१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १ शनिबार १६:१६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेपालमा २५ लाखले लगाए कोरोनाविरुद्धको खोप, ९० प्रयोगशालामा पिसिआर परीक्षण

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १ शनिबार १६:१६:००

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा २५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप लगाइसकिएको बताउनुभएको छ । अधिकारीले खोप लगाउने क्रम जारी रहेको बताए । 

नेपालमा हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको उनले जानकारी दिए । शनिबार पत्रकारसँग कुरा गर्दै अधिकारीले हालसम्म भारत सरकारले उपहारस्वरूप दिएको कोभिसिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिसिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार डोज प्राप्त भएको र नेपाली सेनालाई एक लाख डोज प्राप्त भएको गरी २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप प्राप्त भएको बताए । 

त्यस्तै, चीनबाट आठ लाख डोज भेरोसेल खोप प्राप्त भई जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको उनले बताए । त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको र बाँकी रहेको खोप लगाउने क्रम जारी रहेको डा. अधिकारीले बताए । 

भारतसँग २० लाख डोज खोप खरिद गरेको भए पनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए । यद्यपि, भारतसँग छलफल भइरहेको र छिट्टै खोप आउने उनले बताए । 

९० प्रयोगशालामा पिसिआर परीक्षण
कोरोना संक्रमण दिनप्रतिदिन बढिरहेको सम्बन्धमा देशभरि ९० वटा प्रयोगशालाबाट पिसिआर परीक्षण भइरहेको अधिकारीले बताए । अहिले एन्टिजेन परीक्षणमा पजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरूको पिसिआर परीक्षण भइरहेको छ । पिसिआरको दायरा बढाउने तयारीमा सरकार रहेको उनको भनाइ छ । अहिले निजी तथा सरकारी प्रयोगशालाहरूबाट परीक्षण भइरहेको छ । 

स्वास्थ्य सामग्रीको अवस्था
सहप्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालाहरूलाई आवश्यक स्वास्थ्य सामग्री तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए । संक्रमणको दर बढ्दै जाँदा मौज्दातमा असर पर्ने भएकाले आवश्यक स्वास्थ्य सामग्री ल्याउन स्वास्थ्य मन्त्रालयले विभिन्न निकायसँग छलफल गरिरहेको उनले बताए । अहिले आवश्यक पर्ने परीक्षणका सामग्री, उपचार सामग्री र अन्य आवश्यक सामग्रीको सहयोगका लागि विभिन्न निकाय, दाताहरूलाई पत्राचार गरिएको उनले जानकारी दिए ।