मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७८ जेठ ६ बिहीबार ०६:३५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

नयाँ पत्रिका फलोअप : चितवनमा दाहसंस्कार शुल्क हटाउने निर्णय

Read Time : > 1 मिनेट
२०७८ जेठ ६ बिहीबार ०६:३५:००

बजेट अभाव भन्दै अन्य जिल्लामा अझै शुल्क असुली

जिल्ला प्रशासन कार्यालय चितवनले कोभिड– १९ बाट मृत्यु भएकाको दाहसंस्कारमा तोकेको शुल्क हटाएको छ । सरकारले संक्रमणबाट ज्यान गुमाउनेको नि:शुल्क शव व्यवस्थापन गर्ने निर्णय गरेको भए पनि स्थानीय प्रशासनले २८ हजार शुल्क तोकेको थियो । पछिल्लो समय यो रकम घटाएर १७ हजार लिने गरिएको थियो । 

नयाँ पत्रिकाले ‘उपचार नि:शुल्क हुन सकेन, दाहसंस्कारसमेत सशुल्क’ शीर्षकमा समाचार प्रकाशित गरेपछि प्रशासनले बुधबार दाहसंस्कारमा तोकेको शुल्क हटाउने निर्णय गरेको हो । ‘बुधबारबाटै हामीले दाहसंस्कार नि:शुल्क गर्ने निर्णय गरेका छौँ,’ सिडिओ प्रेमलाल लामिछानेले भने, ‘हामी हप्तौँदेखि दाहसंस्कार नि:शुल्क गर्ने कोसिसमा थियौँ ।’ अब दाहसंस्कारको नाममा कसैले शुल्क लिएको उजुरी आए कारबाही गरिने उनले बताए । 

सिडिओ लामिछानेका अनुसार भरतपुर महानगरपालिकाले दाउरा खरिदका लागि तीन हजार रुपैयाँ र शववाहन उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, लायन्स क्लबले पनि नि:शुल्क शववाहनको व्यवस्था गरेको छ । ‘त्यो रकमले पनि नपुगे स्थानीय सामुदायिक वन, काठमिललगायले निःशुल्क उपलब्ध गराएको दाउरासमेत प्रयोग गरिनेछ,’ उनले भने । 

सरकारले नि:शुल्क दाहसंस्कारको घोषणा गरे पनि पूर्व मोरङदेखि पश्चिम सुर्खेतसम्मका कैयौँ जिल्लामा संक्रमणबाट मृत्यु भएकाहरूको अन्तिम संस्कारमा १७ देखि २८ हजारसम्म शुल्क उठाउने गरिएको छ । 

गत चैतसम्म भने चितवनमा कोभिडका कारण मृत्यु भएकाको शव गाड्ने गरिन्थ्यो । खाल्डो खन्न भरतपुर महानगरपालिकाले एक्स्काभेटर दिएको थियो । तर, त्यसपछि देवघाटको नारायणी नदी किनारमा शव जलाउन थालेपछि शुल्क उठाउन थालिएको थियो । ‘संक्रमितको शव नि:शुल्क अन्त्येष्टि गर्ने नीति भए पनि हामीसँग बजेट थिएन । त्यसैले शुल्क तोकेका थियौँ,’ सिडिओ लामिछानेले भने, ‘अब दाउराको व्यवस्था भयो, शववाहन भयो, नि:शुल्क दाहसंस्कार गर्न मिल्ने भएको छ । शवलाई जलाउने काम भने आफन्तकै हुनेछ ।’ 

महानगरले दाउरा किन्न तीन हजार दिने, नि:शुल्क शववाहनको व्यवस्था
भरतपुर महानगरपालिकाले अन्त्येष्टिका लागि तीन हजार रुपैयाँको दाउरा र शववाहन उपलब्ध गराउने भएको छ । महानगर प्रमुख रेणु दाहालले भनिन्, ‘नयाँ पत्रिकामा समाचार देखेपछि मैले सुरक्षा निकायसहितको बैठक राखेर यस विषयमा जानकारी लिएँ । आर्थिक स्रोत व्यवस्थापनको समस्या रहेछ, मेडिकल सिटीको परिचय बनाएको महानगरमा केन्द्र सरकारले गरेन भन्दैमा जनतालाई दुःख दिनुभएन भनेर हामीले सक्नेजति व्यवस्था गर्‍यौँ ।’ 

प्रजिअ लामिछानेले पनि भरतपुर महानगरपालिकाले दाउराको पैसासँगै एक थान शववाहन पनि उपलब्ध गराएको बताए । उनले भने, ‘सेनाको टिमले बिहान र बेलुका मात्र शव अन्त्येष्टिको काम गर्छ । मृतकको परिवारले आफैँ शव लगेर अन्त्येष्टि गर्छौँ भन्दा पनि अब महानगरले दिएको शववाहन प्रयोग गर्न सकिन्छ ।’

महानगरले दाउरा र शववाहनबाहेक नगर क्षेत्रमा तीनवटा एम्बुलेन्समार्फत कोभिडका बिरामीलाई घरबाट अस्पताल लाने–ल्याउने निःशुल्क सेवा दिँदै आएको महानगर प्रमुख दाहालले जानकारी दिइन् । 

समाचार प्रकाशित भएपछि देवघाट क्षेत्र विकास समितिले समेत शव जलाउन प्रयोग हुने दाउराको मूल्य घटाएको छ । समितिका प्रतिनिधि धीरनबाबु घिमिरेले संक्रमितको शव जलाउन एक चाङ दाउराको मूल्यमा पाँच सय घटाएर तीन हजार रुपैयाँ बनाइएको बताए ।