लमजुङमा २४ घन्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार बिहान जिल्लाको मर्स्याङ्दी गाउँपालिका– ८ भुलभुलेमा केन्द्रबिन्दु बनाएर ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता बिहीबार बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा ८६ पटक भूकम्पको धक्का महसुस भएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार २४ घन्टामा चार रेक्टरभन्दा माथिका ६ वटा र चारभन्दा कम रेक्टरका ८० वटा भूकम्पका धक्का गएको छ ।
चारभन्दा माथि बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८, ८ बजेर १६ मिनेटमा ४, ८ बजेर १७ मिनेटमा ४ दशमलव १, ८ बजेर २६ बजेटमा ५ दशमलव ३, बुधबार राति ९ बजेर २३ मिनेटमा ४ र १० बजेर ३९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केललको भूकम्प गएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहीबार बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ ।
पटकपटक भूकम्प जाँदा जिल्लावासी त्रसित भएका छन् । बुधबार बिहानदेखि राति पनि गएको भूकम्पको त्रासले जिल्लावासी घरभित्र नबसी कोही सटरमा सुते, त कोही रातभर जाग्राम बसेका थिए ।
कोरोना संक्रमणको जोखिम उच्च भएको भन्दै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ, तर कोरोनाको डरले आफू रातभर कोरोनाभन्दा भूकम्पको डरले घरबाहिर बसेको बेंसीसहर शेराकुनामा बस्दै आएकी प्रतिमा सेन्चुरीले बताइन् । लमजुङका प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले लगातारको परकम्प गइरहेकाले नआत्तीकन सुरक्षित, सतर्क र सजग भएर बस्न आग्रह गरेका छन् ।