१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
प्रधानमन्त्री केपी ओली र एमाले वरिष्ठ नेता माधव नेपाल पार्टी विवाद टुंग्याउन निर्णायक वार्तामा
शुरोजंग पाण्डे काठमाडाैं
२०७८ बैशाख ३१ शुक्रबार ०६:१९:००
Read Time : > 3 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

विभाजनबाट जोगियो एमाले

Read Time : > 3 मिनेट
२०७८ बैशाख ३१ शुक्रबार ०६:१९:००

ओली–नेपाल युटर्नमा विष्ट र बाँस्कोटा निर्णायक सन्देशवाहक

सर्वोच्च अदालतको फैसलाबमोजिम पार्टीलाई तीन वर्षअघिको संरचनामा फर्काउनुपर्ने वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको माग सम्बोधनका लागि कार्यदल बनाउन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली सहमत भएसँगै एमाले विभाजनबाट जोगिएको छ । पार्टी एकता जोगाउन एमालेलाई २ जेठ ०७५ को अवस्थामा फर्काउनुपर्ने र २८ फागुनयता संस्थापन पक्षका निर्णय खारेज हुनुपर्ने नेपाल–खनाल समूहको सर्त सम्बोधनका लागि कार्यदल बनाएर समाधान खोज्न प्रधानमन्त्री ओलीले सहमति जनाएपछि विभाजनको गम्भीर संकटबाट एमाले जोगिएको हो । 

सञ्चार उद्यमी रामेश्वर थापाको चपलीस्थित निवासमा ओली–नेपालबीचको करिब चार घन्टाको छलफलले आन्तरिक समस्या समाधानका लागि दश सदस्यीय कार्यदल गठन गर्ने सहमति भएको छ । जसअनुसार संस्थापन पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल तथा नेपाल–खनाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल र भीम रावलको नाममा समझदारी जुटेको छ । बाँकी दुई सदस्य पूर्वमाओवादी केन्द्रका नेताहरूलाई समेटेर कार्यदललाई पूर्णता दिने उनीहरूबीच समझदारी छ । छलफलपछि वरिष्ठ नेता नेपालले पार्टीभित्रको आन्तरिक विवाद मिल्ने दिशामा अगाडि बढेको बताए ।

‘पार्टीको समस्या समाधान गर्ने विषयमा हामीले आ–आफ्ना विषय राख्यौँ । मैले वैशाख २६ गते कमरेड केपी ओलीलाई पठाएको पत्रमा उठाएको जुन ६बुँदेका विषयमा छलफल भयो,’ नेपालले सञ्चारकर्मीसँग भने, ‘छलफलपछि फागुन २८ गतेको निर्णय फिर्ता गर्ने र सर्वोच्च अदालतको फैसलाबमोजिम पार्टीलाई २ जेठको अवस्थामा पु¥याउने, पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने तरिकाबारे सहमति भएको छ ।’ उनले कार्यदल बनाएर समाधान खोज्नेमा सहमति जुटेको जानकारी दिए । छलफल सकारात्मक दिशामै अगाडि बढेकाले दुईचार दिनका लागि सामूहिक राजीनामाको सम्भावना टरेको र सहमतिको आधारमै सबै विषय टुंगो लगाउने प्रयास गरिने पनि नेपालले प्रस्ट्याए ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि दुई महिनाको निरन्तर प्रयासपछि अन्ततः प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपाल पार्टीलाई एकतासहित अगाडि बढाउने निष्कर्षमा पुगेका हुन् । दुवैतर्फका दोस्रो तहका नेताहरूको प्रयासमा पछिल्लोपटक ८ र ९ वैशाखमा मेरिट होटेलमा भएको ओली–नेपाल वार्ता असफल भएपछि एमाले विभाजनको दिशामा अगाडि बढेको थियो ।

