मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १ शनिबार ०६:२०:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

काठमाडौं र ललितपुर महानगरले तोके भेरोसेलको दोस्रो डोज लगाउने मिति 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १ शनिबार ०६:२०:००

काठमाडौं र ललितपुर महानगरपालिकाले गत २५ चैतदेखि १५ वैशाखसम्म भेरोसेल (चिनियाँ) खोपको पहिलो डोज लिएका नागरिकलाई दोस्रो डोज लगाउने मिति तोकेका छन् । यसका लािग प्रत्येक वडामा एक–एक खोपकेन्द्र तोकिएका छन् । १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकले यो अवधिमा पहिलो डोज लिएका थिए । 

२५ देखि २८ चैतसम्म पहिलो डोज लगाएकालाई २ जेठमा तथा २९ र ३० चैतमा पहिलो डोज लिएकालाई ३ जेठमा दोस्रो डोज लगाइनेछ । त्यस्तै, ३१ चैत र २ वैशाखमा पहिलो खोप लगाएकालाई ४ जेठमा तथा ३ र ४ वैशाखमा पहिलो खोप लगाएकालाई ५ जेठमा दोस्रो डोज दिइएको छ । ५ र ६ वैशाखमा पहिलो डोज लिएकालाई ६ जेठमा, ७ देखि १० वैशाखसम्म पहिलो खोप लगाएकालाई ७ जेठमा, ११ र १२ वैशाखमा पहिलो डोज लिएकालाई ८ जेठमा तथा १३, १४ र १५ वैशाखमा पहिलो खोप लिएकालाई क्रमशः ९, १० र ११ जेठमा दोस्रो डोज दिइनेछ ।

२५ चैतपछि पहिलो डोज लगाए पनि संक्रमण पुष्टि भएका तथा अहिले लक्षण देखिएका व्यक्तिलाई महानगरले दोस्रो डोजको अभियानमा सहभागी नगराउने भएको छ । महानगरको जनस्वास्थ्य विभागले शुक्रबार वडा क्लिनिक इन्चार्जहरूसँग गरेको भर्चुअल बैठकमा त्यस्ता व्यक्तिका विषयमा फेरि निर्णय हुने बताएको छ । ‘माथिल्लो निकायबाट भएको निर्देशनबमोजिम हामीले दोस्रो डोजको खोप सञ्चालन गर्न लागेका हौँ । यसबीचमा केही नयाँ निर्णय भएछ भने हामी तत्काल परिपत्र र योजना पठाउँछौँ,’ विभागका प्रमुख हरिबहादुर कुँवरले भने ।

ललितपुर महानगरपालिकाले पनि तोक्यो मिति
ललितपुर महानगरपालिकाले पनि दोस्रो डोज लगाउने मिति तोकेको छ । जिल्ला खोप समन्वय तथा अनुगमन समितिको शुक्रबारको निर्णयअनुसार २५ देखि २८ चैतसम्म पहिलो डोज लिएकालाई ६ जेठमा दोस्रो डोज दिइनेछ । त्यस्तै, २९ देखि ३१ चैतसम्म पहिलो डोज लिएकालाई ७ जेठमा दोस्रो डोज दिइनेछ । 

त्यस्तै, १ देखि ४ वैशाखसम्म पहिलो डोज लिएकालाई ९ जेठमा, ५ देखि ९ वैशाखसम्म पहिलो डोज लिएकालाई १० जेठमा, १० देखि १३ जेठसम्म पहिलो डोज लिएकालाई ११ जेठमा, १४ वैशाखमा पहिलो डोज लिएकालाई १२ जेठ र १५ वैशाखमा पहिलो डोज लिएकालाई १३ जेठमा दोस्रो खोप दिइनेछ । खोप लगाउन बिहान १० देखि अपराह्न ४ बजेसम्मको समय तोकिएको छ । खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड र परिचय खुल्ने परिचयपत्र आवश्यक गरिएको छ ।