उपाधि रक्षा गर्न असमर्थ भयो । 

सन् २००८ मा रोनाल्डो इंग्लिस म्यानचेस्टर युनाइटेडमा रहँदा उच्च गोलकर्ता बनेका थिए । सन् २००९ देखि २०१८ सम्म स्पेनिस क्लब रियल म्याड्रिडमा रहँदा रोनाल्डोले तीनपटक सर्वाधिक गोलकर्ताको उपाधि उचालेका थिए । सन् २०११, २०१४ र २०१५ को सिजनमा उनी स्पेनिस ला लिगाकै सर्वाधिक गोलकर्ता बने । पाँचपटक बालोन डिअर उपाधि जितेका रोनाल्डोले सन् २०१८ मा युभेन्ट्समा आबद्ध भएका थिए । युभेन्ट्सबाट रोनाल्डोले पहिलो सिजनमा २१ र दोस्रो सिजनमा ३१ गोल गरेका थिए । रोनाल्डोले युभेन्ट्सबाट एक सय एक गोल संख्या पु¥याएका छन् । युभेन्ट्सले सन् २०१२ पछि सिरिए लिग उपाधि रक्षा गर्न नसकेको हो ।

ह्यारी केनलाई गोल्डेन बुट
इंग्लिस प्रिमियर लिगमा टोटनह्यामका कप्तान ह्यारी केनले गोल्डेन बुटसँगै प्लेमेकर अवार्ड जितेका छन् । प्रिमियर लिगको सिजनमा सर्वाधिक गोलकर्ताका रूपमा केनले गोल्डेन बुट हात पारेका हुन् । सिजनभरि नै १४ असिस्ट गर्ने खेलाडीका रूपमा उनले प्लेमेकर अवार्ड कुम्ल्याएका हुन् । केनले यस सिजनका प्रिमियर लिगमा सर्वाधिक २३ गोल गरेका थिए । लिभरपुलका मोहमद सलाह २२ गोलका साथ दोस्रो स्थानमा रहे । 

लियोनल मेसी सर्वाधिक गोलकर्ता
स्पेनिस ला लिगामा बार्सिलोनाको प्रदर्शन त्यति राम्रो रहेन । बार्सिलोन ला लिगा उपाधिविहीन रहे पनि कप्तान लियोनल मेसीले सर्वाधिक गोलकर्ताका रूपमा गोल्डेन बुट हात पारेका छन् । स्पेनिस ला लिगामा सर्वाधिक गोलकर्तालाई दिइने उपाधिलाई पिचिची भनिन्छ । मेसीले करिअरकै आठौँ तथा लगातार पाँचौँपटक पिचिची ट्रफी जितेका हुन् । लिगको अन्तिम खेलमा सहभागी नभएका मेसीले समग्रमा सिजनभरि ३० गोल गरे ।