मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७८ जेठ ६ बिहीबार ०८:३२:००
Read Time : > 2 मिनेट
विश्व प्रिन्ट संस्करण

लकडाउन खुलेसँगै फ्रान्स र अस्ट्रियाका सडकमा चहलपहल

Read Time : > 2 मिनेट
एजेन्सी
२०७८ जेठ ६ बिहीबार ०८:३२:००

फ्रान्स र अस्ट्रिया सरकारले चरणबद्ध रूपमा लकडाउन हटाउने निर्णय गरेसँगै बुधबार यहाँका सडकमा चहलपहल देखिएको छ । रेस्टुरेन्ट, सिनेमा हलमा रमाइरहेका मानिस देखिन्थे । लामो समयपछि स्वतन्त्र रूपमा बाहिर हिँडडुल गर्न पाएकोमा सर्वसाधारण उत्साहित थिए । 

फ्रान्समा बुधबारबाट रेस्टुरेन्ट, पसल र सांस्कृतिक केन्द्रहरू खुलेका छन् । सरकारले कोरोना भाइरस (कोभिड– १९) संक्रमण फैलनबाट रोक्ने प्रयास स्वरूप लगाएको धेरै प्रतिबन्धलाई चरणबन्द रूपमा हटाउने प्रयासस्वरूप बुधबारबाट व्यापारिक क्षेत्रलाई सेवा सुरु गर्न अनुमति दिएको हो ।

सरकारको निर्णयपछि अरू धेरै क्षेत्र खुलेका छन् । यसले यहाँको जनवीवन सामान्य अवस्थामा फर्किएको छ । लामो समयको बन्दाबन्दीपछि प्राप्त स्वतन्त्रताबाट सर्वसाधारण उत्साहित देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । फ्रान्सेली सरकारले बुधबारबाट रेस्टुरेन्टको बाहिरपट्टि ६ जनासम्म भेला भएर सँगै खाना खान सक्ने गरी अनुमति दिएको छ । सरकारले रातको समयमा लगाउँदै आएको कर्फ्यु पनि ७ बजेबाट पछि सारेर ९ बजे पुर्‍याएको छ । 

छिमेकी अस्ट्रियामा पनि ६ महिनापछि बुधबारबाटै रेस्टुरेन्ट, सिनेमा हल र थिएटरहरू खुलेका छन् । संक्रमण नेगेटिभ देखिएको रिपोर्ट, भ्याक्सिन लगाएको वा संक्रमणबाट निको भएको प्रमाण बोकेका ग्राहकलाई बजार आउन अनुमति दिइएको छ ।

अस्ट्रिया सरकारले कम संक्रमण भएको देशबाट आउने पर्यटकलाई क्वारेन्टिन बस्नु नपर्ने निर्णय पनि गरेको छ । यद्यपि, उनीहरूले संक्रमण नरहेको पिसिआर परीक्षण रिपोर्ट, भ्याक्सिन लगाएको वा संक्रमण निको भएको प्रमाण देखाउनुपर्नेछ । अस्ट्रियामा पछिल्लोपटक गत नोभेम्बरबाट देशव्यापी लकडाउन गरिएको थियो ।

फ्रान्समा पछिल्लो परिवर्तन के छ ?
महिनौँसम्म बन्द रहेका रेस्टुरेन्ट, क्याफेदेखि अत्यावश्यक नठानिएका पसलहरू, सिनेमा हल, नाटक घर, संग्रहालय र खेलकुद केन्द्रहरूले बुधबारबाट उपभोक्तालाई स्वागत गरेका छन् । बिबिसीले जनाएअनुसार बुधबार फ्रान्समा एकजना महिलाले लकडाउन खुलेको पहिलो दिन चहलपहल हेर्नकै लागि कामबाट बिदा लिइन् । फ्रान्समा अहिले पनि संक्रमण पूर्ण रूपमा हटिसकेको छैन । अझै पनि त्यहाँ सरदर दैनिक १३ हजारजनामा संक्रमण देखिएको छ । अझै संक्रमण उल्लेख्य देखिएको समय लकडाउन हटाइएको भन्दै केही स्वास्थ्य विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । 

तर, फ्रान्समा यो संक्रमण संख्या निकै न्यून हो । त्यहाँ गत महिना मात्रै दैनिक ४० हजारको हाराहारीमा संक्रमण देखिएको थियो । फ्रान्सले पछिल्लो समय आफ्ना नागरिकलाई भ्याक्सिन लगाउने अभियानसमेत तीव्रता दिएको छ । यहाँमा अहिलेसम्म दुई करोडले कम्तीमा भ्याक्सिनको पहिलो डोज लगाइसकेका छन् । यो संख्या फ्रान्सको कुल जनसंख्याको झन्डै तीन भागको एक भाग हो । यस्तै, ९० लाखले दुवै डोज लगाइसकेका छन् । यो सरकारको योजनाअनुसारको सफलता हो । फ्रान्सेली सरकारले मेको मध्यसम्म दुई करोड जनतामा कम्तीमा भ्याक्सिनको पहिलो डोज लगाइसक्ने लक्ष्य तय गरेको थियो ।

फ्रान्सले व्यापारिक क्षेत्रलाई केही बन्देज भने अझै कायम राखेको छ । रेस्टुरेन्टहरूमा ग्राहकलाई भित्र बस्न दिइनेछैन । रेस्टुरेन्टहरूले आफ्नो क्षमताको आधा ग्राहकलाई मात्रै अनुमति दिन सक्नेछन् । सिनेमा र नाटक घरहरूले आफ्नो क्षमताको ३५ प्रतिशत वा बढीमा आठ सयजना दर्शकलाई मात्रै अनुमति दिन सक्नेछन् ।

फ्रान्सका अर्थमन्त्री ब्रुनो ली मइरले व्यापारिक क्षेत्रलाई चरणबन्द तरिकाले खोल्ने योजना रहेको जनाएका छन् । उनले यसलाई फ्रान्सको आर्थिक पुनरुत्थानको सांकेतिक चरण भनेका छन् । फ्रान्सले मेको सुरुबाट लकडाउन सहज बनाउने प्रक्रिया अघि बढाएको थियो । उसले त्यस वेला आन्तरिक भ्रमणमा लगाइएको प्रतिबन्ध हटाएको थियो । फ्रान्समा सर्वसाधारणहरूले कुनै पनि अनुमतिविना आफ्नो घरबाट १० किलोमिटरसम्मको यात्रा गर्न सक्ने नियम ल्याएको थियो । यस्तै, माध्यमिक तहका विद्यार्थी पनि पढाइका लागि विद्यालय जान थालेका थिए । नर्सरी र प्राथमिक विद्यालयहरू त्यसअघि नै खुलिसकेका थिए । 

सरकारले राति लगाउँदै आएको कफ्र्युसमेत जुन अन्त्यबाट पूर्ण रूपमा हटाउने योजना बनाएको जनाएको छ । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार फ्रान्समा ५९ लाखमा कोरोना भाइरस संक्रमण देखिएको छ । यस्तै, गत वर्ष यो महामारी सुरु भएदेखि कोभिडसँग सम्बन्धित एक लाख आठ हजार दुई सय एकको मृत्यु भएको छ ।