१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ जेठ ५ बुधबार १३:५१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभा उपनिर्वाचनका लागि बादल र देवकोटा हेटौँडामा

Read Time : < 1 मिनेट
२०७८ जेठ ५ बुधबार १३:५१:००

भोलि ६ जेठमा हुने राष्ट्रिय सभा उपनिर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादल हेटौँडा आइपुगेका छन् । बागमती प्रदेशतर्फ राष्ट्रिय सभा सदस्य रिक्त पदका लागि बिहीबार हेटौँडा– ४ स्थित भुटनदेवी माविमा हुने मतदानअघि छलफलका लागि नेकपा एमालेबाट उम्मेदवारी दिएका बादल हेटौँडा आएका हुन् । बादल आज दिउँसो १ बजे हेटौँडा आइपुगेका हुन् । उनी हेटौँडा–२ स्थित  एभोकाडो होटेलमा बसेका छन् । 

यसअघि अर्का उम्मेदवार डा. खिमलाल देवकोटा पनि हेटौँडा आइसकेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिएका देवकोटा मंगलबारदेखि हेटौँडामै रहेर चुनावी प्रचारप्रसारमा जुटिरहेका छन् । देवकोटालाई निर्वाचन आयोगले कलम चुनाव चिह्न दिएका छ भने बादल सूर्य चिह्नबाट चुनाव लड्ने निश्चित भइसकेको छ ।

बादलसँगै काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य पनि चुनावी प्रचारप्रसारमा जुटेका छन् । उनी पनि हेटौँडामा बादलसँगै पार्टीका नेता–कार्यकर्तासँग भेटघाटमै छन् । नेकपा एमालेको ओली–नेपाल पक्षबीच सहमति जुटिसकेको देखिए पनि हेटौँडामा भने आफ्नो पार्टीको उम्मेदवार बादललाई जिताउनका लागि ओली पक्षका नेता–कार्यकर्ता मात्र भेलामा जुटेका छन् । बादल र देवकोटासँगै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को तर्फबाट कृष्णबहादुर तामाङ पनि मादल चुनाव चिह्न लिएर निर्वाचनमा होमिएका छन् । 

मतदान बिहीबार बिहान ९ देखि ३ बजेसम्म हुने र मतदानका लागि मतदाताले पिसिआर रिपोर्ट बुझाउनुपर्ने अनिवार्य गरिएको छ । उम्मेदवार भए पनि चुनावमा होमिएका तीनैजनामा मताधिकार नभएको बागमती प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।