तर, नेपाल–खनाल समूह फुटेर जाँदा तत्कालका लागि सरकारको नेतृत्व मात्र गुम्ने मात्र होइन, ‘अर्ली इलेक्सन’मा जाने रोडम्यापमा पनि धक्का पुग्ने र चुनावी परिणाम विपक्षमा जाने आफ्नैतिरका दोस्रो र तेस्रो तहका नेता तथा सांसदको विश्लेषण र दबाबले प्रधानमन्त्री ओली अप्ठ्यारोमा पर्दै गएका थिए । त्यही कारण उनले नेपाल–खनाल समूहलाई ‘इंगेज’मा राख्न निरन्तर विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुवास नेम्वाङ, डा. राजन भट्टराईलगायतका नेतालाई जिम्मेवारी नै दिएका थिए । 

उता, नेपाल–खनाल समूहमा नेपाल, खनाल, भीम रावलसहित समूहका वरिष्ठ नेता ओलीलाई प्रधानमन्त्रीबाट हटाउन जसरी पनि विकल्प खोज्नुपर्ने र त्यसका लागि धेरै ढिलाइ हुँदै गएको निष्कर्षमा थियो । तर, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईसहितका नेताहरू भने त्यो बाटोबाट जाँदा पार्टी विभाजन हुने भन्दै ‘फेस सेभिङ’का लागि नेपालकै अनुमतिमा संस्थापन पक्षका दोस्रो तहका नेताहरूसँग निरन्तर वार्तामा बसेका थिए । 

पछिल्लोपटक २३ वैशाखमा दुवैतर्फका दोस्रो तहका नेताबीच बालुवाटारमा गम्भीर वार्ता पनि भएको थियो । तर, ओली नेपाल–खनालको माग पूरा गर्न तयार नदेखिएपछि इतर पक्ष कांग्रेससहितको विपक्षी गठबन्धनलाई सरकार बनाउन सहयोग गर्ने गरी सामूहिक राजीनामा दिनसमेत तयार भएको थियो । तर, ओली र इतर पक्ष दुवैतर्फ मिल्न दबाब दिँदै आएका थिए । नेपाल–खनाल समूहका बहुमत सांसद पनि सामूहिक राजीनामाको विपक्षमा उभिएका थिए । जसले गर्दा दुवै पक्ष दबाबमा परेको थियो । 

राजीनामा दिँदा सबै ढोका बन्द हुने भएकाले विकल्प खोज्न ओलीको सन्देशकै कारण २७ वैशाखमा नेपाल पक्ष अघि बढ्नबाट रोकिएर संसद्को मतदानमा अनुपस्थित हुने निर्णयमा पुगेको थियो । तर, त्यसयता कुनै संवाद नबढेपछि बिहीबार राजीनामा दिने तयारीमा पुगिसकेका नेपाल–खनाल समूह प्रधानमन्त्रीको अन्तिम सन्देशपछि ‘युटर्न’ भएको थियो । 

प्रधानमन्त्री ओलीको त्यस्तो निर्णायक सन्देशसहित बुधबार साँझ पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा नेपालनिवास कोटेश्वर पुगेका थिए । पूर्वमन्त्री गोकर्ण विष्टसहितको उपस्थितिमा एक घन्टाको कुराकानीमा बाँस्कोटाले ओलीको सन्देश दिए, ‘मिल्ने नै हो भने पार्टीलाई २ जेठ ०७५ को अवस्थामा फर्काउन प्रधानमन्त्री पनि तयार हुनुहुन्छ । तर, त्यसका लागि बिहीबार २ बजे उहाँसँग निर्णायक वार्ता गर्नुपर्छ ।’ 

उनले त्यसका लागि नेपाल पक्षले सामूहिक राजीनामा नदिने, संस्थापनले कारबाही फिर्ता गर्ने, समाधानका लागि कार्यदल बनाउने र ओली–नेपालले अन्तिम वार्ता गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, बाँस्कोटाको त्यस्तो सन्देश नेपालले तत्कालै पत्याउन सकेनन् । त्यसैले नेपाललाई विश्वस्त बनाउन लामो भूमिका नै बाँधेको बाँस्कोटालाई उद्धृत गर्दै स्रोतले बतायो । 

