मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ जेठ ३ सोमबार ११:३७:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा रहेको एक मात्र सरकारी अस्पताल आइसियू र भेन्टिलेटरविहीन 

Read Time : > 1 मिनेट
२०७८ जेठ ३ सोमबार ११:३७:००

अघिल्लोपटक कोरोनाको असर कम मात्रामा देखिएको हिमालपारिको जिल्ला मनाङमा दोस्रो भेरियन्टको प्रभाव समुदायस्तरमा देखापरेको छ । सामान्य समयमा समेत बाहिरी जिल्लाबाट मनाङका विभिन्न स्थानमा भ्रमणका लागि पुग्ने नागरिकका लागि अक्सिजनको कमी हुने मनाङमा अहिले कोरोनासँग जुध्न अक्सिजनको समस्या टड्कारो बनेको छ । 

मनाङमा कोरोना महामारीको दोस्रो लहरमा ४५ जना संक्रमित भइसकेका छन् । संक्रमितमध्ये अधिकांशमा लक्षण रहेको र धेरैलाई अक्सिजनको आवश्यकता रहेको स्वास्थ्य कार्यालय मनाङले जनाएको छ । ‘यहाँ उच्च सजगता अपनाइयो, अहिले लक्षणसहितका संक्रमितको संख्या बढ्दो छ,’ स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले भने, ‘संक्रमितलाई उच्च निगरानीमा होम आइसोलेसन र अस्पतालमा राखिएको छ ।’ मनाङमा रहेको एउटा मात्र सरकारी अस्पताल जिल्ला अस्पताल मनाङमा टेन्ट टाँगेर एउटा आइसोलेसन बेड बनाइएको छ । 

अस्पतालमा एउटा मात्र अक्सिजनको व्यवस्था छ । अस्पतालमा बेड नभएपछि चामे गाउँपालिकाको सहयोगमा गाउँपालिकाको कबर्डहलमा १० बेडको अक्सिजनसहितको आइसोलेसन निर्माण गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए । 

उनका अनुसार मनाङमा जटिल बिरामीका लागि भेन्टिलेटर र सघन उपचार कक्ष आइसियूको सामग्री भए पनि दक्ष विशेषज्ञ नहुँदा प्रयोगमा आउन सकेको छैन । ‘अस्पतालमा जनशक्तिको पनि अभाव छ, विशेषज्ञ डाक्टर छैनन्,’ प्रजिअ लामिछानेले भने । महामारीको दोस्रो लहर सुरु हुँदादेखि नै सतर्कता अपनाइएको मनाङमा महामारीको दोस्रो लहरलाई रोक्न भने कठिन भएको छ । पहिलो चरणको कोरोनाको प्रभाव कम भएपछि जिल्लामा आन्तरिक पर्यटकको निकै चहलपहल बढेको थियो । यस अवधिमा विदेशी पर्यटकको जिल्ला आवतजावतका कारण कोरोना भित्रिएको प्रशासनको ठम्याइ छ ।

‘मनाङमा स्थानीय सर्वसाधारणभन्दा बाहिरी जिल्ला र विदेशी पर्यटकको आवागमन धेरै हुने गर्दछ,’ मनाङका पर्यटन व्यवसायी विनोद गुरुङले भने । श्वास–प्रश्वासमा समस्या भएपछि ‘हाइकेयर युनिट’मा उपचार गर्नुपर्ने बिरामीलाई पोखरा, काठमाडौं पठाउनुपरेको जिल्ला अस्पताल मनाङका मेडिकल अफिसर डा. प्रतिभा गौलीले बताइन् । कोरोनाको संक्रमणबाट गम्भीर स्वास्थ्य समस्या भएका तीनजनामध्ये दुईजनालाई काठमाडौं र एकजनालाई पोखरा लगिएको हो । चार गाउँपालिका रहेको मनाङको सदरमुकाम चामे र मनाङ ङिस्याङ गाउँपालिकाका स्थानीयमा संक्रमण देखिएको प्रशासनले जनाएको छ ।