मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २ आइतबार १८:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीसँग जसपा अध्यक्ष यादवका तीन असन्तुष्टि : शपथग्रहण बदर गर्न माग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २ आइतबार १८:१६:००

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीले पुनः नियुक्त भएपछि शपथग्रहण गर्ने क्रममा पदीय मर्यादा र गरिमामा गम्भीर आँच आउने काम गरेको भन्दै त्यसलाई बदर गर्न माग गरेका छन् । यादवले आइतबार प्रेस विज्ञप्ति जारी गरी राष्ट्रपति र प्रधानमन्त्रीको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको भन्दै पुनः शपथग्रहण गराउन माग गरेका हुन् । 

यादवले भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीको शपथग्रहणा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी ‘सत्य निष्ठापूर्वक त्यो पर्दैन’ भनेर शपथग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न–गराउन हाम्रो पार्टी माग गर्दछ ।’

यादवले संविधानको धारा २८२ र २८३ मा समावेशी सिद्धान्तबमोजिम राजदूतहरू नियुक्ति गर्नुपर्ने व्यवस्था भएकोमा पटकपटक राजदूत नियुक्ति गर्दा समावेशी आधारमा नगरेर सरकारले विभेद गरेको बताएका छन् । राज्यका सबै अंग, तह र निकायमा समानुपातिका समावेशी मान्यता तथा त्यससम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न पनि यादवले माग गरेका छन् । ‘राजनीतिक नियुक्तिहरूमा वर्तमान सरकारले मधेसी, आदिवासी जनजाति, महिला, दलित, थारूलगायतका समुदायहरूको संविधानको व्यवस्थाविपरीत न्यून प्रतिनिधित्व गराई उपेक्षा र विभेद गरेका छन् । अतः राज्यका सबै अंग, तह र निकायमा समानुपातिक समावेशी मान्यता तथा त्यससम्बन्धी मापदण्डका आधारमा नियुक्ति गर्न हाम्रो पार्टी माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

सरकारले कोरोना महामारीमा जिम्मेवारीपूर्वक आपतकालीन व्यवस्थापन गर्न पर्याप्त ध्यान नदिएको, अस्पतालहरूमा बिरामीका लागि बेड, अक्सिजन, आइसियू, भेन्टिलेटर र औषधिको समेत अभावले जनताको अकालमा मृत्यु भएको आरोप यादवको छ । ‘अस्पतालहरूमा कोभिडका बिरामीहरूका लागि बेड, अक्सिजन, आइसियू, भेन्टिलेटर र औषधिको समेत अभावले जनताको अकाल मृत्युवरण भइरहेको छ । स्वास्थ्यकर्मी, डाक्टर अर्थात् आवश्यक जनशक्ति बेड, अक्सिजन, आइसियू, भेन्टिलेटर र औषधिको यथाशीघ्र व्यवस्था गर्नुपर्दछ,’ यादवद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।