मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २९ बुधबार ११:२५:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

चीनबाट आइपुगे अक्सिजन सिलिन्डर र भेन्टिलेटर

चिनियाँ दुताबासले भन्यो : थप सहयोग जम्मा गर्दैछौं 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २९ बुधबार ११:२५:००

चीन सरकारले अनुदानमा दिएका चार सय अक्सिजन सिलन्डिर, १० भेन्टिलेटर नेपाल एयरलाइन्सको जहाजले बेइजिङबाट मंगलबार काठमाडौं ल्याएको छ । चीनले सहायता घोषणा गरेको ५० लाख चिनियाँ युयान मूल्यबराबरका सामग्रीमध्ये पहिलो चरणमा नेपालले प्राप्त गरेको हो । नेपाल एयरलाइन्सको यही उडानबाट होङ्सी सिमेन्टका तर्फबाट उपलब्ध गराइएको एक सय ७० अक्सिजन कन्सन्ट्रेटरसमेत ल्याइएको छ । 

चिनियाँ स्टेट काउन्सिलर वाङ यीले १४ वैशाखमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई ५० लाख चिनियाँ युयानबराबरका स्वास्थ्य सामग्री आपतकालीन सहायताका रूपमा उपलब्ध गराउने घोषणा गरेका थिए । त्यसपछि नेपाली र चिनियाँ कूटनीतिक अधिकारीबीच छलफल भएको थियो । त्यहीअनुसार चीन सरकारले अनुदान उपलब्ध गराएको हो ।

चीन सरकारले घोषणा गरेको ३५ सयमध्ये ३१ सय अक्सिजन सिलिन्डर दुई सातापछि ल्याउने नेपालको तयारी छ । दोस्रो चरणमा हवाईजहाजमा १६ सय तथा तेस्रो चरणमा स्थलमार्गबाट १५ सय अक्सिजन सिलिन्डर ल्याउने तयारी छ । नेपालले २० हजार थान अक्सिजन सिलिन्डर माग गरे पनि त्यो संख्यामा उपलब्ध गराउन नसक्ने जवाफ चीनले दिएको कूटनीतिक स्रोतले जनाएको छ । 

‘नेपालमा कोभिड– १९ को परिस्थिति बिग्रँदै गएको देखिएको छ र नेपालले महामारीविरुद्ध मेडिकल उपकरणको अभाव सामना गर्नुपरेको छ । महामारीविरुद्ध नेपाली जनताको लडाइँमा चीन सरकारले मेडिकल उपकरणहरूको आपतकालीन सहायता उपलब्ध गराउने निर्णय भएबमोजिम सामग्रीहरू उपलब्ध गराइएको हो,’ मंगलबार चिनियाँ दूतावासका प्रवक्ता वाङ सियालोङले विज्ञप्तिमा भनेका छन् । उनले कोभिड– १९ को महामारीमा चीन र नेपालले एक–अर्कालाई सुखदुःखमा सहयोग गर्दै आएको पनि स्मरण गर्दै आएका छन् । 

प्रवक्ता वाङका अनुसार चीनका विभिन्न तहका सरकार तथा समाजका विभिन्न तप्का नेपालको महामारीको अवस्थाप्रति चिन्तित छन् । ‘उनीहरू आफ्नो क्षमताअनुसारको सहयोग उपलब्ध गराउन तयार छन्,’ वाङले विज्ञप्तिमा भने, ‘उनीहरू नेपालका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराउन परिचालित छन् । यसले नेपाली जनताप्रति चीनको गहिरो मित्रता मात्रै प्रदर्शित गरेको छैन, दुई देशका लागि स्वास्थ्य समुदाय निर्माणको सक्रिय अभ्याससमेत गरेको छ ।’ चिनियाँ दूतावासले चीनका विभिन्न च्यानलबाट उपलब्ध हुने स्वास्थ्य सामग्री तथा सहायता शीघ्रातिशीघ्र उपलब्ध गराउन समन्वय गर्नेसमेत वाङले उल्लेख गरेका छन् ।