एउटा नगरपालिकाको वार्षिक औसत फोहोर उत्पादन २ हजार २३३ मेट्रिकटन, सबैभन्दा बढी जैविक फोहोरको अंश ५४ प्रतिशत, फोहोरको सबैभन्दा ठूलो स्रोत परिवार बस्ने घर
आफ्नो नगर क्षेत्रभित्रको फोहोर व्यवस्थापन गर्न ४३ प्रतिशत नगरपालिकाले ल्यान्डफिल साइट नै प्रयोग नगरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले नगरपालिकाहरूमा फोहोरमैला व्यवस्थापनको अवस्थाबारे गरेको अध्ययनअनुसार १ सय १७ नगरपालिकाले ल्यान्डफिल साइट प्रयोग गर्दैनन् । सर्भेमा सहभागी नगरपालिकामध्ये १ सय १४ (४२ प्रतिशत) ले मात्र ल्यान्डफिल साइटको प्रयोग गर्ने देखिएको छ । बाँकीले भने आफ्नो अवस्थाबारे खुलाएका छैनन् । यो सर्वेक्षण देशभरका कुल २ सय ९३ वटा नगरपालिकामध्ये २ सय ७१ नगरपालिकामा गरिएको अध्ययनमा आधारित हो । आर्थिक वर्ष ०७६/७७ मा थालिएको यो अध्ययन केही दिनअघि मात्र सार्वजनिक गरिएको हो ।
ल्यान्डफिल साइट प्रयोग गर्नेमध्ये ८५ प्रतिशतको आफ्नै र १५ प्रतिशतले अन्यको साइट प्रयोग गरिरहेका छन् । अध्ययनले नगरपालिकादेखि ल्यान्डफिल साइटसम्मको औसत दूरी ४ दशमलव ३ किलोमिटर देखाएको छ । तर, महानगरपालिकाहरूको हकमा औसत दूरी साढे १७ किलोमिटर, उपमहानगरपालिकाको हकमा ४ दशमलव ४ किलोमिटर र नगरपालिकाको औसत दूरी ४ किलोमिटर रहेको छ ।
अध्ययनले एउटा नगरपालिकाले औसतमा २ हजार २ सय ३२ दशमलव ७ मेट्रिकटन फोहोर उत्पादन गर्ने देखाएको छ । दैनिक भने औसतमा ६ दशमलव १ मेट्रिकटन पर्न आउँछ ।
नगरपालिकाहरूले जम्मा भएको फोहोरमध्ये ४८ प्रतिशत ल्यान्डफिल साइटमा जम्मा गर्ने गरेका छन् । त्यस्तै, ३२ प्रतिशत फोहोरलाई बालेर व्यवस्थापन गर्ने गर्छन् भने २७ प्रतिशत फोहोर खोलाको छेउमा जम्मा गर्ने केन्द्रीय तथ्यांक विभाग, वातावरण तथ्यांक शाखाका निर्देशक सुशीलकुमार शर्माले जानकारी दिए । ‘केहीले ल्यान्डफिल साइट र बाल्ने तथा केहीले बाल्ने र खोलाको छेउमा पनि फाल्ने भएकाले शतप्रतिशतभन्दा बढी परिमाण आएको हो,’ उनले भने ।
त्यस्तै, सर्भेमा सहभागी नगरपालिकामध्ये १ सय ४९ (५५ प्रतिशत) ले फोहोर व्यवस्थापनका लागि योजना बनाएको देखिन्छ । नगरपालिकामध्ये १ सय ९ वटाले वार्षिक योजना बनाएका छन् । ३७ वटाले एक वर्षभन्दा पनि छोटा योजना बनाएका छन् भने ४५ नगरपालिकाले फोहोरमैला व्यवस्थापनको आवधिक योजना बनाएका छन् ।
महानगर र नगरपालिकाको फोहोर व्यवस्थापन गर्न क्रमशः ११८ र १२ कर्मचारी
महानगरपालिकाले औसतमा १ सय १८ जना मानिसलाई फोहोरमैला व्यवस्थापनमा लगाएको पाइएको छ । तर, उपमहानगरपालिकाको हकमा औसत ५९ र नगरपालिकाहरूले औसतमा १२ जना मात्र फोहोरमैला व्यवस्थापनमा लगाउने गरेका छन् । सर्भेले नगरपालिकाहरूमा फोहोर व्यवस्थापनका लागि अति नै न्यून प्राविधिक जनशक्ति रहेको देखाएको छ ।
