मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७५ फाल्गुण ६ सोमबार १०:०१:००
Read Time : > 5 मिनेट
फिचर

भूपिनको मैदारो स्टाइल

Read Time : > 5 मिनेट
२०७५ फाल्गुण ६ सोमबार १०:०१:००

भूपिन खड्काको गाउँ बलेवामा अग्लो डरलाग्दो भिर छ, पाटेभिर । ०५२ सालको कुनै दिन एउटा बाख्रा भिरबाट खस्यो । तर, मरेन । बीचैमा अड्कियो । जाडो बिदामा गाउँ गएको वेला भूपिन बाख्रा हेर्न बारम्बार पाटेभिर पुग्थे । अजंगको भिरबीचमा बाँचिरहेको बाख्रा देख्दा उनको मन विचलित हुन्थ्यो । त्यसको उद्धार गर्नका लागि भूपिनसँग कुनै अलौकिक शक्ति थिएन । बाख्रालाई कसरी मैदान देखाउने भनेर सोचमग्न हुन्थे ।

भूपिन पढ्न सहर झरे । बाख्रा अड्किएको तीन महिनापछि गाउँ पुगे । उनले सुने कि कुश्मामा मजदुरी गर्ने कसैले भिरबाट बाख्रा निकालेर खायो । उनलाई त्यो समाचारले बेचैन बनायो । मनमा आएको आँधीलाई शान्त पार्न उनीसँग अक्षर थियो । त्यही वेला उपन्यास लेख्ने सोच बनाए । 
घटना भएको दुई दशक नाघ्यो । धेरैपटक उपन्यासको खेस्रा लेख्दै थन्काउँदै गरे । उनको आउँदै गरेको उपन्यास ‘मैदारो’ एक कलाकारको कथा हो । तर, लेख्न भने बाख्राले नै प्रेरणा दिएको हो ।


उपन्यासको अधिक खेस्रा मोबाइलको नोटप्याडमै लेखे । यात्रामा निस्कँदा, थकाइ मार्दा या निदाउन नसकेका वेला कथाहरू भूपिनभित्र घुस्थे र लेखिहाल्थे । स–साना टुक्रामा लेखिएका ती खेस्रा अहिले उपन्यास भएर आउँदै छ । भूपिन भन्छन्, ‘मोबाइलले यदि सक्थ्यो भने मलाई उहिल्यै मुद्दा हाल्थ्यो, यो भाँडोलाई मैले धेरै दुःख दिएको छु ।’ 
डायरीका पानामा कविता लेख्ने भूपिनका औँला सादा पानामा नदगुरेको धेरै भइसक्यो । कहिलेकाहीँ आफ्ना हस्तलिखित अक्षरहरूको माया लागेर डायरीमा यसै केरकार गर्छन् । ती अक्षरहरूले नोस्टल्जियामा लैजान्छन् । गाउँलेका लागि लेखिदिएका चिठी, कविता, निबन्ध, नोट र प्रेमपत्र सम्झन्छन् ।

उनी प्राध्यापन गर्छन् । हरेक दिन औँलाहरू ‘ह्वाइटबोर्ड’मा कुद्छन् । त्यतिवेला महसुस गर्छन्, ‘अक्षरहरू पहिलाभन्दा नराम्रा हुँदै गइरहेका छन् ।’ यसले संवेदनशील बनाउँछ । प्रविधिको दास भएकोमा चिन्ता लाग्छ । अझ उपन्यास लेखनमा पनि प्रविधिकै प्रयोगले दिक्क लगाएकै हो । एकतिहाइ भाग मोबाइलमा नै लेखेपछि मात्र ल्यापटपमा लेख्न थाले । किनभने, मोबाइल ह्याङ हुन थालिसकेको थियो । डायरीमा लेख्ने प्रयास नगरेका होइनन् । तर, औँलाहरू मस्तिष्कको गतिमा चल्नै सकेनन् ।

