Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
यम बम काठमाडाैं
२०७८ जेठ ४ मंगलबार १२:०७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा सामुद्रिक आँधीको असर शुक्रबारसम्म : भारी वर्षाको सम्भावना, हुरीसहित हिमपात पनि 

Read Time : > 1 मिनेट
यम बम, काठमाडाैं
२०७८ जेठ ४ मंगलबार १२:०७:००

पूर्वीमध्य अरब सागरमा विकसित शक्तिशाली चक्रवात (सामुद्रिक आँधी)  ताउ–तेको अप्रत्यक्ष असर नेपालमा परेको छ। सोमबार भारतको गुजरातको तटीय क्षेत्रमा प्रवेश गरी मुम्बईमा ताण्डव मच्चाएको आँधीको प्रभावका कारण मंगलबार बिहान नेपालमा बदली भएको छ। सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा बिहानै हल्का वर्षा भएको छ।

‘नेपालमा आँधीको सोझै असर नपरे पनि शुक्रबारसम्म हल्कादेखि अतिभारी वर्षा र हिमाली क्षेत्रमा हुरीसहित हिमपातको सम्भावना छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘शुक्रबारसम्म पर्वतारोहण नगर्न आह्वान गरेका छौँ।’

उनका अनुसार नेपालमा ताउ–तेकै कारण हावाहुरीको सम्भावना छैन। तर, प्रिमनसुन सक्रिय रहेका वेला हावाहुरी, चट्याङको सम्भावना छ। ताउ–तेका कारण मंगलबार दिउँसो मुलुकका पहाडी भूभाग तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च हिमाली भूभागका केही स्थानमा वर्षासहित हिमपात पर्नेछ। 

बुधबार साँझबाट शुक्रबारसम्म सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मानन्धरले बताइन्। उनका अनुसार बुधबार र शुक्रबार सुदूरपश्चिम र कर्णालीका एक–दुई स्थानमा अतिभारी वर्षाको समेत सम्भावना छ। तर, प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। ‘यो सिजनमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनापानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छौँ,’ उनले भनिन्। 

बुधबार दिउँसोबाट उच्च हिमाली भूभागका धेरै स्थानमा वर्षासहित हिमपातको सम्भावना छ। जसमध्ये सुदूरपश्चिम र कर्णालीका थोरै स्थानमा तथा अन्य प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी हिमपातको समेत सम्भावना छ। ‘सो अवधिमा उच्च हिमाली भूभागमा उच्च वेगको हावाहुरीको समेत सम्भावना रहेकोले पर्वतारोहण नगर्न तथा नगराउन हुन अनुरोध छ,’ महाशाखाले भनेको छ।

सामुद्रिक आँधीको मारमा भारतका पश्चिमी राज्य परेका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातमा प्रतिघन्टा १८५ किलोमिटरसम्म आँधी चलेको छ। आँधी र त्यसको प्रभावका कारण भएको वर्षाले हालसम्म १२ जनाको ज्यान गइसकेको छ, डेढ लाख मानिस विस्थापित भएका छन्।