मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख २३ बिहीबार १२:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

महामारीका वेला दुई चिकित्सकलाई एक वर्ष बिदा दिँदै बिपी प्रतिष्ठान  

Read Time : < 1 मिनेट
२०७८ बैशाख २३ बिहीबार १२:०४:००

कोरोना महामारी देशभर फैलिएको छ । संक्रमितको संख्या बढ्दै जाँदा अस्पतालमा चिकित्सक, स्वास्थ्यकर्मीहरूको अभाव हुन थालेको छ । स्वास्थ्य मन्त्रालयले कुनै चिकित्सकलाई यतिवेला बिदा  नदिन परिपत्र जारी गरेको छ ।  रिटायर्ड भएका चिकित्सकलाई समेत आवश्यकताअनुसार काम लगाउन सकिने बताइरहेको वेला धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ चिकित्सकहरूलाई एक वर्षको बिदा दिएको छ । 

प्रतिष्ठानमा स्वास्थ्य उपचारमा राम्रो नाम कमाएका वरिष्ठ चिकित्सकलाई उपकुलपति प्राडा ज्ञानेन्द्र गिरीले एक वर्षका लागि मंगलबार बिदा  स्वीकृत गरिदिएका छन् । नाक, कान, घाँटीका क्यान्सर रोग विशेषज्ञ डा. बजरंगप्रसाद साह र हाडजोर्नी विभागका विशेषज्ञ डा. राजु रिजाललाई एक वर्षका लागि स्वअध्ययनका लागि बिदा दिएका हुन् । 

प्रतिष्ठानको नियममा लामो समय प्रतिष्ठानमा काम गरेका चिकित्सक कर्मचारीहरूले स्वअध्ययन बिदा  पाउने प्रावधान छ । तर, महामारीका वेला बिदामा बसेका चिकित्सकलाई पनि बोलाउनुपर्नेमा उपकुलपतिले भएका विशेषज्ञ चिकित्सकलाई समेत बिदा दिएको भनेर प्रतिष्ठानभित्रै उपकुलपति गिरीको आलोचना सुरु भएको छ । 

डा. रिजाल आफ्नो परिवार अष्ट्रेलिया भएका कारण बिदा लिएर त्यसतर्फ जान काठमाडौं पुगेका छन् । डा. साह भने बिदा लिएर झापाको बी एन्ड सी अस्पतालमा काम गर्न जान लागेको स्राेतले बताएको छ । प्रधानमन्त्री केपी ओलीका निकट पात्र दुर्गा प्रसाईंको अस्पतालमा सेवा गर्न  उनलाई बिदा दिइएको स्राेतले बताएको छ ।

उपकुलपति गिरीको समेत आफन्त पर्ने प्रसाईंले क्यान्सर रोगको उपचार हुने अस्पताल  चलाउँदै आएका छन् । नाक, कान, घाँटीसम्बन्धी क्यान्सर विशेषज्ञ मानिएका डा. साह प्रसाईंको मागअनुरूप बिदा दिइएको स्राेतले बतायो । यस विषयमा उपकुलपति डा. गिरीलाई बुझ्न खोज्दा फोन उठाएनन् । प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताए ।