मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख २३ बिहीबार २३:०९:००
Read Time : > 3 मिनेट
खेलकुद डिजिटल संस्करण

रोमाञ्चक जितसँगै काठमाडौंको प्लेअफ यात्रा तय

Read Time : > 3 मिनेट
२०७८ बैशाख २३ बिहीबार २३:०९:००

एकै खेलमा नौ गोल । प्रतियोगिताकै पहिलो ह्याट्रिक । घरेलु फुटबलकै रोमाञ्चक खेलमा सनसनीपूर्ण जित हात पार्दै काठमाडौं रेजर्स एफसी नेपाल सुपर लिग (एनएसएल)को प्लेअफमा पुगेको छ । 

काठमाडौंले बिहीबार भएको खेलमा दुई गोलले पछि परेको अवस्थाबाट फर्किएर विराटनगर सिटी एफसीमाथि ५–४ को रोमाञ्चक जित हात पा¥यो । यो जितपछि काठमाडौं प्रतियोगिताको प्लेअफमा पुग्ने दोस्रो टोली बनेको छ । धनगढी एफसीले यसअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेको छ ।

काठमाडौंले पाँच खेलबाट तीन जित र एक बराबरीसहित १० अंक पु¥याएको छ । काठमाडौं सात टोली सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट समान जित र अंक भएको धनगढी अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

काठमाडौंसँग अनपेक्षित हार बेहोरेको विराटनगरका लागि भने प्लेअफको यात्रा निश्चित गर्न लिग चरणको अन्तिम खेल कुर्नुपर्ने भएको छ । विराटनगरले लिग चरणको आफ्नो अन्तिम खेलमा शनिबार ललितपुरसँग प्रतिस्पर्धा गर्दै छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विराटनगरले खेलको छैटौँ मिनेटमै अग्रता बनाएको थियो । कप्तान रन्जित धिमालले क्रस गरेको बलमा सिक्स यार्ड बक्स लाइनबाट गोल गरेका थिए । उनले काठमाडौंका गोलरक्षक विकेश कुथुले बल नियन्त्रणमा लिन केही ढिला गर्दा प्रहार गर्ने अवसर पाएका थिए । 

त्यसपछि विराटनगरले खेलको ३३औँ मिनेटमा अग्रता दोब्बर बनायो । सन्तोष तामाङले मिलाइदिएको उत्कृष्ट पासमा काठमाडौंका गोलरक्षक विकेशलाई समेत बिट गर्दै पेद्रो जेभियर मान्जी क्रुजले विराटनगरको दोस्रो गोल गरेका थिए । 

तर, काठमाडौंले दुई गोल व्यहोरेपछि खेलमा चामत्कारिक पुनरागमन ग¥यो । सात मिनेटको अन्तरमा तीन गोल गर्दै काठमाडौंले खेलमा दुई गोलले पछि परेको अवस्थालाई उल्टाएर ३–२ को अग्रता लियो । काठमाडौंको यो चामत्कारिक प्रदर्शनमा प्रतियोगिताकै पहिलो ह्याट्रिकसमेत सम्भव भएको छ ।

काठमाडौंका लागि खेलको ३५औँ मिनेटमा अफ्रिकी खेलाडी मेसोके ओलुमोउले पहिलो गोल गरे । उनले डी बक्सभित्र ‘जिरो एंगल’बाट गरेको सशक्त प्रहार विराटनगरका गोलरक्षक किशोर गिरीलाई लागेर गोलमा परिणत हुन पुगेको थियो । 

त्यसको एक मिनेटपछि नै उनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–२ को बराबरीमा फर्काए । यसपटक पनि उनले उही एंगलबाट गोल गरे । दुई विपक्षी रक्षकलाई छक्याएर उनले प्रहार गरेको बल गोलरक्षक किशोरलाई समेत नाघेर गोलमा परिणत हुन पुगेको थियो । 

त्यसपछि खेलको ४१औँ मिनेटमा झन्डै ३० यार्ड दूरीमा प्राप्त फ्रीकिकमा आकर्षक गोल गर्दै स्टेफेन विनोङले काठमाडौंलाई ३–२ को अग्रता दिलाए । खेलको ६८औँ मिनेटमा एकल प्रयासमा आकर्षक गोल गर्दै मेसोकेले ह्याट्रिक पूरा गरे, जुन प्रतियोगिताकै पहिलो बन्यो । सिक्स यार्ड बक्सको कर्नरनजिकबाट उनको सशक्त प्रहार दोस्रो बारमा लागेर गोलमा परिणत हुन पुगेको थियो ।

खेलको ७९औँ मिनेटमा कप्तान रञ्जितले गोल गर्दै विराटनगरलाई खेलमा फर्काउने प्रयास गरेका थिए । उनले डी बक्सको आर्कबाट गरेको सशक्त प्रहार साइड बारमा लागेर गोलमा परिणत भएको थियो । त्यसवेला विराटनगर ४–३ को अग्रतामा थियो । यद्यपि, खेलको ८२औँ मिनेटमा छिरिङ गुरुङले आकर्षक गोल गर्दा काठमाडौं ५–३ ले अघि बढ्यो । आफ्नो क्षेत्रबाट बल अघि बढाएका छिरिङले विपक्षीको डी बक्सनजिक मेसोकेसँग एक वान टच पास खेल्दै विराटनगरका गोलरक्षक किशोरसँगको वान भर्सेस वानमा हेर्न लायक गोल गरेका थिए । 

