१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ३१ शुक्रबार ०८:०८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेप्से दोहोरो अंकले बढ्दा कारोबार रकम ७ अर्बमाथि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ३१ शुक्रबार ०८:०८:००

फाइनान्स कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढ्यो

साताको अन्तिम सेयर कारोबारमा फाइनान्स कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ । नेप्से परिसूचक १० दशमलव १३ अंकले बढेर २ हजार ६ सय ८४ दशमलव शून्य १ बिन्दु पुग्दा लगानीकर्ता फाइनान्सतर्फ बढी आकर्षण हुन पुगेका हुन् ।

फाइनान्स समूहको सूचक ४ दशमलव ६८ प्रतिशतले बढेको छ भने हाइड्रोपावर, डेभलपमेन्ट बैंक समूहको सूचक पनि उच्च रहेको छ । प्रोगेसिभ फाइनान्स, समृद्धि फाइनान्स, वेस्ट फाइनान्स, सेन्ट्रल फाइनान्स, रिलायन्स फाइनान्स कम्पनीहरूको सेयरमा करिब १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । यी कम्पनीका सेयरधनीले उच्च नाफा कमाउन सफल भएका छन् । त्यस्तै, ‘क’ वर्गको कम्पनीमापक सेन्सेटिभ इन्डेक्स १ दशमलव १२ अंकले बढेर ४ सय ७८ बिन्दुमा पुगेको छ ।

यस दिन सबैभन्दा धेरै बढ्नेमा दिव्यश्वरी हाइड्रोपावरको १० प्रतिशतले सर्किट लेभलमा कारोबार भएको छ भने समता घरेलु लघुवित्त वित्तीय संस्था, विशाल बजार कम्पनीको पनि सर्किट मूल्यमा कारोबार भएको छ । त्यस्तै, रुरु जलविद्युत्को पनि साताभरि नै सर्किट मूल्यमा कारोबार हुँदै आएको छ भने सांग्रिला डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर कम्पनी यस दिन बढेको छ । सबैभन्दा धेरै गुमाउने कम्पनीमा रिडी हाइड्रोपावरका लगानीकर्ता रहेका छन् । उनीहरूले २ प्रतिशतले गुमाएका छन् भने बिमा कम्पनी, सिभिल लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदी हाइड्रोपावरलगायतका कम्पनीको सेयर मूल्य १ प्रतिशतले घटेको छ । 

सेयर बजार बुलिस ट्रेन्डमा रहेको, कोभिडको समयमा पनि रेमिट्यान्स बढेको  सेयर बजार  करेक्सन पार गरेर फर्केको अवस्था भएकाले लगानीकर्ता अत्तिनुनपर्ने नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । राजनीतिक प्रभावले पनि कुनै असर नपर्ने र सबै घरमै बसेर लगानी गर्ने अवसर भएकाले पनि बजार सही गतिमै रहेको रौनियारको भनाइ छ ।  

यस दिन धितोपत्र र ऋणपत्र गरी कारोबारमा आएका २ सय १८ कम्पनीको २ करोड १९ लाख कित्ता सेयर किनबेच हुँदा ७ अर्ब १२ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ । यस दिन सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा नेपाल रिइन्स्योरेन्स रहेको छ । कम्पनीको यस दिन ४९ करोड ४ लाख रुपैयाँको कारोबार भएको छ भने दोस्रो कारोबार हुने कम्पनीमा नेसनल हाइड्रोपावर कम्पनी रहेको छ । कम्पनीको २५ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अरुण काबेली पावर कम्पनीको २१ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ ।