मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख २९ बुधबार १०:१२:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

जहाजमार्फत डोल्पा पुर्‍याइयो ओखरका १८ हजार बिरुवा 

Read Time : > 1 मिनेट
२०७८ बैशाख २९ बुधबार १०:१२:००

डोल्पामा बेमौसममा व्यावसायिक ओखरखेतीका लागि भन्दै च्यान्दलर, फिन्क्वाइटलगायतका जातका १८ हजार बिरुवा खरिद गरी जहाजमा ढुवानी सुरु गरिएको छ । क्षेत्रीय कृषि निर्देशनालय सुर्खेतको ९१ लाख ६२ हजार रुपैयाँको अनुदान कार्यक्रमबाट बिरुवा खरिद गरी सोमबारबाट जहाजमा ढुवानी सुरु गरिएको हो ।

सोमबार मात्रै समिट एयरको जहाजमा नेपालगन्जबाट ९ हजार बिरुवा ढुवानी गरेर जुफाल विमानस्थलमा झारिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख शरद लामाले जानकारी दिए । सम्पूर्ण बिरुवा ढुवानीको जिम्मा समिट एयरले लिएकाले बाँकी ९ हजार बिरुवा मंगलबार आइपुग्ने लामाको भनाइ छ । यो समाचार तयार पार्दासम्म भने आइपुगेको छैन ।

टर्कीबाट खरिद गरी समुद्रीमार्ग हुँदै डोल्पासम्म ल्याइपुर्‍याउँदा एउटा ओखरको बिरुवाको मूल्य ५ सय ९ रुपैयाँ परेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लाका सम्पूर्ण ओखर पकेट र ब्लकमा आबद्ध इच्छुक कृषक तथा समूहका लागि बिरुवा वितरणका लागि आइतबार नै सूचना जारी गरिएको कार्यालयको भनाइ छ ।

मंगलबारदेखि नै बिरुवा वितरण धमाधम सुरु गरेर तल्लो डोल्पामा पर्ने मुड्केचुला र जगदुल्ला गाउँपालिका पठाउने कृषि कार्यालयले जनाएको छ । समुद्रपारिबाट ल्याइएको च्यान्दलर जातको ओखरले राम्रोसँग हुर्काउन सके लगाएको एक वर्षमै फल दिने कार्यालको दाबी छ ।

यस वर्ष पनि झन्डै १ करोडका बिरुवा अनुपयुक्त समयमा आएको कृषि प्राविधिकहरूले बताएका छन् । ओखर लगाउने उपयुक्त समय माघ–फागुनमा भए पनि वैशाख अन्तिममा ल्याएर बिरुवा लगाउनु उपयुक्त नभएको प्राविधिकहरूको भनाइ छ ।

कृषि अभियन्ता जीवन शाहीले भने, ‘जुनसुकै जातको ओखर लगाउने समय पनि माघ–फागुन हो । यो समयमा लगाएका बिरुवा हुर्काउन धेरै मिहिनेत गर्नुपर्दैन, यतिखेर ल्याइएका बिरुवा हुकार्उन धेरै मिहिनेत गर्नुपर्छ ।’ ओखरको बिरुवा धेरै संवेदनशील हुने भएकाले हुर्काउन सके असारसम्म पनि ओखर बिरुवा लगाउन सकिने अभियन्ता शाहीको भनाइ छ । ठेक्का प्रक्रियामा गएर खरिद गर्दै ढिला भएको र ओखर बिरुवा लगाउने अनुपयुक्त समयमा बिरुवा आइपुगेको बताइएको छ ।

मिहिनेती कृषकले अहिले लिएका बिरुवा नर्सरीमा हुर्काएर अर्को वर्ष फागुनमा रोप्न सक्ने निमित्त प्रमुख लामाको भनाइ छ । अघिल्लो वर्ष पनि टर्कीबाट १ करोड १२ लाख ५० हजार रकमबराबरका १५ हजार च्यान्दलर जातका ओखरका बिरुवा पुर्‍याइएको कृषि कार्यालयले जनाएको छ । अघिल्लो वर्ष सवा करोडमा ल्याएर वितरण गरिएका ओखरका बिरुवाहरू कतिपय पकेट र ब्लकमा फस्टाए पनि कतै–कतै भने हुर्काउन नसकेर सबै सुकेको बताइएको छ । जिल्लाभरिमा एउटा ब्लक र सातवटा ओखर पकेट क्षेत्र रहेका छन् ।