मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २३ बिहीबार १७:०४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोरोना संक्रमितको उपचारमा गम्भीर बन्न कांग्रेसको आग्रह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २३ बिहीबार १७:०४:००

कांग्रेसले कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारमा गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ । कांग्रेसले महामारी नियन्त्रणमा देखिएको सरकारको गैरजिम्मेवारीपूर्ण रवैया, चरम लापरबाही र स्वास्थ्य असंवेदनशीलताको भत्र्सना गर्दै रोकथाम, नियन्त्रण र संक्रमितको उपचारमा संघ, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । 

कांग्रेस पूर्वउपसभापति एवं संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठ ती कार्यमा कांग्रेसका संगठन संरचनाको आवश्यकता परेको अवस्थामा सहयोग र सहकार्यका लागि तयार रहेकोसमेत बताएका छन् । 

श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै अस्पतालमा बेड, आइसियू, आइसोलेसन केन्द्र, क्वारेन्टिन र होल्डिङ सेन्टरको व्यवस्थापन, सञ्चालन र अनुगमनको व्यवस्थापन गर्न आग्रह गरेका छन् । 

श्रेष्ठले केन्द्र र प्रदेशमा रहेका ठूला अस्पताल र मेडिकल कलेजलाई कोभिड र साना अस्पताललाई ननकोभिड अस्पतालको रूपमा विकसित गरी आवश्यक बेड, आइसियू बेड र भेन्टिलेटरको संख्या वृद्धि गर्न, अक्सिजन प्लान्टको स्थापना गर्न र कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधिको यथोचित प्रबन्ध गर्न माग गरेका छन् । 

‘सरकारको चरम लापरबाही, गैरजिम्मेवारपूर्ण रवैया र असंवेदनशील कार्यका कारण एकातिर देशको राजनीति अनिश्चित, अन्योल र संकटग्रस्त देखिन्छ, अर्कोतिर कोरोनाको दोस्रो लहरसँगै मानवीय जीवनको रक्षा गर्न सरकार असक्षम छ,’ श्रेष्ठले विज्ञप्तिमार्फत भनेका छन्, ‘महामारीको असर व्यापक र सघन हुँदै छ । तर, सरकार महामारीविरुद्धको लडाइँलाई प्रभावकारी बनाउनुको साटो सत्ताको झिनाझपटमै अल्मलिरहेको छ । म स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन र यथाशीघ्र आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको भर्ना र सेवा सुविधाको व्यवस्थापन गर्न आग्रह गर्दछु ।’

श्रेष्ठले महामारीको कठिन घडीमा अग्रपंक्तिमा रहेर संक्रमितहरूको उपचार र व्यवस्थापनमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, चालक, सफाइकर्मीसहित सबै तह र तप्काका राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मीहरूको बिमा तथा जोखिम भत्ताको व्यवस्था गर्नसमेत सुझाब दिएका छन् । 

‘सीमानाकाबाट स्वदेश भित्रिरहेका नागरिकलाई अनिवार्य पिसिआर परीक्षण गर्ने, परीक्षणको नतिजा नआउन्जेल होडिङ सेन्टरमा राख्ने व्यवस्था गर्न र संक्रमण देखिएका व्यक्तिलाई स्थानीय तहको समन्वयमा आइसोलेसन केन्द्रमा राख्ने व्यवस्था गर्नका साथ सबै तहमा नेपालबाहिरबाट आउने व्यक्तिहरूको अभिलेख अद्यावधिक राख्न, संक्रमितहरूको पहिचान र कन्ट्याक्ट ट्रेसिङको व्यवस्था गरियोस्,’ श्रेष्ठले आग्रह गरेका छन् । 

श्रेष्ठले बढ्दो संक्रमण नियन्त्रण गर्न संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी अगाडि बढ्न सुझाब दिएका छन् । यस्तै, महामारीको मौका छोपेर बजारमा आवश्यक वस्तुहरूको अभाव सिर्जना गरी मूल्यवृद्धि र कालोबजारी गर्ने कार्यलाई रोक्न सरकारले आवश्यक पहलकदमी गरोस् भन्ने आग्रहसमेत गरेका छन् । 


उनले निषेधाज्ञाका कारण रोजगार गुमाएका आमनागरिक, श्रमिक र साना व्यवसायीले भोग्नुपरेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज ल्याउनसमेत आग्रह गरेका छन् । यस्तै, संक्रमितको उपचारमा सहजता ल्याउन सबै प्रकारका सार्वजनिक र सामुदायिक स्थल, सभाहल, रंगशालालाई क्वारेन्टिन, आइसोलेसन केन्द्र र होडिङ सेन्टरको रूपमा उपयोग गर्न सकिनेबारेमा समेत ध्यानाकर्षण गराएका छन् ।