मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ११ मंगलबार
  • Tuesday, 25 May, 2021
एजेन्सी टोकियो
२०७८ बैशाख २५ शनिबार ०९:४६:००
Read Time : > 3 मिनेट
खेलकुद प्रिन्ट संस्करण

टोकियो ओलम्पिकविरुद्ध हस्ताक्षर अभियान

Read Time : > 3 मिनेट
एजेन्सी टोकियो
२०७८ बैशाख २५ शनिबार ०९:४६:००

टोकियो ओलम्पिक खेलकुद प्रतियोगिता जति–जति नजिकिँदै गइरहेको छ । त्यति नै यसको समस्या थप भइरहेको छ । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आइसिसी) र आयोजकको सहमतिमै यस वर्षको २३ जुलाईदेखि ८ अगस्टसम्म टोकियो ओलम्पिक हुने निर्णय भएको हो । यद्यपि सन् २०२० मै ओलम्पिक हुनुपर्ने थियो । कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि आइओसी र आयोजकले यस वर्ष प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो । 

अहिले जापानमा कोरोना संक्रमितको दर निकै बढिरहेको छ । यस्तो भयावह अवस्थामा टोकियो ओलम्पिक जापानले आयोजना गर्न नहुने भनी बुधबारदेखि एक अभियान नै सुरु भएको छ । अनलाइनको माध्यमबाट टोकियो ओलम्पिक रद्द हुनुपर्ने अभियान चलाइएको जापानका मिडियाहरूले जनाएका छन् । अभियान सुरु भएको दुई दिनभित्र नै दुई लाख बढीले ओलम्पिक रद्द हुनुपर्ने मत राखेका छन् । 

जापानमै भएको एक सर्वेक्षणअनुसार ७०–८० प्रतिशत नागरिकले टोकियो ओलम्पिक रद्द हुनुपर्ने मत राखेका छन् । अभियान चलाएको समूहलाई यतिवेला बल मिल्यो, जब प्रधानमन्त्री योसिहिदो सुगाले जापानका विभिन्न सहरमा ३१ मेसम्म पुनः संकटकाल घोषणा गरेका थिए । दुई साताअघि राजधानी टोकियोमा एकै दिन पाँच हजार संक्रमित देखिएपछि स्थिति नियन्त्रणमा लिन प्रधानमन्त्री सुगाले संकटकाल जारी गरेका थिए । यो दुई साताभित्र पनि अवस्था बाहिर गएपछि प्रधानमन्त्री सुगाले संकटकाल जारी गरेको एजेन्सीहरूले जनाएका छन् । 

जापानमा केवल दुई प्रतिशत नागरिकले मात्र कोरोनाविरुद्धको खोप लगाएका छन् । कोरोना सुरु भएयता जापानमा ६ लाख १६ हजार एक सय २३ संक्रमित तथा १० हजार पाँच सय १७ जनाले ज्यान गुमाएका छन् । यसपटकको संकटकाल समाप्त हुँदा ओलम्पिक आउन ११ साता मात्र बाँकी रहनेछ । ओलम्पिक रद्द हुनुपर्ने अभियान चलाएकाहरूले आइओसीका अध्यक्ष थोमस बाच, प्रधानमन्त्री सुगा तथा प्रतियोगितामा आबद्ध सबै संघ तथा संस्थाहरूसमेत अनलाइन आन्दोलनको बारे जानकारी गराएको छ ।

यसैगरी वकिल कोजी उत्सुनोमियाले अनलाइनबाट ओलम्पिक रद्द हुनुपर्ने रिट दायर गरेका छन् । वकिल कोजीले यसअघि पनि सरकारविरुद्ध धेरै मुद्दामा रिट राखेका छन् । १७ मेमा आइओसीका अध्यक्ष वाच ओलम्पिक टर्च रिले कार्यक्रममा सहभागी हुन जापान आउँदै छन् । त्यसको भोलिपल्ट वाचले प्रधानमन्त्री सुगासँग ओलम्पिक सम्बन्धमा नै वार्ता गर्नेछन् । जापानिज प्रधानमन्त्री सुगा र आइओसीका अध्यक्ष वाचबीचको वार्ताअघि नै ओलम्पिक रद्द हुनुपर्ने मागसहित हस्ताक्षर अभियान व्यापक बनाइनुपर्ने वकिल कोजीले बताएका छन् । 

जापानले ओलम्पिक आयोजनाका लागि अहिलेसम्म १५.४ अर्ब डलर खर्च गरेको छ । ७३ प्रतिशत टेलिभिजनको प्रसारण अधिकार बुक भइसकेको छ, यस वर्ष पनि टोकियो ओलम्पिक भएन भने आयोजकले २५ अर्ब डलर नोक्सानी बेहोर्नुपर्ने देखिन्छ

