१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नाताली थुर्ले
२०७८ जेठ २ आइतबार ०९:५४:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

अथक प्यालेस्टिनी प्यारामेडिक

Read Time : > 2 मिनेट
नाताली थुर्ले
२०७८ जेठ २ आइतबार ०९:५४:००

यहाँका प्यारामेडिकहरूले इजरायलसँग दिनहुँजसो हुने हिंसाबाट घाइतेहरूको अनवरत उपचार व्यवस्थापन गरिरहेका छन्

जेरुसेलममा १० मेमा इजरायली प्रहरीले अन्धाधुन्द आक्रमण गरेर सयाैँ प्यालेस्टिनीलाई गम्भीर घाइते बनाएपछि डक्टर्स विदाउट बोर्डर्स (एमएसएफ)ले प्यालेस्टाइन रेडक्रसलाई चिकित्सा सहयोग दिन सुरु गर्‍यो । डक्टर्स विदाउट बोर्डर्सका मेरा सहकर्मीहरू र मैले प्यालेस्टिनी रेडक्रससँग मिलेर वादी अल–जोजस्थित रेडक्रसको प्राथमिक उपचार केन्द्रमा घाइतेहरूको उपचार मिलेर गरिरहेका छाैँ ।

मैले त्यहाँ देखेको पहिलो घाइते एउटी १२ वर्षकी केटी थिइन् । हामीले उनको घाउको निरीक्षण गर्न उनले लगाएको जिन्स बिस्तारै तान्न खोज्यौँ, उनी चर्काे वेदनाले चिच्याइन् । उनको तिघ्राको मथिल्लो भागमा हत्केलाजत्रो रबरको गोलीले च्यातेर गएको गहिरो र ठूलो आलो घाउ थियो । आमासँगै घर जान हिँडिरहेकी ती बालिकालाई इजरायली प्रहरीले ताकेरै गोली हानेका थिए । ठीक खुराकमा दुखाइको औषधि दिन मैले उनको तौल सोधेँ, उनले मलाई आफू २८ केजीकी भएको बताइन् । उनी साँच्चै सानी थिइन्, ती उभिन सकिरहेकी थिइनन्, त्यसैले हामीले उनको नितब्ब वा तिघ्राको हाड भाँच्चिएको हुन सक्ने ठानेर अस्पतालमा एक्सरेका लागि पठायौँ । यहीबीच, विदाउट बोर्डर्सका मेरा सहकर्मी एन्डीले अर्का एक १४ वर्षे किशोरलाई लिएर आए । रबरको गोली उनको अनुहारमै लागेको थियो । गोली लाग्नबाट उनको देब्रे आँखा बालबाल बचेको देखिन्थ्यो, घाउ आँखाको एकदमै मुनि छेउपट्टि लागेको थियो । रेडक्रसबाट आएका सहकर्मीले अघिल्लो दिउँसो यस्तै चोटबाट एउटा आँखा नै गुमाएका एक किशोरको उपचार गरेको मलाई बताए । यो सुनेपछि म निकै बेर पिरोलिएँ । ती मानिस, जसले यी कलिला बालबालिकातर्फ आफ्नो बन्दुक सोझ्याए, के तिनले एउटा १४ वर्षे केटोमा आँखा गुमाउनुको असर के पर्छ कहिल्यै सोचे होलान् ? 

उपचार गर्दै गर्दा मैलै त्यहाँ कुहिएको माछा र विष्ठामिश्रित कडा गन्धको महसुस गरेँ । वास्तवमा त्यो गन्ध इजरायली प्रहरीले वाटर क्याननबाट हान्ने गरेको एक प्रकारको घातक केमिकलको थियो ।

सूर्यास्तसँगै दिनको रोजा(व्रत) तोड्ने समय थियो त्यो । हामीले सहकर्मीबीच आफ्ना खानेकुरा बाँडचुँड गर्‍यौँ र एकछिन शान्तिको अनुभव गर्‍यौँ । तर, त्यो शान्ति धेरैबेर टिकेन । छिनमै एम्बुलेन्सहरू ओइरिए, १० मिनेटमा १५ जना घाइते ल्याइपुर्‍याइए । हामीले सबै घाइतेको अवस्था निरीक्षण गर्दै तत्काल उपचार खाँचो रहेकाको उपचार त्यहीँ गर्‍यौँ, अस्पताल पठाउनुपर्ने खालका गम्भीर घाइतेलाई अस्पताल पठायौँ । एकजना गर्धनमा ग्रिनेडको टुक्राले गहिरो घाउ बनाएको घाइते र अर्का एकचाहिँ राइफलको कुन्दाले छातीमा हिर्काउँदा गम्भीर अवस्थामा पुगेका घाइतेलाई पनि देख्याैँ । अर्का एक वृद्ध पनि थिए, जसको टाउकोबाट रगत आइरहेको थियो । तिनको होस थिएन ।