चार मिनेट थप गरिएको खेलको अन्तिम इन्जुरी समयमा पेद्रोले व्यक्तिगत दोस्रो र विराटनगरको चौथो गोल गरे । यद्यपि, उनको यो प्रयास टोलीलाई जित दिलाउन पर्याप्त भएन । 

पराजयपछि विराटनगरका प्रशिक्षक यान लले गोलरक्षक र रक्षकको कमजोरीका कारण अप्रत्यासित पराजय व्यहोर्नुपरेको प्रतिक्रिया दिए । ‘अग्रपंक्तिमा हामी राम्रै रह्यौँ । नियमित अवसर सिर्जना भयो । गोल पनि निस्किएको थियो,’ प्रशिक्षक यानले भने, ‘तर, गोलरक्षकबाट कमजोरी भयो । रक्षकहरूले पनि राम्रो गर्न सकेनन् । चोटका कारण पहिलो हाफमै केही राम्रा खेलाडीलाई परिवर्तन गर्नुपर्दा पनि हामी दबाबमा प¥यौँ ।’

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले आफ्नो टोलीको जितलाई अनपेक्षित माने । ‘आजको खेलमा अनपेक्षित नतिजा आएको छ,’ बालगोपालले भने, ‘खेलाडीहरूको प्रदर्शनमा नियमित सुधार आइरहेको छ । यो खुसीको कुरा हो । हामी आगामी खेलमा पनि जितकै नतिजा लिएर अघि बढ्न चाहन्छौँ ।’ 

 आजको खेल 
 पोखरा थन्डर्सविरुद्ध एफसी चितवन 
 समयः ५ः३० बजे (दशरथ रंगशाला) 

ललितपुरको पहिलो जित

बिहीबार उपत्यकाको टोलीको दिन रह्यो । काठमाडौंले विराटनगरविरुद्ध अप्रत्यासित ५–४ गोलअन्तरको जित हात पारेको दिन उपत्यकाको अर्काे टोली ललितपुर सिटी एफसीले पनि प्रतियोगितामा आफ्नो पहिलो जित हात पारेको छ । 

ललितपुरले बुटवल लुम्बिनी एफसीलाई १–० गोलले पराजित ग¥यो । ललितपुरले प्रतियोगिताको पाँचौँ खेलमा पुगेर मात्रै जित हात पारेको हो । अघिल्लो चार खेलमा जितविहीन ललितपुरले आफ्नो मुख्य प्रशिक्षक प्रदीप हुमागाईलाई बर्खास्त गरेको थियो । 

मुख्य प्रशिक्षकलाई बर्खास्त गरेपछि राजु तामाङको नेतृत्वमा बिहीबार पहिलो खेल खेलेको ललितपुर पहिलो जितसँगै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । 

ललितपुरले पनि बुटवलविरुद्ध खेलको पाँचौँ मिनेटमै गोल गरेको थियो । कमल श्रेष्ठले प्रहार गरेको कर्नरमार्फत आएको बललाई निरोज बस्नेतले डी बक्सभित्र एक्रोब्याटिक सट प्रहार गरेका थिए । भुइँमा ‘वान ड्रप’ हुँदै आएको उनको प्रहारलाई ललितपुरका कप्तान अञ्जन विष्टले हेडिङमार्फत दोस्रो बारमा नुर्लान नोभरुजोभ जहिदलाई दिएका थिए । उक्त बललाई नुर्लानले हेडिङमार्फत नै गोलमा परिणत गरे । 

त्यसपछिको खेलमा पनि ललिपुरले नियमित गोल अवसर सिर्जना गरिरह्यो । यद्यपि, अवसर सदुपयोग गर्न भने सकेन । 

खेलपछि ललितपुरका प्रशिक्षक राजुले पहिलो तीन अंक प्राप्त गर्दा खुसी व्यक्त गरे । ‘पहिलो जितका लागि धेरै नै संघर्ष गर्नुप¥यो । अघिल्लो चार खेलमा जितविहीन हुँदा हामीमाथि दबाब थियो’, प्रशिक्षक राजुले भने, ‘यो जितमा खुसी छौँ । यो जितले खेलाडीलाई पनि उत्साहित तुल्याएको छ । सम्भवतः आगामी खेलमा यसले सकारात्मक प्रभाव पार्नेछ ।’

बुटवल लुम्बिनीका प्रशिक्षक सनोज श्रेष्ठले आफ्ना लागि प्लेअफको यात्रा मुस्किल बन्दै गएको बताए । ‘आजको खेल सन्तोषजनक रहेन । सुरुवातमै गोल व्यहोर्दा दबाब खेप्नुप¥यो,’ उनले भने, ‘यो हारपछि अगाडिको यात्रा पनि मुस्किल बन्दै गएको छ । अब हामीलाई अरूको खेलमा पनि निर्भर गर्नुपर्ने भएको छ ।’