बाँस्कोटाले पनि आफूले पार्टी एकता जोगाएर लैजान सकिने विषयमा नेपाललाई आश्वस्त पार्ने कोसिस गरेको स्वीकार गरे । ‘अहिलेको विशाल एमाले बनाउन कम्युनिस्ट आन्दोलनको रक्षा र विकास गर्दै आजको स्थितिमा ल्याउने कामको नेतृत्व तपाईंहरूले नै गर्नुभएको हो, आफूलाई कोकेदेखिको संस्थापक भन्नुहुन्छ, तर अहिले आन्दोलनको रक्षा गर्ने कि नगर्ने मूल प्रश्न खडा भएको अवस्थामा तपाईंहरू कसैले पनि आन्दोलनलाई धोका दिनुहुँदैन भनेको हुँ,’ कुराकानीको सार उद्धृत गर्दै बाँस्कोटाले भने, ‘पार्टीभित्र अन्तर्संघर्ष चलिराख्छ, तपाईं नेतृत्वमा हुँदा पनि चलेकै थियो, आज पनि चलेको छ, यसलाई इगोको विषय नबनाई आन्दोलनको रक्षा गर्ने, पार्टी एकता जोगाउन लाग्ने हो भने कुरा मिलिहाल्छ ।’

बाँस्कोटाको यस्तो प्रस्तावपछि नेपालले आफू सकारात्मक रहेकाले पुनर्विचार गर्ने जवाफ फर्काएका थिए । तर, पुनर्विचारको सट्टा बिहीबार दिउँसो २ बजे भेटेर सहमति गर्न प्रधानमन्त्री तयार भइसकेको बाँस्कोटाले सन्देश दिएका थिए । ‘तपाईंको कुराबाट म सकारात्मक बनेँ, म पुनर्विचार गर्छु,’ नेपालको यस्तो जवाफपछि बाँस्कोटाको भनाइ थियो, ‘पुनर्विचार होइन, भोलि नै २ बजे बैठक गरौँ, प्रधानमन्त्री सहमतिका लागि तयार हुनुहुन्छ ।’ 

त्यसपछि पनि नेपालले सहमतिका लागि वातावरण बन्नुपर्ने अडान राखेपछि २ जेठमा फर्किने गरी सहमतिको वातावरण बन्ने र आफू पनि सहमतिका लागि तयार रहेको अवगत गराउने जवाफ फर्काएका थिए । नेपाल वार्ताका लागि तयार भएको बाँस्कोटाको सन्देशपछि ओलीले बेलुकी नै कोर टिममा छलफल गरेर कारबाही फिर्ता लिनका लागि बैठक बोलाइएको र पार्टी मिलाउन कार्यदल बन्ने सन्देशसहित विष्णु पौडेललाई कोटेश्वर निवास पठाएका थिए ।

बाँस्कोटासँगै नेपालसँग कुराकानी गरेका विष्टले पनि प्रधानमन्त्री निर्णायक वार्ताबाट सहमति गर्न तयार भएको सन्देश सुनाएका थिए । नेपालको अनुमतिमा बालुवाटार पुगेका विष्टले पनि बाँस्कोटाकै शैलीमा सहमतिको वातावरण बनेको बताएपछि नेपाल बुधबार राति नै सकारात्मक बनेका थिए । बुधबार राति र बिहीबार बिहान ओली–नेपाल टेलिफोन वार्तापछि वार्तास्थल र समय तय भएको थियो ।

बाँस्कोटा, विष्ट र पौडेलसँग नेपालले गरेको संवादपछि बिहीबार बिहान स्थायी समिति बैठक बोलाएर संस्थापन पक्षले नेपालसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिना निलम्बन गर्ने कारबाही फुकुवा गरेको थियो । त्यस्तो निर्णयले पार्टी एकताको पक्षमा सकारात्मक प्रभाव पार्ने प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए । ‘हाम्रोतर्फबाट एकताका पक्षमा हदैसम्म प्रयास गरेका छौँ,’ ज्ञवालीले भने, ‘यसले सकारात्मक प्रभाव पर्ने हामीलाई विश्वास छ ।’