मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख २४ शुक्रबार १२:४९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ढोरपाटनमा चार झारल र नाै नाउरको सिकार

Read Time : > 1 मिनेट
२०७८ बैशाख २४ शुक्रबार १२:४९:००

मुलुककै एक मात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा यस वर्षको दोस्रो सिकारयाममा चार झारल र नौवटा नाउरको सिकार भएको छ । लाखौँ रुपैयाँ राजस्व तिरेर विदेशी व्यावसायिक सिकारी ढोरपाटन पुगेर निर्धारित कोटाअनुसारको नाउरको सिकार गरेका हुन् । दोस्रो सिजनलाई पाँचवटा झारलको कोटा निर्धारण गरिएको थियो । सिकारीले एकवटा झारलको सिकार गर्न चुकेका  छन् । 

दोस्रो यामको सिकारबाट झन्डै २५ लाख रुपैयाँ राजस्व संकलन भएको आरक्ष कार्यालयले जनाएको छ । यो वर्ष लिलाम बढाबढ गर्दा नाउरको एक लाख ८१ हजारदेखि एक लाख ९५ हजार र झारलको एक लाखसम्म तोकिएको थियो ।पहिलो सिकारयाम असोज–कात्तिकमा नौ नाउर र पाँच झारलको सिकार अनुमति दिइएको भए पनि कोभिड– १९ महामारीका कारण सिकार हुन सकेको थिएन । पहिलो याममा एक झारल र एक नाउरको सिकार भएकोमा दोस्रो याममा भने लक्ष्यअनुरूप नै सिकार भएको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए ।  

आरक्षको फागुने, बार्से, सेङ, दोगाडी, घुस्तुङ, सुर्तिबाङ र सुनदह गरी सात ‘ब्लक’मा सिकार खेल्ने गरिएको थियो । सिकार कम्पनी नेपाल ट्राभल एक्सपिडिसन प्रा.लि. ललितपुर, हिमालयन वाइल्डलाइफ आउटफिर्टस् प्रा.लि, ग्लोबल सफारिज प्रा.लि. ठमेल काठमाडाैं  र हिमालयन सफारिज नक्साल काठमाडौंमार्फत सिकारी ढोरपाटन पुगेका थिए । 

बन्दुक, गोलीगट्ठा र सहयोगीसहित सिकारी आरक्ष आउने गरेको अधिकृत कँडेलले बताए । खर्चिला र साहसी सिकारीले विकटमा रहेका ‘ब्लक’मा सिकार खेल्न रुचि राख्छन् । सिकारीसहितको टोलीले १५ दिन जंगलमै समय बिताउने गर्छन् । दोस्रो याममा अमेरिका, रुस, फ्रान्स, युक्रेन र स्पेनका पेसेवर सिकारीले सिकार गरेका हुन् । दोस्रो यामको पहिलो सिकार रुकुम पूर्वको सेङ ‘ब्लक’मा चैतको २३ गते १२ वर्षको नाउर मारेर सुरु भएको थियो । अन्तिम सिकार पनि सोही ब्लकमा वैशाख ७ गते आठ वर्षको नाउरको सिकार गरेका थिए । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक सिकार याममा बोलपत्र आह्वान गरेर सिकारको कोटा र राजस्व दर निर्धारण गर्छ । बर्सेनि असोज–कात्तिक र चैत–वैशाख गरी दुई याममा सिकार खुल्ला गर्ने गरिन्छ । साहसिक यात्रा र रोमाञ्चक सिकार अनुभवका लागि ढोरपाटन विदेशीको आकर्षक गन्तव्य बनेको छ ।