मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
टेकराज थामी काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार ०५:५८:००
Read Time : > 2 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

महामारी नियन्त्रणमा सेना : अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई ‘अलर्ट’ रहन जंगी अड्डाको निर्देशन

Read Time : > 2 मिनेट
टेकराज थामी, काठमाडाैं
२०७८ बैशाख २३ बिहीबार ०५:५८:००

कोरोना महामारी नियन्त्रणमा सेना थप सक्रिय हुने तयारीमा छ । जंगी अड्डाले ०७२ यता अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई ‘अलर्ट’ रहन निर्देशन दिएको छ । सेनासँग ६ वर्षको अवधिमा अवकाश पाएका करिब तीन सय ५० स्वास्थ्यकर्मी सैनिक छन् । 

सन्तोषबल्लभ पौडेल सैनिक प्रवक्ता

कोरोना संक्रमणको दर बढ्दै गएको छ । महामारी नियन्त्रण गर्ने अभिभारा सेनामा आउन सक्ने अवस्था देखियो । त्यसैले अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई तयारी अवस्थामा रहन भनेका छौँ ।

सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले कोरोना संक्रमण नियन्त्रणको अभिभारा सेनामा आउने अवस्था देखिएपछि अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको बताए । ‘कोरोना संक्रमणको दर बढ्दै गएको छ । महामारी नियन्त्रण गर्ने अभिभारा सेनामा आउन सक्ने अवस्था देखियो । त्यसैले अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई तयारी अवस्थामा रहन भनेका छौँ,’ उनले भने ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार महामारी नियन्त्रणमा सघाउने उद्देश्यले ०७२ सालपछि अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको हो । हाल सेनासँग बहालवाला स्वास्थ्यकर्मी सैनिक दुई हजार तीन सयको संख्यामा छन् । जसमा अधिकांश नर्स र केही विभिन्न विधाका चिकित्सक छन् । अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिक सेनाबाट परिचालित बहालवाला स्वास्थ्यकर्मी सैनिकसँगै खटिनेछन् । त्यसका लागि सेनाले मातहतका पृतना, गण र गुल्ममार्फत विशेष युटिन बनाउनेछ ।

स्रोतका अनुसार सरकारले महामारी नियन्त्रणको अभिभारा सेनालाई दिन सक्ने संकेत पाएपछि सोमबार प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा प्रिन्सिपल स्टाफ अफिसर्स (पिएसओज्) बैठक बसेको थियो । त्यही बैठकले ०७२ यता अवकाश पाएका भूतपूर्व स्वास्थ्यकर्मी सैनिकलाई महामारी नियन्त्रणमा खटाउने निर्णय गरेको थियो । निर्णयलगत्तै सेनाले भूतपूर्व सैनिक स्वास्थ्यकर्मीलाई अलर्ट रहन निर्देशन दिएको थियो । जंगी अड्डाले बुधबार विज्ञप्ति जारी गर्दै निर्णय सार्वजनिक गरेको हो । 

‘जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले ०७२ सालभन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाशप्राप्त गरेका स्वास्थ्यकर्मीहरूलाई राष्ट्रलाई आवश्यक परेको बखत बोलाउन सक्ने गरी तयारी हालतमा रहन रिकल टु ड्युटी निर्देशन जारी गरेको जानकारी गराइन्छ,’ सैनिक प्रवक्ता पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना महामारी बढ्दै जाँदा अहिले देशमा स्वास्थ्य संकटकाल लगाउने विषय बहसमा छ । संकटकालमा सेना परिचालन हुन सक्ने प्रावधान छ । यसका लागि राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्नुपर्ने हुन्छ । राष्ट्रिय विपत्तिमा भने सेना बैठकअघि नै पनि परिचालन हुन सक्छ । भूकम्प तथा बाढीपहिरो जाँदा सेना यसरी नै परिचालन हुँदै आएको छ ।

सैनिक प्रवक्ता पौडेलले भने, ‘सेना कहिले पनि रिटायर्ड हुँदैन भनिन्छ । त्यहीअनुसार अवकाशप्राप्त स्वास्थ्यकर्मी सैनिकलाई परिचालन गर्न लागेका हौँ । करिब २३ सयजति बहालवाला स्वास्थ्यकर्मी र साढे तीन सय अवकाशप्राप्त सैनिक सँगसँगै महामारी नियन्त्रणका लागि फिल्डमा खटिनेछन् ।’

सेनाले महामारीमा निर्वाह गर्नुपर्ने थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि योजना तर्जुमा एवं आवश्यक तयारी पनि गरिरहेको प्रवक्ता पौडेलले उल्लेख गरेका छन् । उपत्यका पृतनापति आनन्द अधिकारीको संयोजकत्वमा गठन गरेको क्राइसिस म्यानेजमेन्ट कोअर्डिनेसन कमिटीले समग्र योजना तथा काठमाडौं उपत्यकामा थप आइसोलेसन सेन्टर स्थापनाका विषयमा गृहकार्य गरिरहेको छ । 

सेनाले त्रिचन्द्र महांकाल अस्पतालमा ८० बेडको आइसोलेसन सेन्टर, छाउनीनजिकै तथा बालाजुस्थित राधास्वामी सत्संग आश्रम, मातातीर्थ, खरिपाटी भक्तपुरलगायत ठाउँमा आइसोलेसन सेन्टर स्थापना गर्नेबारे अध्ययन थालेको छ । सूर्यविनायकमा सेनाको आइसोलेसन सेन्टर सञ्चालित छ । ‘हामी सैनिक र गैरसैनिक दुवैका लागि आइसोलेसन सेन्टरको सुविधा उपलब्ध गराउने गरी काम गरिरहेका छौँ,’ प्रवक्ता पौडेलले भने । 

अक्सिजनमा सेना आत्मनिर्भर 
अक्सिजन अभावले कोरोनाको उपचार प्रभावित भइरहेका वेला सेनाले भने अक्सिजनमा आत्मनिर्भर रहेको जनाएको छ । छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा छ । 

१६ कात्तिक ०६९ मा स्थापित प्लान्टबाट अहिले प्रतिघन्टा चार सय लिटर अक्सिजन उत्पादन हुँदै आएको छ । सैनिक प्रवक्ता सहायक रथी सन्तोषबल्लभ पौडेलले अक्सिजन प्लान्टबाट प्रतिघन्टा ४० लिटरका १० वटा सिलिन्डर भर्न मिल्ने गरी अक्सिजन उत्पादन भइरहेको बताए । 

‘सेना अक्सिजन उत्पादनमा आत्मनिर्भर छ । प्रत्येक घन्टा हामीकहाँ चार सय लिटर अक्सिजन उत्पादन भइरहेको छ । कोरोना संक्रमित सैनिकका लागि बाहिरबाट अक्सिजन ल्याउनुपर्दैन । यसले सरकारलाई सहयोग नै पु¥याएको छ,’ उनले भने । सैनिक कल्याणकारी कोषबाट प्लान्ट स्थापना गरिएको हो । सेनासँग हाल बहालवाला र अवकाशप्राप्त गरी करिब आठ लाख सैनिक परिवार छन् । उत्पादिन अक्सिजन उनीहरूकै स्वास्थ्योपचारमा प्रयोग हुने सैनिक प्रवक्ता पौडेलले बताए ।