१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ ७ शुक्रबार १८:५३:००
Read Time : > 2 मिनेट
समाचार डिजिटल संस्करण

आयल निगमका हाकिमले मदिरा पिएर ट्यांकरचालकलाई गाली गरेको आरोप

विरोधमा शुक्रबार चालकहरुले तेल उठाएनन्

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ ७ शुक्रबार १८:५३:००

नेपाल आयल निगमको झापा, चारआलीस्थित शाखा कार्यालयका प्रमुख मनीष न्यौपानेले बिहीबार साँझ अत्यधिक मदिरा पिएर ट्यांकरचालक बुधनारायण मण्डललाई तथानाम गाली गरेको आरोप लागेको छ । यसअघि पनि कार्यालय प्रमुख न्यौपानेले विनाकारण पटकपटक गालीगलौज गर्दै आएको ट्यांकरचालकहरूले बताएका छन् ।

बिहीबार साँझको घटनापछि भने चालकहरूले विरोधस्वरूप शुक्रबार पेट्रोलपम्पमा तेल लगेनन् भने इन्डियन आयल कर्पोरेसन (आइओसी)को सिलगुढी डिपोमा तेल लिन पनि गएका छैनन् । शनिबार कार्यालय बन्द हुने भएकाले अरू दिनको तुलनामा शुक्रबार धेरै तेल उठ्ने गर्छ, तर धेरै तेल उठ्ने शुक्रबार नै ट्याकरचालकहरूले तेल ढुवानी नगरेपछि पूर्वमा इन्धन आपूर्ति असहज हुन सक्नेछ । अहिलेको तालिकाअनुसार चारआलीस्थित शाखा कार्यालय सोमबार मात्रै खोलेर इन्धन वितरण हुनेछ ।

चालकहरूको संस्था नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, ट्यांकर कमिटी (चारआली, झापा)को अगुवाइमा कार्यालय प्रमुख न्यौपानेमातहत रहेर काम गर्न नसक्ने भनी ज्ञापनपत्रसमेत बुझाइएको छ । इकाइ कमिटी अध्यक्ष तोकप्रसाद दुलालले विनाकारण ट्यांकरचालकहरू अपमानित हुने घटना बढेपछि बाध्य भएर शुक्रबार तेल नउठाएको र कार्यालय प्रमुखमाथि विभागीय कारबाहीको माग गरेको बताए ।

‘हाकिम साब (कार्यालय प्रमुख न्यौपाने) राति साढे आठ बजेतिर कार्यालय आउनुभएको रहेछ । उहाँलाई देखेपछि साथीहरूले नमस्कार भनेछन्,’ अध्यक्ष दुलालले भने, ‘त्यसैक्रममा हाकिम साबले तथानाम गाली गरेर हप्काउनुभएको छ ।’ उनी मदिराको नशामा रहेर गाली गरेको दुलालले बताए ।

निगमको चारआलीस्थित शाखा कार्यालयमा भण्डारणगृह छैन । आइओसीको सिलगुढी डिपोबाट ल्याएको तेल नापजाँच गरी सोझै पम्पमा पठाउने गरिएको छ । सो कार्यालयमातहत करिब ५५ ट्यांकरले इन्धन ढुवानी गर्दै आएका छन् । बस्ने उचित व्यवस्था नभएकाले कार्यालय परिसरमै पार्किङ गरी चालक,–सहचालकहरू राति ट्यांकरमै सुत्ने गरेका छन् ।

बिहीबार साँझ पनि ना.७ख २९९८ नम्बरको चालक बुद्धनारायण मण्डल बाहिर होटेलमा खाना खाएर सुत्नका लागि ट्यांकरमा आएका थिए । त्यति नै वेला (साँझ ८ः३० बजे) कार्यालय प्रमुख न्यौपाने अकस्मात आएको देखेपछि चालक मण्डलले नमस्कार गरेका थिए । त्यसपछि न्यौपानेले ‘भतुवा’लगायत अपशब्द प्रयोग गरी केहीबेर गाली गर्दै कार्यालयतिर गएको मण्डलले बताए ।

