मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
मञ्जु टेलर काठमाडौं
२०७८ जेठ १० सोमबार ०९:५७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन दिनपछि अस्पतालले दियो कोभिड संक्रमितको शव

Read Time : > 1 मिनेट
मञ्जु टेलर, काठमाडौं
२०७८ जेठ १० सोमबार ०९:५७:००

साढे चार लाख बुझाउन नसक्दा कान्तिपुर डेन्टल अस्पतालले शव नदिएको आफन्तको आरोप

तर, अस्पतालका निर्देशक भन्छन्– ‘बिरामीका आफन्त सम्पर्कविहीन हुँदा बेलैमा शव उठ्न सकेन

कान्तिपुर डेन्टल अस्पतालले कोभिड संक्रमणबाट मृत्यु भएका अनिलकुमार मगरको शव तीन दिनपछि नेपाली सेनाको जिम्मा लगाएको छ । आइसियूमा उपचाररत ३७ वर्षीय मगरको शुक्रबार बिहान मृत्यु भएको थियो । गाउँले र आफन्तसँग चन्दा उठाएर अस्पताल भर्ना भएका मगरको उपचारको क्रममै मृत्यु भएपछि पैसा बुझाउन नसक्दा अस्पतालले शव दिन नमानेको बिरामीका आफन्तले बताएका छन् । तर, अस्पताल प्रशासनले भने बिरामीको मृत्यु भएपछि आफन्तहरू सम्पर्कविहीन हुँदा शव समयमै व्यवस्थापन हुन नसकेको जनाएको छ । 

मगर २९ वैशाखमा कान्तिपुर डेन्टल अस्पतालमा भर्ना भएका थिए । अस्पतालका अनुसार स्वास्थ्य अवस्था जटिल भएकाले उनलाई आइसियूमा राखेर उपचार भइरहेको थियो । बिरामीको मृत्यु भइसकेपछि शव लिन जाँदा अस्पतालले साढे चार लाख रुपैयाँ शुल्क बुझाउन भनेपछि आफन्तले शव लिन सकेका थिएनन् । संक्रमितको शव तीन दिनसम्म अस्पतालमा रहँदा बिग्रिन थालेपछि र चौतर्फी दबाबपछि आइतबार शव नेपाली सेनालाई जिम्मा दिएको आफन्तले बताएका छन् । 

कोभिड संक्रमित भएपछि मगरलाई उपत्यकाका सबैजसो सरकारी अस्पताल डुलाउँदा पनि बेड नपाएर कान्तिपुर डेन्टल अस्पताल भर्ना गरेको उनका आफन्त हेमराज पौडेलले बताए । ‘बारी र खेत बेचेर भए पनि पैसा लिएर आउँछु भनेर नानी (मृतक मगरकी श्रीमती)लाई गाउँ ल्याएका थियौँ । यस्तो खबर सुनेपछि नानी बेहोस छे,’ पौडेलले भने, ‘घरमा आर्थिक अवस्था एकदमै नाजुक छ । खानलाउन नै पुग्दैन । त्यतिवेला गाउँले मिलेर बल्लतल्ल अस्पताल भर्ना गरियो । अस्पतालले राम्रै गरेको थियो, अन्तिम चरणमा आएर यस्तो भयो । साह्रै पीडा भाको छ ।’ 

ओखलढुंगाको लिखु गाउँपालिका–६ का मगर सोह्रखुट्टेमा श्रीमती र १० महिने बच्चासहित बस्दै आएका थिए । ज्याला मजदुरी गर्दै आएका उनलाई काम गर्दागर्दै संक्रमण भएको थियो । श्रीमान्लाई संक्रमण भएर अस्पताल भर्ना गरिएपछि खानबस्न गाह्रो हुने र सकेसम्म उपचारका लागि पैसा जोहो गर्ने भन्दै आफन्तले उनकी श्रीमती र बच्चालाई घर पुर्‍याइदिएका थिए । पौडेल भन्छन्, ‘त्यतिवेला कुनै सरकारी अस्पतालमा पनि बेड र अक्सिजन भेटिएन, ज्यान बचाउनैपर्‍यो भनेर बल्लतल्ल कान्तिपुर अस्पतालमा बेड मिलाइएको थियो । कोठामा बस्दा लकडाउनमा भौकै पर्छन् भनेर परिवारलाई गाउँ ल्याएका छौँ ।’ 

बिरामीको मृत्यु भएपछि आफन्तहरू सम्पर्कविहीन भएको अस्पतालको दाबी छ । अस्पतालको व्यवस्थापन शाखामा कार्यरत कर्मचारी पुनम राजभण्डारी भन्छिन्, ‘शुक्रबार बिहान संक्रमितको मृत्यु भएपछि आफन्तलाई खबर गरेका थियौँ । आफन्तहरू पैसा लिएर आउँछौँ भनेर गएका थिए । दिउँसो मृतककी श्रीमतीलाई लाजिम्पाट पु¥याएर आउँछौँ भनेर गएका बिरामीका कुरुवा त्यसपछि सम्पर्कमै आएनन् । यस्तो गर्मीमा शव सड्दै गइरहेको थियो । आफन्तको मञ्जुरी नहुँदा शव उठाउन मिलेन, पैसा तिर्न नसकेर शव नदिएको कुरा गलत हो ।’

अस्पतालका निर्देशक डा.बुद्धिमान श्रेष्ठ भने बिरामीका आफन्त कर्मचारीहरूसँग कुराकानी गर्न छाडेर विभिन्न बहाना बनाई सम्पर्कविहीन भएको बताउँछन् । ‘पैसा छैन भने अस्पतालसँग कुरा गर्ने हो, शव राखिरहन हामीलाई पनि समस्या हुन्छ । निजी अस्पतालहरूले निःशुल्क सबैलाई सेवा दिन सक्दैनन् । महामारीमा सबैलाई दुःख परेको छ । तर, बिरामीका आफन्त अस्पतालका कर्मचारीहरूसँग कुराकानी गर्न छाडेर सम्पर्कविहीन भए,’ उनले प्रतिप्रश्न गरे, ‘गाउँपालिका अध्यक्षदेखि लिएर जिल्लाका नेता, पत्रकार, डाक्टर र नेता नारायणकाजी श्रेष्ठसम्मले अस्पतालमा फोन गरे । यत्रो पहुँच भएको मान्छेले अस्पतालको बिल तिर्न सक्दैन ?’

अस्पतालमा शव उठाउन हस्ताक्षर गर्नसमेत नआउँदा व्यवस्थापनमा समस्या भएको अस्पतालले जनाएको छ । चौतर्फी दबाबपछि अस्पतालले सबै शुल्क मिनाहा गरिदिएपछि आइतबार बेलुका शव व्यवस्थापनका लागि लगिएको थियो ।