१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नरेन्द्रजंग पिटर
२०७८ जेठ ४ मंगलबार ०८:०३:००
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

राज्य असफल भएकै हो ?

Read Time : > 5 मिनेट
नरेन्द्रजंग पिटर
२०७८ जेठ ४ मंगलबार ०८:०३:००

भ्याक्सिन, अक्सिजन र बेहाल अस्पताल प्रकरणसम्म पुग्दा राज्य असफल भएकै हो, राज्यलाई असफल पारेर सत्तामा टिक्ने अधिकार हुन्छ र ?

हामीलाई अमेरिका, रुस, चीन र युरोपतिरका घटना र अवस्थाले त्यति प्रभाव पार्दैनन्, तर भारतमा भएका, गरिएका राजनीतिक निर्णय र अभ्यासले भने प्रत्यक्ष प्रभाव पार्छ । ११ जनवरीमा प्रधानमन्त्री नरेन्द्र मोदीले दाभोसको विश्व आर्थिक मञ्चमा विश्वसमुदायलाई सम्बोधन गर्दै भारतले उदाहरण बनेर कोरोना महामारी नियन्त्रण गरिसक्यो भन्ने उद्घोष गरे । त्यसवेला महामारीको दोस्रो लहर सुरु भइसकेको थियो । कुम्भमेला, पाँच राज्यको चुनाव, धार्मिक महोत्सव, उत्तर प्रदेशका गाउँ पञ्चायतको चुनाव कोरोनाका हट स्पट बने । अझ धर्म आर्जन गर्न वा धार्मिक–राजनीतिक सुशोभन गर्न गएकाहरू महामारी ढुवानी गर्ने ‘ट्रान्सपोर्टर’ बनेर फर्किए । हरेक १२ वर्षमा हुने कुम्भको आध्यात्मिक मान्यता र पात्रोलाई ११ वर्षमै आयोजना गरेर चुनावको धार्मिक राजनीति गरियो । महामण्डलेश्वरलगायत अनेकौँ तीर्थयात्रीको मृत्यु भयो । अहिले मानवताको बीभत्सता सार्वजनिक थलोमा लास जलाइनु मात्रै हैन, उत्तरप्रदेशबाट गंगामा बगेर गएका सयौँ लास बिहारको बक्सरमा तैरिरहेका देखिए । अहिले गंगा, जमुना र नर्वदाका किनार गिद्द, काग, स्याल र कुकुरको भोजस्थल बनेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले भारतमा कोरोनाको महामारी अत्यन्त चिन्ताजनक अवस्थामा पुगेको बताएको छ । डब्लुएचओका प्रमुख टेड्रोस घेब्रेयिससले भनेका छन्– कोरोना महामारी अर्को वर्ष पहिलो वर्षभन्दा संसारलाई नै धेरै खतरनाक हुनेछ । यसै त खुला सीमा छ, त्यसमा पनि महामारीलाई संसार घुम्न कहीँ कतै भिसा, पासपोर्ट चाहिँदैन ।

