मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख ३० बिहीबार १५:१५:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बन्ला बहुमतको सरकार ? कांग्रेस भन्छ, ‘अझै समय छ, सम्भावना छ’

Read Time : > 2 मिनेट
२०७८ बैशाख ३० बिहीबार १५:१५:००

राष्ट्रपतिसमक्ष दुई वा दुईभन्दा बढी दल मिलेर बहुमतको प्रधानमन्त्री बन्न दाबी पेस गर्ने समयसीमा अब केही घन्टा मात्रै बाँकी छ । तर, प्रधानमन्त्रीका लागि कसैको दाबी पर्ने वा नपर्ने कुनै निश्चित भइसकेको छैन । 

राष्ट्रपतिलाई बहुमतको सरकार गठनको आह्वान गर्न माग गरेका विपक्षी दलहरू कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)कै बीचमा प्रधानमन्त्री केपी ओलीको विकल्प खोज्न सहमति जुटिसकेको छैन । यद्यपि अन्तिम आवरमा नेताहरू भने ओलीको बहिर्गमनकै लागि तीन दलबीच सहमति जुटाउने दौडधुपमा छन् । 

विपक्षी दल कांग्रेस, माओवादी केन्द्र र जसपाको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि आफ्नो पक्षमा बहुमत पु¥याउन कसरत गरिरहेका छन् । देउवाले आफ्नो पक्षमा बहुमत पु¥याउन एमालेकै माधव नेपाल समूहको राजीनामा वा जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहलाई मनाएर बहुमत पु¥याउने कोसिस गरिरहेका छन् । 

बिहीबार मध्याह्न देउवाले जसपाका अध्यक्ष ठाकुर र नेता महतोलाई आफ्नै निवासमा बोलाएर छलफल गरेका छन् । भेटपछि कांग्रेस, माओवादी केन्द्र र सिंगो जनता समाजवादी पार्टीबीच गठबन्धनको सम्भावना बढेको एक नेताले बताए । ‘छलफल सकारात्मक छ, साँझसम्म एउटा निर्णयमा पुग्छौँ र बहुमतको सरकारका लागि दाबी पेस गर्छौँ,’ ती नेताले भने । 

स्रोतका अनुसार ठाकुर र महतोसँगको भेटमा देउवाले आफ्नो नेतृत्वमा सिंगो जसपालाई लिएर बहुमतको सरकार बनाउन सहमतिका लागि आग्रह गरेका छन् । तर, ठाकुरले त्यसका लागि अस्वीकार गरेका छन् । उनीनिकट एक नेताका अनुसार ठाकुरले आफ्नो नेतृत्वमा सरकार बनाउने भए त्यसबारेमा सोच्न सकिने बताएका छन् । यसअघि पनि प्रधानमन्त्रीका लागि महन्थ ठाकुरको नाम चर्चामा आइरहेको थियो ।
 
अब जसपाले नै उनलाई अघि सारेको अवस्थामा देउवाले उनलाई अघि सारेर अघि बढ्लान् कि नबढ्लान ? देउवाले ठाकुरसँगको भेटपछि अपराह्न चार बजे शीर्ष नेताहरूको बैठक बोलाएका छन् । 

‘अहिले ओलीको बहिर्गमन मुख्य कुरा हो, त्यसका लागि अन्य दलसँग छलफल गरेर टुंगोमा पुग्न हामीले सभापतिजीलाई जिम्मा दिएका थियौँ, फेरि अहिले बैठक बोलाउनुभएको छ, खै के कुरालाई हो ?’ एक शीर्ष नेताले भने । ती नेताका अनुसार कांग्रेसको अहिलेको प्राथमिकता आफ्नो नेतृत्वको सरकारभन्दा पनि ओलीको बहिर्गमन हो । ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन, ओलीको बहिर्गमन हो, त्यसैले महन्थजीलाई अघि सारेर पनि जान सकिन्छ, हामी त तयार नै हुन्छौँ, सभापतिजीले के गर्नुहुन्छ ?’ ती नेताले भने । 

स्रोतका अनुसार देउवा आफैँ पनि एमाले सांसदहरूलाई राजीनामा गराएर बहुमत पु¥याउनभन्दा सिंगो जसपासँग मिलेर प्राकृतिक समीकरणमार्फत सरकार बनाउन चाहन्छन् । ‘माधवजीहरूले अहिले राजीनामा दिएर बहुमत त पुग्ला । तर, जसपा एकढिक्का नभएसम्म त्यहाँ सांसदहरूको खरिद–बिक्री भइरहन सक्छ, त्यसैले सकेसम्म जसपालाई एकढिक्का बनाएर उसैसँग गठबन्धन गर्ने प्रयास भइरहेको छ,’ देउवानिकट एक नेताले भने । 

अहिले बहुमत पु¥याएर प्रधानमन्त्री नियुक्त भए पनि एक महिनापछि विश्वासको मत लिनुपर्छ । त्यसवेला जसपाको ठाकुर–महतो समूहले उपेन्द्रका सांसद खोसेको अवस्थामा विश्वासको मत लिन नसकिने देउवाको विश्लेषण छ । 

ओलीको विकल्प खोज्न देउवा साँच्चिकै सिरियस भएको अवस्थामा महन्थ ठाकुर पनि प्रधानमन्त्री बन्न सक्ने ती नेताको भनाइ छ । 

राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसारको सरकार गठनका लागि गरेको आह्वान आजै राति ९ बजे सकिन्छ । त्यसवेलासम्म विपक्षी दलबीच सहमति भए मुलुकको प्रधानमन्त्री देउवा र ठाकुर बन्न सक्नेछन् । कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति भए प्रतिनिधिसभामा कांग्रेस ६१, माओवादी केन्द्र ४९ र जसपा ३२ गरी १४२ सांसद बहुमतको सरकारको पक्षमा हुनेछन् । नभए संविधानको धारा ७६ (३) बमोजिम पुनः केपी ओली नै तेस्रोपटक प्रधानमन्त्री बन्नेछन् । 

विपक्षी दल बहुमत पु¥याउन लागिरहेका वेला प्रधानमन्त्री ओली भने आज राति ९ बजेसम्म बहुमतको प्रधानमन्त्रीका लागि कसैका पक्षमा पनि बहुमत पु¥याउन नदिने र आफैँ ठूलो दलको हैसियतले पुनः प्रधानमन्त्री नियुक्त हुने दाउमा छन् । ओलीले आफ्नै पार्टीमा लचिलो बनेर प्रस्तुत भए उनकै पक्षमा बहुमतको सरकारका लागि संख्या पुग्न सक्थ्यो । विडम्बना उनी बहुमतको सरकार बनाउनभन्दा पनि विपक्षीलाई बहुमत पु¥याउन रोक्नका लागि सक्रिय छन् ।

विपक्षी गठबन्धनले आफ्नै पार्टीको माधव नेपाल समूहका सांसदहरूलाई राजीनामा गराएर आफ्नोविरुद्धको सरकार बनाउने भएपछि ओलीले बिहीबार एकाएक नेताहरूमाथिको कारबाही फुकुवा गरेका छन् । लगत्तै राजीनामा रोक्नकै लागि वार्ता र छलफल चलिरहेको छ ।