मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख २२ बुधबार १०:३०:००
Read Time : > 2 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कोभिड संक्रमित बढेसँगै प्लाज्माको माग, प्लाज्मा दान गर्न चिकित्सकको अनुरोध

Read Time : > 2 मिनेट
२०७८ बैशाख २२ बुधबार १०:३०:००

विश्वभर अहिलेसम्म कोरोना संक्रमणका कारण ३१ लाख ३६ हजार ९ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।नेपालमा पनि मंगलबार साँझसम्म ३१ सय ९४ जनाको मृत्यु भएको छ । यो क्रम बढ्दै गएको छ । 

कोरोना संक्रमित र मृतकको संख्या बढिरहेका वेला विश्वका वैज्ञानिक र अनुसन्धानकर्ताले औषधिका नाममा एक दर्जनभन्दा बढी खोप प्रयोगमा ल्याइसकेका छन् । अधिकारीहरूका अनुसार खोपको प्रभावकारिताबारेमा विभिन्न चर्चा–परिचर्चा विश्वव्यापी रूपमा चलिरहेको छ । तर, निर्णयमा पुग्न सकेका छैनन् । 

खोप आउनुपूर्व विश्वभर कन्भालेसेन्ट प्लाज्मा थेरापी पनि एक उपचारको पद्धतिका रूपमा अवलम्बन गरिएको थियो । तर, विभिन्न अध्ययनपछि विश्व स्वास्थ्य संगठनले कन्भालेसेन्ट प्लाज्मा थेरापी कोरोना संक्रमितको उपचारमा उपयोगी नभएको बताएपछि धेरै देशमा प्रयोग गर्न छाडिएको थियो । 

तर, नेपालमा सोही प्लाज्मा थेरापीले पनि संक्रमितलाई निको पार्न सक्ने आकलन गर्दै अनुसन्धान गरिएको थियो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अगुवाइमा देशका १५ अस्पतालमा भर्ना भएका बिरामीमाथि प्लाज्मा दिएर अनुसन्धान गरिएको थियो ।

कोरोना भाइरस संक्रमित बिरामीमा प्लाज्मा थेरापी विधिले सकारात्मक नतिजा दिएको प्रतिवेदन तयार भएको थियो । रक्तसञ्चार विशेषज्ञ डा. विपिन नेपाल नेपालमा ३९ प्रतिशतमा प्लाज्मा थेरापी प्रभावकारिता देखिएको बताउँछन् । ३० जुलाईबाट ३१ अक्टोबरसम्म देशभरका १५ अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका १३ सय १५ जना संक्रमितमा कन्भालेसेन्ट प्लाज्मा थेरापी अध्ययन गरेका  डा. नेपालको भनाइ छ । 

नेपालका अनुसार प्लाज्मा थेरापी र रेम्डेसिभिर दुवैको प्रयोग गर्दा ५४ प्रतिशत प्रभावकारी देखिएको थियो । बीचमा कोरोना संक्रमण कम हुँदै जाँदा कन्भालेसेन्ट प्लाज्मा थेरापीको मागसमेत हराएको थियो । तर, अहिले पुनः कन्भालेसेन्ट प्लाज्मा थेरापी सुरु भएको डा. नेपाल बताउँछन् । 

रक्तसञ्चार विशेषज्ञ डा. नेपाल हालसम्म १८ सय जनाको प्लाज्मा थेरापी भइसकेको अनुमान गर्छन् । ‘रेकर्ड  नहुने भएकाले यकिन भन्न सकिएन, तर १८ सयको प्लाज्मा थेरापी विधिबाट उपचार भएको छ,’ उनले भने । कोरोना कम भएसँगै रोकिएको प्लाज्मा थेरापी नेपालमा पुनः सुरु भएको छ । 

