मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २९ बुधबार ०७:३६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अस्पतालका प्रमुखहरूलाई बोलाएर काठमाडौं महानगरले भन्यो–कोभिडविरुद्ध लड्न सहयोग गर्छौँ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २९ बुधबार ०७:३६:००

कोरोनाको नयाँ भेरियन्ट फैलने क्रम बढेसँगै काठमाडौं महानगरपालिकाले महामारीविरुद्ध लड्न जुनसुकै तवरबाट अस्पतालहरूलाई सहयोग गर्ने बताएको छ । महानगरले मंगलबार काठमाडौंका डेडिकेटेड कोभिड अस्पताल प्रमुखहरूसँग कोभिडविरुद्ध सकेको सहयोग गर्ने प्रतिबद्धता जनाएको हो ।

‘सडक पछि बनाउँला, विकासका काम पछि नै गरौँला । अहिले सबै मिलेर कोभिड संक्रमण रोकौँ । यसबाट हुने मानवीय क्षति रोकौँ । यसका लागि तपाईहरूलाई काठमाडौं महानगरले कस्तो प्रकारको सहयोग गर्नुपर्छ भन्नोस् । हामी सहयोग गछौँ,’ महानगर प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘महामारी नियन्त्रणमा हामीले हात उठाउन मिल्दैन । उपलब्ध साधनस्रोतको उच्चतम उपयोग गरेर महामारी रोकौँ ।’ उनले अहिलेको प्राथमिकता संक्रमण र यसबाट हुने मानवीय क्षति रोक्नु नै भएको बताए । ‘यसका लागि तपार्ईहरूलाई आवश्यक पर्ने थप स्रोतमा हामी सहयोग गर्छौं,’ शाक्यले भने, ‘सहरका कतिपय ठाउँमा आइसोलेसन खोलिएको, तर ती केन्द्रमा बिरामी नगएको सुन्नमा आएको छ । अस्पतालमा बिरामीको चाप घटाउन आइसोलेसनको भूमिका हुनुपर्छ ।’

छलफलमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा.दिनेश काफ्ले, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारी, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालका निर्देशक डा.सागरकुमार राजभण्डारी, निजामती कर्मचारी अस्पतालका निर्देशकहरू डा.विधानिधि पौडेल, डा. विमलकुमार थापा, वीर अस्पतालका निमित्त निर्देशक डा. शान्ता सापकोटा, कान्ति बाल अस्पतालका निमित्त निर्देशक डा.रामहरि चापागाई, प्रहरी अस्पतालबाट डा.दामोदर पौडेल, सशस्त्र प्रहरी अस्पतालका डा. रूपक महर्जन, स्त्री तथा प्रसूति रोग अस्पताल थापाथलीबाट डा. सुनील शर्मा आचार्यलगायतको सहभागिता थियो ।

अस्पतालका प्रतिनिधिहरूले कतिपय बिरामी अस्पताल जानै नपर्ने भए पनि आत्तिएर गएकाले थप चाप बढाएको बताएका थिए । बिरामीको चाप घटाउन अस्पतालहरूसँगको सहकार्यमा आइसोलेसन सेन्टर सञ्चालन गर्न सकिने उनीहरूको भनाइ थियो । जटिल समस्या भएकालाई अस्पताल पठाउने र अन्य बिरामीलाई आइसोलेसन सेन्टरमा राखेर उपचार गराउन सके उपचार व्यवस्थित हुने अधिकांश प्रतिनिधिको भनाइ थियो ।

सरकारी अस्पतालका अधिकारीहरूले भेन्टिलेटर, इन्टेन्सिभ केयर युनिट (आइसियू), हाई डिपेन्डेन्सी युनिट (एचडियू) को संख्या बढाउँदै लगेको र बढाएका संख्या पनि भरिएको जानकारी गराएका थिए । अक्सिजन व्यवस्थापन गर्न कठिन भइरहेको, व्यक्तिगत सुरक्षा सामग्रीको पर्याप्तता, आपतकालीन सेवाका लागि आवश्यक पर्ने सामान खरिदसम्बन्धी प्रक्रिया सहजीकरण गरिदिन, सकेसम्म सामान किनेर उपलब्ध गराइदिएमा सहज हुने उनीहरूको भनाइ थियो ।