लेख्दै जाँदा लेखक कथाका पात्रहरूसँगै बाँच्छ । पात्रहरू खुसी हुँदा ऊ खुसी, दुःखी हुँदा ऊ पनि दुःखी । ‘मैदारो’ उपन्यासको एउटा दृश्यमा एकजना पात्र आकाशका तारा हेरेर बिहान भइसकेको भ्रममा पर्छिन् । मध्यरातमा उठेर टाढाको पँधेरो जान्छिन् । गाउँका अधिकांश मानिसको झैँ भूतप्रति उनको पनि विश्वास हुन्छ । विश्वास नै त हो, भूतसँग भेट हुन्छ । भूपिनले त्यो दृश्य लेख्दै गर्दा मध्यरात थियो । उनको शरीरमा काँडा उम्रिए । औँला काँप्न थाले । भन्छन्, ‘भूतमा विश्वास नगर्ने मैले ल्यापटप बन्द गरेँ ।’ भोलि मध्यदिनमा मात्र सो दृश्य टुंग्याउन सके ।
भूपिनले उपन्यास लेख्दै जाँदा आफैँलाई पनि बिर्सिए । आफैँले आफ्नै परिचय गुमाएजस्तो लाग्यो । भन्छन्, ‘लेखकको आइडेन्टिटीमाथि पात्रहरूको आइडेन्टिटी हावी हुन खोज्छ ।’ पात्र पानीमा डुब्दा लेखक लामोलामो सास तान्न थाल्छ । तर, उसलाई त्यसको बोध हुँदैन । एक्लै बर्बराउँछ । पात्रले झैँ अभिनय गर्छ । रुन्छ, हाँस्छ, रिसाउँछ, डराउँछ । ऊ सम्पूर्ण रूपमा पात्रमा रूपान्तरित हुन्छ । एउटा लेखक धेरै पात्रहरूको जीवन बाँच्छ । फेरि त्यो पात्रको जीवनबाट मुक्त हुने प्रयास गर्छ । ‘स्वीकार गर्छु– ‘मैदारो’ बाइस वर्षसम्म कुनै न कुनै रूपमा मैले बाँचेको एक काल्पनिक दुनियाँबाट मुक्तिको कोसिस हो,’ उनको स्वीकारोक्ति छ । 

प्रविधिको दास भएकोमा भूपिनलाई चिन्ता लाग्छ । उपन्यासको एकतिहाइ भाग मोबाइलमा नै लेखेपछि मात्र उनले ल्यापटपमा लेख्न थाले । मोबाइल ह्याङ हुन थालिसकेको थियो । डायरीमा लेख्ने प्रयास नगरेका होइनन् । तर, औँलाहरू मस्तिष्कको गतिमा चल्नै सकेनन् ।

समाजमा हजारौँ वर्षदेखि भइरहेका घटनाहरूलाई प्रतिनिधित्व गर्ने सांकेतिक दुनियाँमा पु-याएर आफूले मैदारो लेखेको उनको भनाइ छ । उपन्यासको उत्कर्ष भने काल्पनिक छ । काल्पनिक दुनियाँको नाभी ‘अँधेरी गाउँ’ हो । जहाँ भिरको कथा छ, भिरजस्तो कठोर र एकान्त । तर, कसैको जीवनमा पनि त्यस्तो घटना नहोस् भन्ने उनको कामना छ ।
उनलाई उपन्यास लेख्न लगभग दुई वर्ष लाग्यो । सिध्याइहाल्न हतार गरेनन् । उनलाई सधैँ लागिरह्यो, लेख्नु मेरो नियन्त्रणमा छ, परिणाम मेरो नियन्त्रणमा छैन । नियन्त्रण भएको ठाउँमा उनले प्रशस्त मिहिनेत गर्नुपथ्र्यो । ‘त्यो गरेको छु’ उनी भन्छन् ।
भूपिन आफूलाई छिटोछिटो लेख्न सक्ने लेखक मान्दैनन् । न लगातार लेखिरहन सक्छन् । जीवनका अन्य व्यस्ततालाई व्यवस्थापन गरेर लेख्नु उनको सीमा हो । यसरी नै लेखे यो उपन्यास पनि । सबैभन्दा बढी लगातार कति दिन लेखे ? बीस–बाइस दिन ? एक महिना ? भन्छन्, ‘मलाई यकिन छैन, ढाड दुख्ने समस्याका कारण लगातार लेखेपछि ओछ्यानमा लड्थेँ ।’ विश्रामका वेला या त मोबाइलमा चेस खेल्थे या मेस्सीको गेम हेरेर बस्थे ।