नगरपालिकाहरूमा मुख्यतः तीन किसिमका फोहोर सिर्जना हुने गरेका छन् । जैविक (कागजपत्र, कृषिलगायतका कुहिने), अजैविक (प्लास्टिक, ग्लास, रबर, मेटललगायत नकुहिने) र अन्य फोहोर (कुहिने र नकुहिनेमा नपर्ने) रहेका छन् । उत्पादन भएको फोहोरमध्ये जैविक, अजैविक र अन्य फोहोरको अंश क्रमशः ५४, ३३ दशमलव ३ र १२ दशमलव ७ प्रतिशत रहेको छ । यसअनुसार अझै पनि जैविक फोहोरको अंश सबैभन्दा धेरै रहेको देखिन्छ ।
फोहोरको सबैभन्दा ठूलो स्रोत परिवार बस्ने घर
फोहोर उत्पादन हुने सबैभन्दा ठूलो स्रोत परिवार बस्ने घर देखिएको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका तीनवटैमा घरबाट सबैभन्दा धेरै फोहोर निस्कने अध्ययनले देखाउँछ । महानगरपालिकामा घरबाट निस्कने फोहोर १५ हजार ९ सय किलोग्राम प्रतिदिन रहेको छ । उपमहानगरपालिका र नगरपालिकामा पनि सबैभन्दा धेरै फोहोर उत्पादन हुने ठाउँ घर देखिन्छ । उपमहानगरपालिकामा प्रतिदिन ३ हजार ३ सय किलोग्राम र नगरपालिकामा १ हजार ४ सय ४० किलोग्राम प्रतिदिन फोहोर उत्पादन हुन्छ । फोहोर उत्पादनका अन्य स्रोतहरू घर, संस्था, व्यापारिक र व्यावसायिक कम्प्लेक्स, अस्पताल मुख्य रहेका छन् । महानगरपालिकामा व्यापारिक कम्प्लेक्सको ७ हजार ७ सय किलोग्राम प्रतिदिन रहेको छ भने शैक्षिक संस्थाको ४ हजार ६ सय ८० किलोग्राम प्रतिदिन रहेको छ ।
८६ प्रतिशत नगरपालिकासँग फोहोर व्यवस्थापनको साधन
अध्ययनमा सहभागी २ सय ७६ नगरपालिकामध्ये ८६ प्रतिशत (२३२ वटा) सँग फोहोर व्यवस्थापनको साधन रहेको छ । त्यसमध्ये पनि ७१ प्रतिशतसँग ट्र्याक्टर–पावर टिलर्स रहेको छ । त्यस्तै, ६२ प्रतिशतसँग टिपर–ट्रक छ भने २४ प्रतिशतले फोहोर व्यवस्थापन गर्न डोजर प्रयोग गर्ने गरेको छ । एकभन्दा धेरै साधन भएका नगरपालिका दोहोरिएकाले तीनै प्रकारकार साधनको कुल जोड शतप्रतिशतभन्दा धेरै छ ।
फोहोरको पुनः प्रशोधन गर्ने ३० नगरपालिका मात्र
अध्ययनमा सहभागी भएका २ सय ७६ नगरपालिकामध्ये ३० वटाले मात्र फोहोर पुनः प्रशोधन गर्ने गरेका छन् । यसो गर्नेमा दुई महानगरपालिका, ५ उपमहानगरपालिका र २३ नगरपालिका छन् । ती नगरपालिकाहरूले जम्मा उत्पादित फोहोरको ४ दशमलव १ प्रतिशत मात्र पुनः प्रशोधन गर्ने गरेका हुन् । जुन निकै न्यून हो । यसलाई वृद्धि गर्न सकिने प्रशस्त ठाउँ रहेको अध्ययनको सुझाब छ ।
फोहोर व्यवस्थापनका अनेक समस्यामा नगरपालिका
अहिलेको शासकीय ढाँचाअनुसार फोहोरमैला व्यवस्थापनको जिम्मेवारी स्थानीय तहमा छ । फोहोरमैला व्यवस्थापनका लागि पर्याप्त बजेट र जनशक्ति अत्यावश्यक छ । तर, अध्ययनमा सहभागीमध्ये २ सय ५४ (९५ प्रतिशत) नगरपालिकाले फोहोर व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारबाट बजेटको आशा गरेका छन् । त्यस्तै, १ सय ४७ नगरपालिकाले फोहोरमैला व्यवस्थापनलाई मुख्य चुनौतीका रूपमा लिएका छन् । त्यस्तै, जनचेतनाको अभाव र ल्यान्डफिल साइटको अभावलाई पनि फोहोर व्यवस्थापनको चुनौती मानेका छन् ।