आलोचना र आशा शक्तिसँगै हुन्छ । आलोचना र प्रशंसा राजनीतिक जीवनका अंश हुन् । विगतमा स्वयं प्रधामन्त्री केपी शर्मा ओलीका प्राथमिकतामा के–के रहे ? विचार र विश्वासलाई तर्क दिएर सही ठहर्‍याउन र राजनीतिक व्यवस्थापनमै उनले समय खर्चिए । महामारी टार्न नसके पनि कम गर्न सकिन्थ्यो । स्वास्थ्य सामग्री जोहो गर्ने र पूर्वाधार विकास गर्ने प्रशस्त समय थियो । तर, राज्यले केमा ध्यान दियो ? के दोस्रो चरणको रोकथाम विशेषज्ञ टिम, वैज्ञानिक सल्लाहकार समूह थियो ? के उनीहरूले सल्लाह दिएका थिए ? यदि दिएका भए कसले पालना गरेन ? बाधक को बन्यो ? भ्याक्सिन, अक्सिजन र बेहाल अस्पताल प्रकरणसम्म पुग्दा राज्य असफल भएकै हो ? राज्यलाई असफल पारेर सत्तामा टिक्ने अधिकार हुन्छ ? चौतर्फी भ्रष्टता (क्लेप्टोक्रेसी) राज्यको राजनीतिक चरित्र बनेको हो ? घरमै आइसोलेसन बसेका कोहलपुर–९, बाँकेका बमबहादुर खत्रीले कोरोना पोजिटिभ देखिएपछि आत्महत्या गरे । कोरोना रेडजोन घोषणा गर्दै सरकारले २२ जिल्लाका अस्पतालमा शड्ढया उपलब्ध गराउन नसकिने बतायोे । अक्सफोर्डद्वारा विकसित कोभिसिल्ड भ्याक्सिन उत्पादक सिरम इन्स्टिच्युट अफ इन्डियाका मालिक अदार पुनेवाला ‘शक्तिशालीहरूका दबाबका कारण’ बेलायत पलायन भए । ८० प्रतिशत भुक्तान गरिसकेको भ्याक्सिन बिचौलियाका कारण २७ दिन झमेलामा परेर नेपाल आउन नसकेको स्वास्थ्यमन्त्रीले खुलस्त गरे । कात्रोमा पनि कमिसनले आममानसमा घृणा बढायो । यस्तो मानवताविरुद्धको अपराधी को हो ? यसको दण्ड के हो ? कसले पाउने हो ? कसले कसलाई दिने हो ? निराशा र भय फैलिएपछि मानसिक रोगी ह्वात्तै बढे । तब, धेरै बमबहादुरले राज्यलाई अभिभावक सोच्न सकेनन् ।

महामारीको दोस्रो लहरले प्रस्ट सन्देश दिइरहँदा महामारी नियन्त्रणको तयारीमा राज्य जुटेन । भ्युटावरको प्रतिस्पर्धा भयो । धार्मिक उत्तेजना फैलाउन पशुपतिमा अर्बभन्दा बढीको स्वर्ण जलारी राख्न र माडीको राममन्दिरमा ध्यान गयो । अहंकारका धरहरा ठडिँदा पनि क्षमापूजाको राजनीतिक केन्द्रमा मान्छे भने पुगेन । दुई वर्ष सरकारी नेकपाको अहंकारको भालेभिडन्तमा राज्य फस्यो । प्रतिस्पर्धी ठुल्ठूला आमसभा, गुट, उपगुटका विनाटिकटका रमिता र तमासा देखिए । वेला छउन्जेल बेसार–पानी, हिमालको हावा, अम्बाको पात भन्दै दुनियाँ बेवकुफ बनाएर बसे । अन्धभक्तहरू ज्यू–ज्यू भन्दै गए । महामारीमा पशुपति र माडीवाला राम काम लागेनन् । भ्युटावर र धरहराबाट कोरोनाको भाइरस देखिएन । अस्पताल र स्वास्थ्यकर्मी नै काम लागे । पूर्वाधारमा ध्यान नदिने राजनीतिक कुस्ती खेलेर दायित्वहीन बन्ने, अहिले लडिबुडी गरेर हुन्छ ?

मृत्यु सस्तो भएको छ, जीवन औधी महँगो र बेसहारा । राजनीति व्यवसाय बनेको सरकार र प्रतिपक्षलाई कोरोना तमासा बनेको छ भने मृत्युका व्यापारीलाई औषधि, अक्सिजनजस्ता वस्तु र कात्रोमा पनि नाफा चाहिएको छ ।
 

सरकार अभिभावक बन्न नसके पनि व्यवस्थापनको आससमेत मरेर समाज निराशातर्फ धकेलिँदै गयो । कोरोनाको सबभन्दा ठूलो त्रासदी विश्वासको संकट र निराशाको फैलावट हो । यो छुतको रोग महामारीसँगै फैलियो । सबै विषयको केन्द्रमा राजनीति हुन्छ, चालकमा मूल नेतृत्व । जब व्यक्तिकेन्द्रित राजनीतिक संस्था विघटनको शासकीय सोच र राज्यको अभियान बन्छ, तब अवस्था भगवान्भरोसे बन्छ । विशेषज्ञ तपसिलमा पर्छन् । 