जब उपन्यासको पहिलो ड्राफ्ट सकियो, भूपिनलाई सनोतिनो युद्ध जितेको अनुभव भयो । उनको अनुभव छ, केही कृति निकालिसकेको भए पनि लेखनमा आफूलाई अझै भ्रम रहेछ । भन्छन्, ‘त्यो वेला बुझेँ, खासमा युद्ध त बल्ल सुरु भएको थियो ।’ उनले चारपटक लेखेपछि मात्र उपन्यास प्रकाशनको निर्णय गरेका हुन् । उपन्यास फाइनल भएको दिन केही पात्रहरूसँग माफ मागे । केही पात्रलाई ‘पाठकहरूको मन जित्नु है’ भनेर शुभकामना दिए । केही पात्रसँग ‘फेरि भेट हुन सक्छ है’ भनेर सम्झाए । 

लामो समयसम्म पात्रहरूसँग बाँचे । तर, उनले महसुस गरिरहेका छन्, अझै पात्रहरूको ह्याङ मुक्त भइसकेको छैन । उनलाई नै थाहा छैन, मुक्त हुन सक्छन् वा सक्दैनन् । लेखक पात्रबाट मुक्त हुन लेख्छ कि पात्र बाँचिरहन ? गोर्कीले पावेललाई, अरवेलले विन्स्टन स्मिथलाई, टल्सटायले नातासालाई कहिलेसम्म सम्झे होलान् ? हाम्रा उपन्यासकारले आफूले जन्माएका पात्रलाई कति सम्झिरहन्छन् ? अचेल उनमा यस्ता प्रश्नहरू खुला झ्यालबाट छिरिरहेको हावाजसरी बहिरहन्छन् । 
उपन्यास र कविता÷निबन्ध लेख्दा खास फरक अनुभूति गरेनन्, सबैमा लेखकत्व भरपुर प्रयोग गरे । इलियाड, ओडिसी या महाभारत र रामायण उनलाई कविताको फर्ममा लेखिएका

महान् उपन्यास लाग्छन् । त्यति मात्र होइन, अनेकौँ कथा र पात्र भएका विशाल ग्यालरी वा म्युजियम । उनलाई लाग्छ, फुटकर कविता, कथा र निबन्ध भने एक–एक क्यानभास हुन् । एक क्यानभासले ग्यालरी बन्दैन, तर ग्यालरी बन्न क्यानभास त चाहिन्छ नै । पछिल्लो समय सबै कविहरू उपन्यासतिर दौडिरहेका वेला आफूलाई भने दौडमा सामेल गराउन चाहँदैनन् । किशोरवयमा पढेका केही उपन्यासका कारण उपन्यासकार बन्न चाहन्थे । विद्यालयकालमै लेखेका दुई उपन्यासमध्ये एक अधुरो पाण्डुलिपि भूपिनसँग अझै सुरक्षित छ । भन्छन्, ‘मैदारो त्यही सपनाको प्रेरणा हो ।’

इलियाड, ओडिसी या महाभारत र रामायण उनलाई कविताको फर्ममा लेखिएका महान् उपन्यास लाग्छ । त्यति मात्र होइन, अनेकौँ कथा र पात्र भएका विशाल ग्यालरी वा म्युजियम । उनलाई लाग्छ, फुटकर कविता, कथा र निबन्ध भने एक–एक क्यानभास हुन् । 

