मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २ आइतबार १७:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २ आइतबार १७:३४:००

निर्वाचन आयोगले कोभिड– १९ महामारीको समयमा हुन लागेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड स्वीकृत गरी लागू गरेको छ । आयोगले मतदानस्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुईजना स्वास्थ्यकर्मी रहेको हेल्थडेस्क स्थापना गर्नेछ । 

मतदानस्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि ७२ घन्टा अवधिभित्रको पिसिआर रिपोर्ट देखाई साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने र मास्क लगाएर मात्र प्रवेश गर्नुपर्नेछ । कोभिड संक्रमण देखिएका मतदाताका लागि छुट्टै मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको र त्यस्तो मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, मतदान प्रतिनिधिहरू सबैले अनिवार्य रूपमा पिपिईको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको आयोगले जनाएको छ । 

मतदानस्थल तथा केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक, पर्यवेक्षक, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधि एवं मतदाताले मतदानस्थल वा केन्द्रमा रहँदा कम्तीमा दुई मिटरको दूरी कायम गर्नुपर्ने र सबैले अनिवार्य रूपमा फेस सिल्ड, पन्जा र मास्क लगाउनुपर्नेछ । मतदान अधिकृतले एक मतदान केन्द्रमा बढीमा २५ जना मतदाताले मतदान गरिसकेपछि गोप्य मतदान कक्षमा प्रयोग भएका स्वस्तिक छापलगायतका मतदान सामग्रीहरू र मतदान सम्पन्न भएपछि मतपेटिका सिल गर्नुअघि र मतगणना स्थलमा मतपेटिका खोल्नुअघि अनिवार्य रूपमा मतपेटिका निसंक्रमण गर्नुपर्ने व्यवस्थासमेत गरिएको आयोगले बताएको छ । 

मतदानस्थलमा अनिवार्य रूपमा आवश्यक उपकरणसहितको एक एम्बुलेन्स प्रदेश सरकारको स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालयको समन्वयमा सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालय वा जिल्ला अस्पतालबाट व्यवस्था गर्नुपर्नेजस्ता प्रावधानहरू स्वास्थ्य सुरक्षा मापदण्डमा छन् । आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा पालना गर्नुपर्ने मापदण्ड पालना गरी–गराई निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न–गराउन सबै पक्षसँग अनुरोध गरेको छ । आयोगले राष्ट्रिय सभा सदस्य उपनिर्वाचन स्वास्थ्य सुरक्षा मापदण्ड आयोगको वेबसाइटमा समेत राखेको छ ।