१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ जेठ ४ मंगलबार १५:३२:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जथाभावी आइसोलेसन सेन्टर नखोल्न स्वास्थ्य मन्त्रालयकाे आग्रह (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ जेठ ४ मंगलबार १५:३२:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड पूरा नगरी जथाभावी आइसोलेसन सेन्टर नखोल्न सबैलाई आग्रह गरेको छ । कोभिड– १९ संक्रमणका बिरामीको संख्या बढेसँगै विभिन्न संघसंस्थाले आइसोलेसन सेन्टर खोल्ने खोल्ने क्रम पनि बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य मापदण्डविनाका आइसोलेसन केन्द्र घातक हुने चेतावनी दिएको छ ।

ठूलो हल वा कोठामा बेड, ओढ्ने–ओछ्याउने, अक्सिजनका सिलिन्डरलगायत सामग्री राखेर आइसोलेसन सेन्टर खोल्ने होडबाजीजस्तो नै चल्न थालेपछि मन्त्रालयले जथाभावी आइसोलेसन सेन्टर नखोल्न सचेत गराएको हो । सञ्चारकर्मीसँग कुरा  गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले आइसोलेसन सेन्टर खोल्दै गर्दा आवश्यक स्वास्थ्यकर्मीहरू, उपचारमा चाहिने उपकरणहरू, औषधिहरू र क्रिटिकल केयरका लागि लैजाने अस्पतालहरूको समन्वय, प्रत्यक्ष निगरानीका सुनिश्चितता गर्न सुझाब दिए । उनले सामान्य भौतिक पूर्वाधारको व्यवस्था मात्रै गरेर स्वास्थ्य मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेसन केन्द्रहरू स्वास्थ्यका हिसाबले अर्को घातक हुन सक्ने चेतावनी दिए । 

उनले भने, ‘पछिल्लो समय आइसोलेसनको नाममा मानिसहरू जम्मा गरेर बस्न मिल्ने ठाउँहरू धेरै व्यवस्थापन गर्न खोजिएको देखिन्छ । तर, हामी सबैले बुझ्नुपर्ने विषयचाहिँ मानिसहरू आइसोलेसनमा आफ्नो घरको छुट्टै कोठामा बस्नुभन्दा उपयुक्त अर्को ठाउँ कहीँ पनि हुँदैन । स्वास्थ्य जटिलता, अलिकति गाह्राे भयो भने हामीले जुन मापदण्ड पालना गर्न नसक्ने गरी बनाइएका आइसोलेसन केन्द्रहरूचाहिँ स्वास्थ्यका हिसाबले अर्को घातक हुन सक्छ कि भन्ने डर छ । हामी संक्रमणको आशंकामा पुग्यौँ भने अलग्गिएर बस्ने, परीक्षण गराउने, संक्रमण पुष्टि भइसकेपछि पनि आफ्नो घरपरिवारको अरू सदस्यलाई नभेटेर छुट्टै बस्ने गर्‍याैँ र स्वास्थ्यमा कुनै समस्या भएन भने त्यो सबैभन्दा धेरै उपयुक्त हुन्छ । अर्को हामीले आइसोलेसन सेन्टरहरू स्थापना गर्दा स्वास्थ्यकर्मीहरू, त्यहाँ चाहिने उपकरणहरू, औषधिहरू र त्यहाँ गाह्राे हुनेबित्तिकै क्रिटिकल केयरका लागि स्वास्थ्य जटिलताका लागि लैजाने अस्पतालहरूको समन्वय, प्रत्यक्ष निगरानी हुने गरी गरेनौँ भने हामीलाई गाह्राे हुन्छ ।’

उनले टोलटोलमा आइसोलेसन सेन्टरका नाममा स्वास्थ्य सामग्रीहरूको ठूलो खपत हुने र साँच्चै आवश्यक पर्ने अस्पतालहरूमा उपचार सामग्रीको अभाव हुन सक्ने स्थिति सिर्जना भएकाले आफूहरू चिन्तित बनेको बताए । उनले आइसोलेसन सेन्टरमा स्वास्थ्य मापदण्डअनुसार राख्नैपर्ने स्वास्थ्य सामग्री, जनशक्तिको व्यवस्थापन तथा त्यहाँबाट निस्कने फोहाेर व्यवस्थापनको विषय चुनौतीपूर्ण रहेको बताए ।