कविता र निबन्धमा समेट्न नसकेका विषयलाई उनले उपन्यासमा बुन्न कोसिस गरेका होइनन् । हरेक विधासँग जिस्कँदै त्यसमा जीवन खोजिहिँड्न रुचाउँछन् । यसलाई दुस्साहस नै मान्छन् । ‘म त तिमीलाई प्रेम गर्छु, तिमी मलाई गर्छौ कि गर्दिनौ ?’ भनेर कुनै प्रेमी जिस्किएझैँ सायद आफू जिस्किएको ठान्छन्, उनी । उत्साहित हुँदै भन्छन्, ‘भाइ, मबाट नाटक लेखिने पनि सम्भावना छ ।’ 

सेक्सपियरका अधिकांश नाटक, इब्सेनको डल्स हाउस, ब्रेख्तको ग्यालिलियो र बर्नाड सको पिग्मेलियन पढेपछि कसलाई मन लाग्दैन नाटककार बन्न ? अभि सुवेदी, अशेष मल्ल, सरुभक्त हुँदै कुमार नगरकोटी र युग पाठकसम्म आइपुग्दा कसलाई रंगमञ्चका लागि लेख्न मन लाग्दैन ? उनी भन्छन्, ‘फरक यति हो, हामी साहस गर्दैनौँ ।’ भविष्यमा कुनै दिन फोटोग्राफी र सिनेमामा पनि काम गर्ने सम्भावना भएको बताउँछन् । 

किताब बजारमा आएपछि प्रतिक्रिया त आइहाल्छ । नकारात्मक पनि आउन सक्छ । भूपिनको मत छ– लेखन ‘अफेन्सिभ प्ले’ हो, खास लेखक ‘डिफेन्सिभ गेम’ खेल्दैन । उसको काम लेखन कौशलले पाठकको मनमस्तिष्कमा प्रभाव पार्नु हो । विचार र शैलीको खेलबाट पाठकीय चेतनामा तरंग सिर्जना गर्नु हो । र, कतिपय अवस्थामा पाठकीय चेतनाको सम्बोधन गर्नु हो । 
भूपिन आफ्ना आलोचनालाई प्रशंसा गर्छन् । सामाजिक सञ्जालमा सेयर गर्छन् । उनी विश्वस्त छन्, कृतिमा हरेक लेखक कुनै न कुनै कमजोरीसँगै आउँछ । शक्तिले कमजोरीलाई छोप्ने कोसिस गर्ने हो । हिमाल भत्किँदै–भत्किँदै सुन्दर भएझैँ विचारमा कैयौँपटक भत्केर नै लेखक सुन्दर बन्छ । आलोचनाका लागि आलोचना वा प्रशंसाका लागि प्रशंसा गर्ने दुई अति बीच ठूलो समीक्षकीय हिस्सा रुमल्लिइरहेको छ । पठनमा ‘प्री अकुपाइड’ धारणा घातक हुने मत राख्छन् । भन्छन्, ‘गलत इन्टेन्सनले लेखिएका वा बोलिएका धारणालाई भने म इग्नोर गरिदिन्छु ।’ 

आफूले छोड्न चाहेर पनि आफूलाई कविताले छोड्न नसक्ने बताउँछन् । उनी भन्छन्, ‘कविता मेरो लत हो ।’ कविताविनाको जीवन उनको कल्पनाबाहिर छ । लेख्दै जाँदा निबन्ध पनि लत बन्यो । बिस्तारै अध्ययनमा आख्यानको लत थियो । त्यो पनि लेखे । ‘म यी सबैको लतमा मुग्ध भएर जीवन बिताउन चाहन्छु, जीवन एक लत नै त हो,’ उनले कुराकानी टुंग्याए ।