‘म सुत्न लागेको वेला हाकिम साब आएपछि नमस्कार गरेको थिएँ, तर उहाँले त तथानाम गाली गर्नुभयो । मलाई साह्रै चित्त दुख्यो,’ मण्डलले भने, ‘मैले चलाइरहेको ट्यांकरको साहूलाई पनि गाली गर्नुभयो ।’ सो ट्यांकर पेट्रोलियम व्यवसायी भुपाल कटुवालको हो । उनले चारआली कार्यालयमा तीनवटा ट्यांकर भाडामा लगाएका छन् । तीनवटै ट्यांकरका चालकमध्ये मण्डल सबैभन्दा इमानदार रहेको कटुवालले बताए ।

‘चारआली कार्यालयमा इन्धन ओसार्न मेरो तीनवटा ट्यांकर भाडामा छन् । तीनवटा ट्यांकरका चालकमध्ये बुद्धनारायण मण्डल जाँडरक्सी नखाने, झगडा पनि नगर्ने स्वभावको छ,’ कटुवालले भने, ‘आज बिहानै मण्डलले रुँदै फोन गरेर कार्यालय प्रमुखले गाली गरेको सुनाए । मेरो पनि नाम लिएर गाली गरे भन्दै थियो । यस्तो महामारीका वेला पनि इन्धन ओसार्न खट्ने चालकहरूलाई मनोबल उच्च बनाउनुको सट्टा गालीगलाैज गर्नु मनासिब होइन ।’

कार्यालय प्रमुख न्यौपानेले भने सामान्य घटनालाई ठूलो बनाउन खोजेको बताए । ‘ट्यांकरचालकहरूले शुक्रबार इन्धन ढुवानी गरेका छैनन् । सामान्य घटनालाई उनीहरूले पहाड बनाउन खोजिरहेका छन्,’ उनले भने, ‘चाँडै समस्या समाधान गरेर इन्धन ढुवानी सुचारु गर्छौँ ।’ लामो दूरीबाट इन्धन ढुवानी गर्ने चालकहरूको चाहना पूरा गर्न नदिएकाले आफूमाथि गलत आरोप लगाएको न्यौपानेको जिकिर छ ।

एक महिनाअघि पूर्वका ट्यांकरचालक र ढुवानी व्यवसायीले भारतबाट इन्धन ओसार्न जोखिम हुने भन्दै निगमको दुई नम्बर प्रादेशिक कार्यालय, अमलेखगन्जबाट इन्धन ओसार्न पाउनुपर्ने माग राखेका थिए । अहिले आइओसीको सिलगुढीबाट इन्धन ओसार्ने ट्यांकरले ढुवानी भाडाबापत प्रतिट्यांकर १५–२० हजार रुपैयाँ पाउँछन् । त्योभन्दा लामो दूरी रहेको अमलेखगन्जबाट इन्धन ओसार्दा प्रतिट्यांकर करिब ५० हजार रुपैयाँ ढुवानी भाडा हुन आउँछ ।

चारआली शाखाले लामो दूरीबाट ढुवानी गराउनुको सट्टा चालक, सहचालकलाई खोप लगाएर सिलगुढीबाटै इन्धन ओसार्ने वातावरण मिलाइरहेको छ । कार्यालय प्रमुख न्यौपानेले अमलेखगन्जबाट इन्धन ओसारेर बढी मुनाफा कमाउन खोज्ने चालक, सहचालक र ट्यांकरधनीको चाहना पूरा नभएपछि आफूमाथि गलत आरोप लगाएको बताए । लामो दूरीबाट इन्धन ओसार्दा ट्यांकरधनीले बढी ढुवानी भाडा पाउने र चालक, सहचालकले पनि प्रतिट्रिप बढी कमिसन पाउने गरेका छन् ।

कार्यालय प्रमुख न्यौपानेका विषयमा निगमको केन्द्रीय कार्यालय, बबरमहलमा पनि गुनासो बढ्न थालेको छ । देशभरका डिपोबाट हुने इन्धन बिक्रीका बारेमा नियमन गर्ने केन्द्रीय कार्यालयस्थित वितरण विभागले न्यौपानेलाई त्यहाँबाट सरुवा गर्ने मनस्थिति बनाएको छ ।