‘हामी धेरैभन्दा धेरै जापानिज नागरिकहरूको हस्ताक्षर संकलन गर्छौँ, जसले हाम्रो अभियान सफल बनाउनमा मद्दत पुग्नेछ,’ वकिल कोजीले भने । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको अवस्थामा टोकियोमा ओलम्पिक प्रतियोगिता गराउनु उचित नभएको कोजीले बताएका छन् । ‘यस्तो अवस्थामा हजारौँ खेलाडी, प्रशिक्षक, अफिसियललगायत जापानी नागरिकसमेत सुरक्षित रहन सक्दैनन्,’ उनले भने, ‘जापानमा अहिले पनि सम्पन्न सहरमा औषधि पर्याप्त छैन, सबै कोरोनाविरुद्ध लडिरहेका छन् ।’ दुई सातासम्म चल्ने प्रतियोगिताकै कारण जापानमा चिकित्सक, नागरिक तथा खेलसँग सम्बन्धित व्यक्तिका निमित्त घातक सिद्ध हुने उनले बताए । 

गत वर्ष आइओसीका अध्यक्ष वाच र आयोजक कमिटीबीच टोकियो ओलम्पिक हुने वा नहुने सम्बन्धमा मिटिङ भएको थियो । बैठकले कोभिड–१९ को सबै प्रोटोकल अपनाएर ओलम्पिक गराउन मिल्ने निष्कर्ष निकालियो । तर, स्थानीय मिडियाले यसको विरोध जनाए । धेरैजसो मिडियाकर्मी तथा राजनीतिक दलहरूले प्रतियोगिता तत्कालै स्थगित गर्दा राम्रो हुने सुझाब सरकारलाई दिए । त्यही सुझाबअनुरूप नै प्रतियोगिताको मिति एक वर्ष धकेलिएको हो ।

यदि यो वर्ष पनि टोकियो ओलम्पिक भएन भने आयोजकलाई २५ अर्ब डलर नोक्सान हुनेछ । जापानले ओलम्पिक आयोजनाका लागि अहिलेसम्म १५.४ अर्ब डलर खर्च गरेको छ । ७३ प्रतिशत टेलिभिजनको प्रसारणअधिकार बुक भइसकेको छ । 

नेपालको तयारी
गत वर्षदेखि नै ओलम्पिकमा सहभागिता जनाउने उद्देश्यका साथ १२ नेपाली खेलाडी टोकियो ओलम्पिक छात्रवृत्तिअनुसार प्रशिक्षणमा छन् । स्विमिङबाट एलेक्स साह, गौरिका सिंह, आर्चरीबाट ज्ञानु अवाले, तिलक पुन मगर, सुटिङबाट सुस्मिता नेपाल, कल्पना परियार, तेक्वान्दोबाट वीरबहादुर महर, जुडोबाट इन्द्रबहादुर श्रेष्ठ, भारोत्तोलनबाट कमला श्रेष्ठ, सञ्जु चौधरी र करातेबाट अनु अधिकारी तथा नवीन रसाइली टोकियो ओलम्पिक छात्रवृत्ति पाएका खेलाडी हुन् । 

सीधा छनोट प्रतियोगिताबाट वा वाइल्डकार्डमार्फत ओलम्पिकमा सहभागी हुने लक्ष्यका साथ उनीहरूले एक वर्षअगाडिदेखि नै तयारी थालेका हुन् । पहिलोपटक ओलम्पिकमा समावेश भएको कराते खेलमा सीधा छनोट हुने सम्भावना निकै कम भएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा प्रशिक्षक दीपक श्रेष्ठले बताएका छन् । 

‘करातेमा वरीयतालाई नै पहिलो प्राथमिकतामा राखेको छ, वरीयतामा नेपाली खेलाडी पछि नै छन्, यसकारण उनीहरू सीधै छनोट प्रक्रियाबाट टोकियो ओलम्पिक खेल्ने सम्भावना कम देख्छु,’ श्रेष्ठले भने, ‘हाम्रा लागि छनोट हुने एक मात्र आशा भनेको वाइल्ड कार्ड नै हो ।’ पछिल्लो समय ओलम्पिकसम्बन्धी विभिन्न किसिमका समाचार आए पनि खेलाडी प्रशिक्षणमै केन्द्रित रहेको उनले बताए । 

‘खेलाडीहरू धेरै अपडेटमा छन्, उनीहरूले हरेक समाचार संकलन गरिरहेका हुन्छन्, त्यहीअनुसार योजना पनि बनाउँछन्,’ खेलाडीहरूको मानसिकताबारे बोल्दै दीपकले भने, ‘एक–आपसमै आत्मविश्वास जागृत गरी अभ्यास गर्छन् ।’ 

दोस्रो लहरको कोरोना महामारीका रूपमा फैलिएपछि करातेको प्रशिक्षण बिहान मात्र सञ्चालन भइरहेको छ । सातदोबाटोमा रहेको कराते एकेडेमीमै बिहान ८ देखि १० बजेसम्म टोकियो छात्रवृत्तिमा रहेका खेलाडी प्रशिक्षणमा रहेको श्रेष्ठले बताए । जापानले २० प्रतिशत मात्र टोकियो ओलम्पिक गर्न नसक्ने र ८० प्रतिशत गर्न सक्ने उनको भनाइ छ । ‘जापानजस्तो देशसँग सबै प्रविधि छ, उनीहरूले ओलम्पिकलाई सुरक्षित रूपमै आयोजना गर्न सक्छन् भन्ने विश्वास छ,’ श्रेष्ठले भने, ‘जापानको मुख्य उद्देश्य पनि कोरोना महामारीका वेला पनि सफलतापूर्वक ओलम्पिक आयोजना गरेको देखाउने हो ।’