अमेरिकी राष्ट्रपति ट्रम्पको भारतीय प्रधामन्त्री नरेन्द्र मोदीले नक्कल गरे, मोदीको हाम्रा प्रधानमन्त्रीले । नक्कल गर्न पनि अक्कल चाहिन्छ, तब मात्र सक्कलजस्तो देखिन्छ । त्यसका लागि आधार हुनुपर्छ । अमेरिकाको नश्लभेद उसका नसा–नसामा छ । भारतमा धार्मिक उग्रता र घृणाको राजनीतिक रथ राष्ट्रिय स्वयंसेवक संगठन (आरएसएस)ले चलाउँछ । भारतीय जनता पार्टी (भाजपा) को मूल संगठन आरएसएस ९६ वर्षदेखि कार्यरत छ । तर, प्रधानमन्त्री ओलीको संगठन अहिले या त एनजिओवादमा फसेको छ, या गुट–उपगुटमा । वैचारिक आधार पनि कम्युनिस्ट हो कि धार्मिक राष्ट्रवाद, प्रस्ट छैन । भारतमा जस्तो ‘मूलधारका’ मिडिया सत्तानियन्त्रित पनि छैनन् । मोदीलाई जस्तो सुविधा ओलीलाई छैन । कोरानाले मोदीको अश्वमेघी श्यामकर्णे घोडा बंगालमा ममता बनर्जीले रोकिदिइन् भने कोरोनाले अक्सिजन, औषधि र अस्पतालमार्फत अहंकारलाई निर्वस्त्र गराएर संसारको ध्यान नदीकिनारामा छरिएका हजारौँ लास र जल्दै गरेका चिताले खिचे । हरेक नेताका आ–आफ्ना ब्रान्ड हुन्छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको ‘कम्युनिस्ट’ आवरण भए पनि हिन्दुत्व र उग्रराष्ट्रवादको ब्रान्ड र प्रतिक्रियालाई उक्साउने सोच !

गुटको समस्या हल गर्न अहिले सरकारी पार्टी ‘सफल’ भएको छ । हरेक सन्धि सम्झौतालाई कमजोर शक्ति तंग्रिने अवसरका रूपमा लिइन्छ । नत्र भनेको अश्त्रमा खिया लागेपछि लत्रिन बाध्य हुन्छ । विश्वासको धरहरा ठडिन लामो अभ्यास आवश्यक हुन्छ, तर जुन–जुन मान्छेको दिल र दिमागमा तुष हुन्छ, उनीहरूले भने कोखमा दाह्रा तिखारिरहेका हुन्छन् । बदलाको अहंकारले अरूलाई हैन, पहिला स्वयंलाई नै खान्छ । उसका कोखमा पनि दाह्रा हुन्छन्, अन्त्यसम्म त्यसलाई धारिलो पारिरहिन्छ । अहंकारले परिवेशलाई ध्वस्त गर्छ, स्वभिमानले सबैको रक्षा गरेर इतिहासलाई सन्देश दिन्छ । स्वाभिमान र अहंकार एउटै मनोविज्ञान हैनन् । अहंकारी भने दिल र दिमागमा तुष रहेर बदलाको मौका ढुकिरहेको हुन्छ । तर, अन्धभक्तले भने स्वाभिमान र अहंकार छुट्याउनै सक्दैनन् । प्रभुले कुन वेला कुन दाउ खेल्छ, पत्तै पाउँदैनन् । अन्धभक्त हुन प्रचण्ड मूर्ख हुन पनि आवश्यक हुन्छ ।

अन्त्यमा : व्यवस्था फेरियो, अवस्था र सोच भने फेरिएन । गाडी नयाँ भएर र सडक राम्रो भएर मात्रै हुँदैन, कुशल चालक पनि चाहिन्छ । राजनीतिक संकट सरकार, प्रतिपक्ष र अन्य राजनीतिक दललाई कोरोनाबाट उम्कने बहाना बन्यो । के यो उन्माद सहमति राजनीति त थिएन ? हामीमा रित्तिँदै गएको संवेदनशीलता र ध्वस्त भएको विश्वास हो ।

