मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख २२ बुधबार १८:२५:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मुख्यमन्त्री पोखरेलकै जिल्लाका एमाले प्रदेश सांसदले दिए राजीनामा

Read Time : > 1 मिनेट
२०७८ बैशाख २२ बुधबार १८:२५:००

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलकै गृहजिल्लाका सांसद अमरबहादुर डाँगीले राजीनामा दिएका छन । बिरामी भएको र राजनीतिक खिचातानीबाट मुक्त भई आराम गर्नुपर्ने कारण देखाउँदै उनले राजीनामा दिएको लुम्बिनी प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जनाएका छन् । 

बुधबार सभामुख पूर्णबहादुर घर्तीसमक्ष उनले राजीनामा पेस गरेको र संसद् चालू अवस्थामा नरहेकाले सूचनापत्र प्रकाशित गरेको प्रदेश सभाले जनाएको छ । 

दाङको कम्युनिस्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निभाउँदै आएका डाँगीले पोखरेलको साथ छाडेका छन् । डाँगी ०२७ मा दाङ जिल्ला कमिटी सदस्य हुँदै राजनीतिमा सक्रिय रहँदै आएका छन् । उनी ०५४ मा नगरप्रमुखमा समेत निर्वाचित भएका थिए । डाँगी दाङको लोकप्रिय नेताका रूपमा चिनिन्छन् । 

डाँगीले सांसद पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री पोखरेलका पक्षमा उभिने सांसदहरूको संख्य थप घटेको छ । एमालेको एकल बहुमतको दाबी पेस गर्दै मुख्यमन्त्रीमा पुनः नियुक्तिसँगै शपथ लिएका पोखरेल नियुक्त हुँदा नै अल्पमतमा परेका थिए । प्रदेश सभामा डाँगीको राजीनामापछि सांसद संख्या ७९ मा झरेको छ । यसअघि एमालेबाट निर्वाचित कपिलवस्तुका सांसद दृगनारायण पाण्डेले समेत राजीनामा दिएका थिए । 

त्यस्तै, उपनिर्वाचनमा नेकपाबाट निर्वाचित दाङकी सांसद विमला वलीसमेत माओवादी केन्द्रमा प्रवेश गरेकी थिइन् । अल्पमत अवस्थामा मुख्यमन्त्री बनेको विपक्षीहरूको आरोप खेप्दै आएका पोखरेलले मंगलबार तीनजना मन्त्री थपेर मन्त्रिमण्डल १० सदस्यीय बनाएका छन् । 

मंगलबार थपिएका एमालेका अर्घाखाँचीका अध्यक्षसमेत रहेका प्रदेश सांसद चेतनारायण आचार्य, रुपन्देहीका एमाले सांसद भोजप्रसाद श्रेष्ठ र स्वतन्त्र समूहका कपिलवस्तु २ (ख) बाट चुनाव जितेका धर्मबहादुर लाल श्रीवास्तवले बुधबार शपथ लिएका छन् । आचार्यले आन्तरिक मामिला तथा कानुन मन्त्रालय र श्रेष्ठले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् । 

आइतबार विपक्षी गठबन्धनमा उभिएको बताएका श्रीवास्तवले अर्कोदिन बोली फेरेका थिए । सोमबार विज्ञप्ति जारी गरेर मुख्यमन्त्रीकै पक्षमा रहेको बताएका श्रीवास्तवले मंगलबार मन्त्री पद पाए । उनलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्रीले यसअघि मन्त्रिमण्डल ७ सदस्यीय पु¥याएका थिए । तीमध्ये चारजना जसपाले कारबाही गरेपछि प्रदेश सांसद पद गुमाएका रहेका छन् । अन्य एमालेकै हुन् ।