१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ बैशाख २५ शनिबार १३:४८:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

कालीमाटी तरकारी बजारकोे व्यापारमा ५० प्रतिशत गिरावट

Read Time : > 1 मिनेट
२०७८ बैशाख २५ शनिबार १३:४८:००

सरकारले कोभिड १९ रोकथामका लागि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेपछि उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी तरकारी बजारको कारोबारमा ५० प्रतिशतले गिरावट आएको छ । निषेधाज्ञा जारी हुनुभन्दा अघि दैनिक झन्डै नाै सय ५० मेट्रिक टन तरकारी भित्रिने गरेको कालीमाटी फलफूल तथा तरकारी बजारमा अहिले चारदेखि पाँच सय मेट्रिक टन मात्रै तरकारी आउने गरेको छ । 

सामान्य अवस्थामा दुई देखि तीन करोडको आर्थिक कारोबार हुने बजारमा अहिले तरकारी खरिद–बिक्रीको कारोबार र मूल्यमा पनि गिरावट आएपछि आर्थिक कारोबारमा पनि ह्रास आएको हो । तरकारी कम आएको भए पनि मूल्य भने बढेको छैन । सामान्यतया तरकारी कम आउनेबित्तिकै बिक्री मूल्य बढ्ने भए पनि यसपटक भने तरकारी किन्ने उपभोक्तामामा पनि कमी आएकाले मूल्यमा पनि गिरावट आएको हो ।

तरकारी बजारमा तरकारीका थोक क्रेताका साथै खुद्रा उपभोक्ताहरूको पनि संख्यामा ५० प्रतिशतले कमी आएको छ । सर्वसाधारणलाई हिँडडुल गर्न सरकारले रोक लगाउनुका साथै तरकारी खरिद–बिक्रीका लागि पनि निश्चित समय निर्धारण गरेपछि कारोबारमा कमी आएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

समितिका सहायक कार्यकारी निर्देशक अर्जुनप्रसाद अर्यालले सामान्य अवस्थाको तुलनामा निषेधाज्ञा जारी भएपछि कारोबारमा झन्डै ५० प्रतिशतले गिरावट आएको बताए । उनले सामान्य अवस्थामा झन्डै नाै सय ५० मेट्रिक टन हरियो तरकारी आउने गरेकोमा अहिले चारदेखि पाँच सय मेट्रिक टन मा झरेको बताए । 

अहिले कालीमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौला, लौकालगायत सिजन तरकारीहरू नेपाली उत्पादनका नै आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ ।

समितिले स्थानीय तहसँगको समन्वयनमा जुनसुकै समयमा कालीमाटीमा तरकारी ल्याउन सक्ने व्यवस्था मिलाएको छ । तर खरिद बिक्रीका लागि भने राती १ बजेदेखि बिहान ९ बजेसम्मको समय तोकेको छ । यसअघि कालीमाटी बजारमा राति ३ बजेदेखि किसान तथा व्यवसायीले तरकारी ल्याउने गरेका थिए ।

किसान, उत्पादक तथा व्यवसायीले खरिद–बिक्रीका लागि रातिको समय लम्ब्याएको भए पनि समयमै तरकारी आउन नसकेको व्यापारीको गुनासो छ । २०५२ सालदेखि कालीमाटी तरकारी बजारमा तरकारी बेच्दै आएका व्यापारी शिवकृष्ण खड्कीले हरियो तरकारी समयमै बेच्न नसक्दा बिग्रिएर कुहिने भएकाले तरकारी खरिद–बिक्रीका लागि समय निर्धारण गरिनु दुःखद भएको प्रतिक्रिया दिए । उनले  निषेधाज्ञापछि हरियो तरकारीको मूल्यमा ५० प्रतिशतले कमी आएको र खरिदका लागि आउने व्यापारी र उपभोक्तामा पनि कमी आएको बताए ।   

यसैबीच,कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कोभिड महामारीबाट बच्न सरकारले निर्धारण गरेका स्वास्थ्य मापदण्ड पालनामा सहजीकरण गर्ने अभियानस्वरूप सूचना प्रकाशन, माइकिङ गरेर भिडभाड नगर्न र दूरी कायम गर्न सचेत गराउने काम पनि गर्दै आएको छ । समितिले बजारभित्र ठाउँमा स्वास्थ्य सतर्कता मापदण्ड अपनाउ आग्रह गर्दे पम्प्लेट टाँसेको छ । त्यसैगरी साबुन पानीले हात धुने व्यवस्था पनि मिलाएको छ ।