१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख ३० बिहीबार ०८:०७:००
Read Time : > 1 मिनेट
सम्पादकीय प्रिन्ट संस्करण

इतिहासले धिक्कार्नेछ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख ३० बिहीबार ०८:०७:००

एक सातायता तीव्र रूपमा बढेको कोरोना संक्रमण र त्यसबाट गम्भीर रूपमा प्रभावित बिरामीहरूको संख्यालाई नेपालको स्वास्थ्य क्षेत्रका संरचनाले थेग्न सकिरहेको छैन । यसले आँखा अघिल्तिर त्यस्तो भयानक मानवीय त्रासदीको चित्र प्रस्तुत गरिरहेको छ, जुन हेरेर सबैको आङ सिरिंग हुँदै छ । खासगरी अस्पतालले बिरामीका लागि आवश्यक पर्ने अक्सिजन समयमा उपलब्ध गराउन नसक्दा र सिकिस्त बिरामीले अस्पतालमा भर्ना हुन नपाउँदा बिरामीको ज्यान गइरहेको छ । मृतक संख्या दैनिक ५०–६० को हाराहारीबाट दुई सयनजिक पुग्न थालेको छ । यसरी मृत्यु हुनेको संख्यामा ती पनि छन्, जसले समयमा स्वास्थ्य उपचार र सहयोग पाएको भए बाँच्न सक्ने थिए । 

आपत्कालीन संरचना बनाउन, त्यसलाई चाहिने जनशक्तिको व्यवस्थापन गर्न अझै सकिन्छ । त्यो सबै गर्नका लागि सरकार र राजनीतिक दलमा चाहिने भनेकै साझा संकल्प हो । साझा इच्छाशक्ति हो । अब पटक्कै ढिला नगरौँ, नत्र इतिहासले धिक्कार्नेछ ।

यसबीच सबैभन्दा ठूलो चुुनौती अक्सिजनको देखिएको छ । त्यसैगरी दैनिक चार हजार आसपास काठमाडौं उपत्यकामा मात्रै संक्रमित भइरहेका छन् । मंगलबार एउटा सार्वजनिक कार्यक्रममा बोल्दै गंगालाल हृदयरोग केन्द्रका प्रमुख डा. चन्द्रमणि अधिकारीले बिरामी मृत भएर बेड खाली भए मात्र अर्कोलाई भर्ना लिन सकिने अवस्था रहेको भनेर वर्तमान अवस्थाको भयावह चित्र प्रस्तुत गरेका थिए । विश्वभरका सञ्चारमाध्यममा नेपालको दारुण चित्र देखिने समाचार आउन थालेका छन् । प्रधानमन्त्री ओलीले सिएनएनलाई दिएको अन्तर्वार्तामा परिस्थिति काबुमा रहेको बताएकै भोलिपल्ट विश्वलाई सहयोगको अपिल गरेका थिए । कोरोनाले सिर्जना गरेको मानवीय संकटले एउटा प्रश्न उठाइदिएको छ– नेतृत्वले दृढ इच्छाशक्ति देखाएको भए के यो महामारीलाई व्यवस्थापन गर्न सकिँदैनथ्यो ?

नेपाल विश्वकै गरिब देशहरूमा पर्ने भए पनि हाम्रो राज्य संरचना भताभुंग भएको होइन । संघदेखि स्थानीय तहसम्म निर्वाचित र कामकाजी सरकार छन् । निर्वाचित संसद् छन् । सेवा प्रवाह गर्ने निजामती प्रशासनका एकाइहरू वडा तहसम्म फैलिएका छन् । स्वास्थ्य सेवाका संस्था र संरचना पनि वडा तहसम्म नै छन् । झन्डै दुई लाखभन्दा धेरैको सैन्य जनशक्ति छ । सहकारी संस्था, विद्यालय, राजनीतिक दलहरू र सामाजिक संघसंस्थाहरू छन् । हरेक नागरिक कुनै न कुनै सामाजिक, राजनीतिक र प्रशासनिक सञ्जालमा संगठित छन् । साथै सरकारले बजेट खर्च गर्न नसकेर थन्केर बसेको छ । यस्तोमा सरकारले चाहँदा यी सबै संरचनासँग सहकार्य गरेर महामारीलाई परास्त गर्न ठोस नीतिसहित काम गर्न सक्थ्यो ।

सरकारले चाहँदा अक्सिजन प्लान्टलाई कोरोनाकै उपचारका लागि उत्पादन गर्न लगाउन सक्थ्यो । आपत्कालीन संरचना बनाउन, त्यसलाई चाहिने जनशक्तिको व्यवस्थापन गर्न अझै सकिन्छ । त्यो सबै गर्नका लागि सरकार र राजनीतिक दलमा चाहिने भनेकै साझा संकल्प हो । साझा इच्छाशक्ति हो । यति हुन सकेमा संक्रमणको दर ओह्रालो लाग्ने निश्चित छ । यसको पहल सरकारले अथवा राजनीतिक दलले लिनु जरुरी छ । नत्र समय घर्किनेछ र हामीसँग पछुतो गर्नुबाहेकको विकल्प रहनेछैन । अब पटक्कै ढिला नगरौँ, नत्र इतिहासले धिक्कार्नेछ ।