उपचार गर्दै गर्दा मैलै त्यहाँ कुहिएको माछा र विष्ठामिश्रित कडा गन्धको महसुस गरेँ । वास्तवमा त्यो गन्ध इजरायली प्रहरीले वाटर क्याननबाट हान्ने गरेको एक प्रकारको घातक केमिकलको थियो । वाटर क्याननबाट इजरायली प्रहरीले अक्सर यही केमिकल मिसिएको फोहोर पानीको फोहोरा बर्साउने गर्छ । 

उपचारस्थलमा कुदाउँदै ल्याइएकी अर्की एउटी युवतीको नितम्बमा गोलीले गहिरो घाउ बनाएको थियो । गोली लागेर भुइँमा लडेपछि उनीमाथि त्यही दुर्गन्धित रसायनसहितको फोहोर पानी बर्साइएको थियो । उनी केमिकलले निथ्रुक्कै भिजेकी थिइन्, जसबाट अग्घोरै कडा दुर्गन्ध आइरहेको थियो । दुर्गन्धको कारण ती केटी बारम्बार बान्ता गरिरहेकी थिइन् । उनी घाइते मात्रै भएकी थिइनन्, उनको आत्मसम्मान पनि खोसिएको थियो ।

उनको हालत देखेर मेरा आँखा आँसुले भरिए । तर, मैले आँसु पुछेँ र उनको उपचार गरेँ । त्यसपछि केहीबेर त्यहाँ एम्बुलेन्स आउन छाडे । एम्बुलेन्सहरूलाई हामी रहेको ठाउँमा आउनबाट रोकिएको सुन्यौँ । हाम्रो सहयोगको जरुरत भएका घाइतेहरू हामीसम्म आउन नपाउने चिन्ताले पिरोल्न थाल्यो । तर, कुनै कारण त्यो समस्या समाधान भयो र अर्काे खेपका घाइतेहरू ल्याइए । हामी हतारहतार तिनको निरीक्षण र उपचारमा लाग्यौँ । अर्काे सिफ्टका लागि एमएसएफको नयाँ टोली नआउँदासम्म हामीले निरन्तर घाइतेहरूको उपचार गरिरह्याे । रेडक्रसको टोलीले घाइतेहरू ओसारी नै रहे । त्यहाँ प्यारामेडिक (चिकित्सा सहायक)हरूको अथक उपचारले मलाई साँच्चै अचम्मित तुल्याएको छ, जो वर्षाैंदेखि यहाँका दुःखी मानिसलाई प्राथमिक उपचार मात्रै होइन, सफलतापूर्वक गम्भीर उपचारसमेत दिइरहेका छन् । यहाँका प्यारामेडिकहरूले विशेषगरी इजरायलसँग दिनहुँजसो हुने हिंसाबाट घाइतेहरूको उपचार व्यवस्थापन अनवरत गरिरहेका छन् । उनीहरूले त्यहाँ गरिरहेको काम, तिनको सहनशक्ति र तिनले देखाएको आशाको ज्योतिको बखान शब्दबाट गरिसाध्य छैन ।

यहाँको हिंसाबाट प्रभावितहरू कुनै न कुनै हिसाबले यसैका लागि योग्य छन् भन्ने भाष्य बिलकुलै गलत छ । सोमबार मैले त्यहाँ देखेका, उपचार गरेकाहरू साना–साना बालबालिका, महिला र पुरुषहरू थिए, जो म र मेरा परिवारका मानिसजस्तै थिए । ती प्यालेस्टिनी पनि मानिसै थिए । 

(थुर्ले डक्टर्स विदाउट बोर्डर्सकी मेडिकल कोअर्डिनेटर हुन्)
अलजजिराबाट