पहिलो चरणको कोभिड सुरु भएसँगै टेकु अस्पतालमा २४ सै घन्टा संक्रमितको उपचारमा खटिरहेका छन् डा. श्रवणकुमार मण्डल । दोस्रो चरणको भेरियन्टमा उनका बाबु, आमा र भाउजू संक्रमित भए ।
भाउजू होम आइसोलेसनमा बसेकी छिन् भने बाबुआमालाई उनले अस्पतालको आइसोलेसनमा ल्याए । तर, उनले सोचेजस्तो भएन । अन्य बिरामीलाई झैँ उनका बाबुआमालाई पनि बेड मिलाउन निकै सकस पर्यो । भन्छन्, ‘अरूलाई भनेझैँ सजिलो नहुने रहेछ परिवारको सदस्यको व्यवस्थापन मिलाउन ।’ उनकी आमालाई भने कोभिडसँगै निमोनिया पनि भएको छ । उनका ६४ वर्षीय बुबा, ५९ वर्षीया आमा उनकै रेखदेखमा टेकु अस्पताल भर्ना भएका छन् ।
आफ्नै आँखाअघि २०–२२ वर्ष उमेरका बिरामीको मृत्यु हुँदा पनि सामान्य मान्दै बाँचेकालाई बचाउन थाल्नुपर्ने उनलाई यतिवेला परिवारको छटपटीले पिरोलेको छ । आफैँले हजारौँ बिरामीको उपचार गरेर पठाएका मण्डललाई आफ्नो परिवार संक्रमित हुँदा कताकता भित्रभित्रै डर, त्रास र बेचैनीले छोपेको बताउँछन् । भन्छन्, ‘अरूलाई सम्झाउन र बुझाउन जति सजिलो हुन्छ आफ्नो परिवारको सदस्यको मन बुझाउन गाह्रो हुँदो रहेछ ।’