कांग्रेसले कोभिड– १९ रोकथाम तथा न्यूनीकरणका लागि सबै नागरिकलाई खोप लगाउने व्यवस्था गर्न माग गरेको छ । कांग्रेसले विदेशबाट द्रुतमार्गबाट खोप आयात गरी सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाई जीवनरक्षा गर्न माग गरेको हो ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई फोन गरेर कोभिड– १९ रोकथाम, न्यूनीकरण तथा उपचारका लागि ध्यानाकर्षण गराएका हुन् । प्रमुख सचेतक खाणले आवश्यक खोप यथाशीघ्र आयात गरी समयमा नै सबै नागरिकलाई खोप दिने व्यवस्था गर्न माग गरेका हुन् । ‘ज्येष्ठ नागरिकहरूलाई पहिलो खोप दिए पनि हालसम्म दोस्रो डोज पाएका छैनन् । अरू धेरैले खोप नपाएका कारण ज्यान गुमाउनुपर्ने अवस्था छ,’ खाणले भनेका थिए ।
प्रमुख सचेतक खाणले देशभर अक्सिजनको अभावमा संक्रमितहरूले अकालमा ज्यान गुमाउनु परिरहेकोबारे समेत मन्त्री त्रिपाठीलाई ध्यानाकर्षण गराएका थिए । ‘अस्पतालहरूमा अक्सिजनको अभाव हुन नदिन आवश्यक पर्ने अक्सिजन सिलिन्डर आयात गर्नेदेखि अक्सिजन उत्पादक कम्पनीहरूलाई आवश्यक पर्ने सहयोग र सहजीकरण गरेर आवश्यक व्यवस्थापनमा सरकार चुक्न हुँदैन,’ खाणले भनेका थिए ।
नेता खाणले हाल स्वास्थ्य सामग्री र उपकरणहरूको अभाव हुँदै गएको अवस्थाले गर्दा संक्रमित र अन्य रोगका बिरामीहरूको समेत उपचारमा कठिनाइ भएको बताए । ‘यस विषयमा सरकार संवेदनशील र जिम्मेवार हुनुप¥यो । सरकारले आवश्यक पर्ने स्वास्थ्य सामग्री तथा उपकरण विदेशबाट ढुवानीको प्रबन्ध गरी ढुवानीमा सहजीकरण वेलामा गर्नुप¥यो,’ उनले भनेका थिए ।