गन्धेनालामा नैनसुतको कपडा धोएर सफा देखिन चाहन्छौँ, हामी । चुप रहेर भलाद्मी देखिनुपर्ने हामी मौन जाति हौँ । त्यसै हामीलाई बहादुर भनिएको हैन, हामी ज्वालामुखी केन्द्रमा पनि मस्त निदाउन सक्छौँ । हामी लापरवाही थोपरिएको क्रूर समयमा बाँचिरहेका छौँ । मृत्यु सस्तो भएको छ, जीवन औधी महँगो र बेसहारा । राजनीति व्यवसाय बनेको सरकार र प्रतिपक्षलाई कोरोना तमासा बनेको छ भने मृत्युका व्यापारीलाई औषधि, अक्सिजनजस्ता वस्तु र कात्रोमा पनि नाफा चाहिएको छ ।

स्थितिको गलत आकलन गर्नुहुँदैनथ्यो । सबभदा पहिला इमानदारीपूर्वक गल्ती कहाँ भयो भन्ने स्विकार्नुपर्छ । जबसम्म असफलताका कारण अस्वीकार गरिन्छन्, तबसम्म अवस्था सुध्रिँदैन । एक नेतालाई मात्र सबै श्रेय दिने होडले गर्दा हरेक समय सफलता घोषणा गर्ने उसका बाध्यता भइरहन्छन् । अवस्था त्यस्तो भएपछि चाप्लुसबाट घेरिइरहेर सफलताका कथा श्रवण गरिरहिन्छ । वास्तविकतालाई अस्वीकार गर्नाले सामूहिक शक्ति छिन्नभिन्न भएर पार्टी र संवैधानिक संस्थाको स्वतन्त्रता ध्वस्त हुन्छन् । अकल्पनीय संकटको आकाश झर्न थाल्छ । यस्तो वेला शक्तिमा विनम्रताको खाँचो पर्छ, तब मात्रै राष्ट्रिय सद्भाव र एक लक्ष्यका लागि एकजुटता स्थापित हुन सक्छ । असफलता र कमजोरी षड्यन्त्र हैन, दायित्व स्वीकार गरिनु पहिलो सकारात्मक पहलको थालनी हुन्छ । यसका लागि विनम्रता पहिलो सर्त हुन्छ । तर, संवेदनाको व्यवसाय र आतंकको खेती मौलाइरहेको शक्तिलाई भने स्वनिर्णय लिन पछुवाले दिँदैनन् । चाकरलाई संरक्षण गरिएन भने अर्को गद्दार बन्न पनि कोही तयार हुँदैनन् ।

युद्ध, महामारी र प्राकृतिक विपद् सत्तालाई निरंकुश बन्ने अवसर र अपराधीलाई धनार्जन गर्र्ने मौका बन्छ । महामारीमा सबैका आ–आफ्ना पीर छन्, सोच छन्, अभ्यास छन्, व्यापार छन्, सपना छन्, आशा र निराशा पनि छन् । औषधि ब्ल्याक भए, भेन्टिलेटर भएका अस्पतालले बेड अकुपाई (लुकाए) गरे । गंगालाल अस्पतालले त ७० वर्षभन्दा माथिका बिरामीलाई भेन्टिलेटर दिन नसक्ने सीधै घोषणा गर्‍यो । धार्मिक जनसमेत आध्यात्मिक थलोमा नभई विज्ञानको भर पर्न थाले । सरकार व्यक्तिकेन्द्रित छ, क्याबिनेट आज्ञापालक मात्र । प्रतिस्पर्धी कुण्ठाखेतीमै व्यस्त । प्रतिपक्ष लाचार । मेरो पिँढी संसदीय व्यवस्था असफलताका कारण भनेर हुर्कियो । समस्या व्यक्तिमा छ कि प्रवृत्तिमा या व्यवस्थामा ? कहिलेकाहीँ अरूले गरेका गल्तीको सजाय पनि आफूले भोग्नुपर्छ । सरकारी पार्टीको आन्तरिक किचलोमा दुई वर्ष राज्य बन्धक बन्यो । सन्काहा नेतृत्वले कसरी समय, समाज र पूरै राज्य तहसनहस पार्दोरहेछ र आदर्श रित्तिएर कसरी एउटा दलाल वर्ग जन्मिँदोरहेछ, कुनै समयका क्रान्तिकारी कसरी ध्वस्त भएर दलालमा फेरिँदा पनि औचित्य साबित गर्ने तर्क कोरल्दारहेछन्, देशले प्रत्यक्ष भोग्यो । चेत भया, कोरोना न हुकुममा चल्छ, न षड्यन्त्रको माखेसाङ्लोमा फस्छ ।