मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ ७ शुक्रबार ०९:३०:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मौसम बिग्रिएपछि एक सातादेखि सगरमाथा आरोहण रोकियो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ ७ शुक्रबार ०९:३०:००

मौसम सफा हुन नसकेपछि गत ३ वैशाखयता सगरमाथा आरोहण हुन सकेको छैन । मौसमले साथ नदिएपछि सगरमाथा आरोहण हुन नसकेको पर्यटन विभागकी प्रवक्ता मीरा आचार्यले बताइन् । गत २४ वैशाखदेखि ३० वैशाखसम्म १ सय ५० जनाले सगरमाथा आरोहण गरिसकेका छन् । अब १० दिन मात्रै सगरमाथा आरोहणको समय बाँकी छ ।

मौसम खुल्ने आशामा गाइड र विदेशीहरूसहित विभिन्न क्याम्पमा १२ सयभन्दा बढी मानिसहरू सगरथामा क्षेत्रमा बसेका छन् । बेसक्याम्पदेखि माथि क्याम्प–३ सम्म मौसम कुरेर आरोहणमा जाने तयारीमा रहेको आचार्यले जानकारी दिइन् । ‘अनुमति लिएका ३ सय विदेशीहरू आरोहणको अझै पनि पर्खाइमा छन्,’ आचार्यले भनिन् । पर्यटन विभागले पनि चक्रवातका कारण हिमाली र पहाडी क्षेत्रमा भारी वर्षा आउन सक्ने भन्दै सचेत रहन आग्रहसमेत गरिसकेको छ । 

कोभिड–१९ को दोस्रो लहरको जोखिमका बीच २०२१ को वसन्त ऋतुमा सगरमाथासहित विभिन्न हिमालहरूको आरोहण भइरहेको छ । यस वर्ष सगरमाथा आरोहणका लागि मात्रै ४३ समूहका ४ सय ८ जना आरोहीले अनुमति लिएका छन् । 

चालू सिजनमा विभागबाट १६ हिमालका लागि ८५ आरोहण दलका ७ सय ४२ आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि ४३ समूहका ३ सय १५ पुरुष र ९२ जना महिला गरेर ४ सय ८ जनाले आरोहणका लागि अनुमति लिएर आधार शिविरतर्फ गएका छन् । यो अवधिमा सरकारले रोयल्टीबापत मात्रै ७१ करोड ४८ लाख ५३ हजार ५ सय २९ रुपैयाँ संकलन गरेको छ ।

यस वर्ष बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर)को सफल आरोहण गरेको थियो । बहराइनको राजपरिवारका सदस्यसहितको टोली वैशाख २७ गते सगरमाथाको चुचुरोमा पुगेको थियो । यस वर्ष नै १३ मे १९९४ मा पहिलोपटक सगरमाथा चुचुरो चुमेका कामिरिताले २५औँ पटक सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड कायम गरिसकेका छन् । गत ७ मेमा १२ जनाको आइसफल डाक्टरसहितको टोलीले सगरमाथा आरोहण गरेका हुन् । 

आरोहण पूरा गरेर फर्केका दुई आरोहीको मृत्यु
सगरामाथा आरोहण पूरा गरी फर्केर साउथ समिटमा बसेका स्विट्जर्ल्यान्डका आरोही अब्दुल वाहेद वारिचको सोही स्थानमै मृत्यु भएको छ । गत वैशाख ३० गते आरोहण सम्पन्न गरेर फर्कने क्रममा दुईको मृत्यु भएको हो । 

आरोहणमा कोभिड–१९ को समस्या छैन : विभाग
पर्यटन विभागका अनुसार सगरमाथालगायत हिमाल आरोहणमा कोरोना संक्रमणले असर नपारेको प्रस्ट पारेको छ । ‘म अहिले काठमाडौं फर्केको छु, काठमाडौंभन्दा मेरा लागि बेसक्याम्प नै सुरक्षित रहेको पाएँ,’ आचार्यले भनिन् । हिमाली क्षेत्रमा सामान्य रुखाखोकी लाग्नु स्वाभाविक भए पनि अन्य कुनै पनि समस्या नदेखिएको आचार्यको भनाइ छ । केहीलाई पोजेटिभ देखिए पनि स्वास्थ्य मापदण्ड कडाइका साथ लागू गरिएकाले पनि खासै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले भनेजस्तो कुनै पनि समस्या नआएको आचार्यले बताइन् । 

पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथाको आरोहणलाई व्यवस्थित गर्न भन्दै आरोहणमा पहिलोपटक कोटा प्रणालीसमेत लागू गरिएको छ । सन् २०१९ को आरोहण मौसममा सगरमाथासहितका हिमालमा आरोहीले लामबद्ध भएर आरोहण गर्नुपरेको थियो । यसले सुरक्षामा चुनौती थपिएको भन्दै नेपालको विदेशी संघ–संस्थाहरूले आलोचना गरेका थिए । पछिल्लो व्यवस्थापनबाट एकपटकमा बढीमा १७० जना मात्र आरोहण मार्गमा हुने हुँदा जोखिम कम हुने विश्वास विभागको गरेको छ ।