विगत पाँच दिनयता प्लाज्मा थेरापी गर्नेहरू बढ्न थालेका छन् । तर, प्लाज्मा दिने नहुँदा सेवामा समस्या आएको डा. नेपाल बताउँछन् । उनी दाता खोज्न निकै समस्या भइरहेको बताउँछन् । ‘मलाई नै पाँच दिनयता एक दिनमा पाँचवटा फोन प्लाज्मा उपलब्ध गराउन भन्दै आइरहेका छन् । तर, हामीलाई दाताहरूबारे विवरण खोज्न नै गाह्रो भएको छ ।’ पुराना डोनरहरू नभएकाले अब प्लाज्मा उपलब्ध गराउन निकै कठिन हुने उनको बुझाइ रहेको छ ।

‘प्लाज्माको प्रयोगले कसैलाई नराम्रो गरेको छैन,’ उनले भने, ‘नेपालमा यसले राम्रै गरेकाले योबाहेकको अर्को विकल्प छैन । अरू देशमा नराम्रो देखियो भन्दैमा नेपालमा पनि नराम्रो हुन्छ भन्ने ठान्नुहुँदैन । यहाँको हावापानी, रहनसहनका कारण प्लाज्माले राम्रो गरेको हुन सक्छ ।’ 

सशस्त्र प्रहरी अस्पतालका चिकित्सक डा. प्रवीण नेपाल पनि कन्भालेसेन्ट प्लाज्मा थेरापी राम्रो उपचारको विधि भएको बताउँछन् । ‘जतिसक्दो मृत्युलाई कम गराउनु छ,’ उनले भने, ‘यसका लागि खोप, प्लाज्मा थेरापी, रेम्डेसिभिर जे उपयुक्त हुन्छ त्यही चलाउनुपर्छ ।’

डा. नेपालले पुनः प्लाज्मा थेरापी विधिमार्फत उपचार सेवा सुरु भएको बताए । आइसियू र भेन्टिलेटरमा पुग्ने बिरामीको संख्या बढ्दो क्रममा भएकाले केही दिनमा प्लाज्माको माग ह्वात्तै बढ्ने नेपालको अनुमान छ । चिकित्सकले रक्तसञ्चार केन्द्रमा गई प्लाज्मा दान गर्न सबैलाई अनुरोध गरेका छन् । 

कसले दिन पाउँछन् प्लाज्मा ?
डा. नेपालका अनुसार विगत ६ महिनामा एकपटक संक्रमित भएको व्यक्तिले कन्भालेसेन्ट प्लाज्मा दान गर्न सक्छ । त्यति मात्रै हाेइन अहिले कोरोनाविरुद्धको खोप पनि सुरु भएको छ । यस्तो अवस्थामा कुनै पनि समयमा खोप लगाएको, तर खोप लगाएको १४ दिन पूरा भएको व्यक्तिले प्लाज्मा दान गर्न पाउँछन् । 

खोपबाट पनि शरीरमा एन्टिबडी बन्छ, तर खोपले बताएको एन्टिबडीले प्लाज्माको रूपमा काम लाग्दैन । डा. नेपालका अनुसार प्लाज्मा दिन खोप लगाएर तयार भएको एन्टिबडी हाेइन संक्रमित भएर बनेको एन्टिबडी नै चाहिन्छ ।

चिकित्सकहरूका अनुसार विगतमा कोरोना संक्रमित भई गम्भीर अवस्थामा पुगेका व्यक्तिलाई प्लाज्मा दिने गरिन्थ्यो । तर, अहिले फरक तरिकाले प्रयोग हुन्छ । अहिले उपचारमा संलग्न चिकित्सकले संक्रमित हुनासाथ आवश्यकता महसुस गरे प्लाज्मा चढाउन सक्छन् । विभिन्न अध्ययनहरूले आइसियूमा पुग्नुभन्दा अगाडिकै अवस्थामा प्लाज्मा दिँदा बढी फाइदा पुग्ने देखाएका छन् । त्यसैले अब प्लाज्मा दिदा बिरामी सघन उपचार कक्षमा पुग्नु नपर्ने  चिकित्सकहरू बताउँछन् ।

प्लाज्मा संकलन गरेपछि त्यसलाई माइनस २० डिग्री सेन्टिग्रेटभन्दा कम तापक्रममा जमाएर राख्नुपर्छ । यसरी जमाएर राखेको प्लाज्माले एक वर्षसम्म काम गर्छ ।