मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २३ बिहीबार ०९:१८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

अर्थतन्त्रमा कोभिड–१९को दोस्रो लहरबाट ठूलो धक्का : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २३ बिहीबार ०९:१८:००

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९को दोस्रो लहरले अर्थतन्त्र निकै ठूलो धक्का दिएको बताएका छन् । दक्षिण एसियाली सहयोग संगठन (सार्क) अर्थमन्त्रीहरूको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिडले दिएको धक्काका कारण पर्यटन, अन्य सेवाहरू र उत्पादन क्षेत्रमा गम्भीर असर पुगेको बताएका हुन् ।

‘कोभिड–१९ को विस्तारित प्रभाव व्यक्तिको आम्दानी तथा रोजगारीमा व्यापक कटौती, व्यवसायमा ह्रास र मागमा आएको शिथिलतामा प्रतिबिम्बित भएको देखिन्छ,’ उनले भने, ‘यसैगरी समावेशी वृद्धि, मानव विकास र गरिबी निवारणका हाम्रा प्रयासमा चुनौती थपिदिएको छ ।’ बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्रीले कोभिडको दोस्रो लहरका कारण निकट भविष्यको आर्थिक परिदृश्य चुनौतीपूर्ण रहेको बताए । 

खोपमा साझा पहुँच दिन आग्रह
जनजीविकालाई बचाउन विश्वव्यापी ऐक्यबद्धता, सामूहिक प्रयत्न र सहयोग अपरिहार्य भएको बताए । यस्तो संकटपूर्ण समयमा जीवन बचाउने खोपलाई विश्वकै अत्यावश्यक साझा बस्तुका रूपमा लिइने विश्वास व्यक्त गरे । खोपको आपूर्तिमा सबै देशले सहज रूपमा पहुँच कायम गर्न सक्ने र खरिद गर्न सक्ने अवस्था सुनिश्चित गर्न अपरिहार्य भएकोसमेत उनले बताए । उनले कोभिड–१९विरूद्धको खोपको उत्पादन र आपूर्तिका लागि भारत सरकारप्रति आभार पनि प्रकट गरे ।

आर्थिक पुनरुत्थानमा सहकार्य 
आर्थिक पुनरुत्थानको गतिलाई दिगो बनाउनका लागि साझा उद्देश्य र लक्ष्यसहित एकसाथ भएर सबैले काम गर्नुपर्ने समय आएको अर्थमन्त्रीले बताए । उनले रोजगारी सिर्जना र स्वदेशी उत्पादनमा अधिक रूपमा केन्द्रित भई आर्थिक क्रियाकलाप विगतको भन्दा राम्रा निर्माणका लागि आवश्यक सहजीकरण गर्न आवश्यक नीति तथा रणनीति एकसाथ तय गर्नुपर्ने बताए ।