मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७८ बैशाख २२ बुधबार ०९:२९:००
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

 विपक्षीका दुई रणनीति : विश्वासको मतमा असफल पार्ने, वैकल्पिक सरकार बनाउने

Read Time : > 2 मिनेट
२०७८ बैशाख २२ बुधबार ०९:२९:००

-सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी निर्णय, बुधबार संसद् सचिवालयलाई पत्र बुझाउने

-पार्टी नमिलाए संघ र प्रदेश सांसदको सामूहिक राजीनामा गर्ने विकल्पमा खनाल–नेपाल समूहको छलफल

प्रधानमन्त्री केपी ओलीले विशेष अधिवेशनमार्फत विश्वासको मत लिने निर्णय गरेसँगै विपक्षी दलहरू त्यसलाई असफल पार्ने र वैकल्पिक सरकार बनाउन कसरतमा लागेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद्को विशेष अधिवेशन आह्वान गरेको दुई दिनपछि प्रमुख प्रतिपक्षी दल कांग्रेस र माओवादी केन्द्रले छुट्टाछुट्टै बैठक बसेरै यसलाई असफल पार्ने निर्णय गरेका छन् । यही विषयमा जसपाको एउटा पक्षसँग समेत नेताहरूको छलफल भएको छ । सत्तारुढ एमालेको खनाल–नेपाल समूह पनि भावी कदमलाई लिएर रणनीति निर्माणमा जुटेको छ । 

ओलीले अकस्मात् संसद्बाट विश्वासको मत लिने निर्णय गरेर प्रतिनिधिसभाको बैठक बोलाएपछि सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेको असन्तुष्ट पक्षका नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच विभिन्न चरणमा छलफल भएको थियो । नेताहरू ओलीलाई विश्वासको मतमा असफल पार्ने र वैकल्पिक सरकार बनाउन कसरतमा छन् । तर, अझै वैकल्पिक सरकारको अंकगणितबारे केही आधार तयार भइसकेको छैन ।

प्रधानमन्त्री आफैँले विश्वासको मत लिने भनेपछि विपक्षी दलहरूको अविश्वासको प्रस्ताव दर्ताको विकल्प कमजोर भएको छ । कांग्रेस सभापति देउवाले अविश्वास प्रस्ताव ल्याउन खोज्दा संसद्मा अंकगणितको सुनिश्चितता नभएको धारणा राख्दै आएका थिए । संसद्मा ओलीलाई विश्वासको मत पु¥याउन नदिए पनि वैकल्पिक सरकार गठनको मार्गचित्र अझै नबनेको छलफलमा सहभागी एक नेताले बताए । 

प्रचण्डले आफूहरूको अविश्वासको प्रस्ताव वा ओलीको विश्वासको मतमा सहयोग गर्ने विषयमा एमालेका असन्तुष्ट नेता नेपालसँग भेटेरै छलफल गरेका छन् । स्रोतका अनुसार नेता नेपालले पहिले आफू तयार नभएर कांग्रेसले अरूसँग सुनिश्चितता खोज्नु उचित नहुने जवाफ प्रचण्डलाई दिएका थिए । त्यसपछि प्रचण्डले जसपा अध्यक्ष यादवसँग पनि छलफल गरेका थिए । जसपा अध्यक्ष यादवले आफूसँग भएका सांसदको हस्ताक्षरसमेत संकलन गरिसकेको अवस्थामा कांग्रेसले अविश्वासको प्रस्ताव अघि बढाउन नखोज्नु आश्चर्यको विषय भएको प्रचण्डलाई बताएका थिए । 

त्यसपछि दुवै नेतासँग भएको छलफलको विषयमा प्रचण्ड र देउवाबीच टेलिफोन संवाद भएको स्रोतको दाबी छ । देउवा र प्रचण्डबीच अविश्वासको प्रस्तावमा भन्दा पनि अब विश्वासको मतमा ओलीलाई असफल बनाएर नयाँ सरकार कसरी गठन गर्ने भन्ने विषयमा छलफल भएको थियो । देउवाले प्रचण्डसँग फेरि पनि अंकगणितको सुनिश्चितता मागेका थिए भने प्रचण्डले एमालेकै असन्तुष्ट सांसदको कदमले केही सहयोग पुग्न सक्ने बताएका थिए । त्यसपछि देउवाले आफू यस विषयमा सकारात्मक रहेको भन्दै पार्टी पदाधिकारी र शीर्ष नेताहरूसँग छलफल गर्ने बताएका थिए । 

मंगलबार एमालेका असन्तुष्ट सांसदले २७ वैशाखअगावै राजीनामा दिएर ओलीको अंकगणितको आधारलाई कमजोर बनाउन सकिने गरी छलफल गरेका थिए । सोमबार साँझ ५ बजे देउवा, प्रचण्ड र यादव भेट्ने तय भए पनि अन्तिममा आएर रोकिएको थियो । त्यसपछि प्रचण्डले एकएक गरेर सबैसँग छलफल गरेको स्रोतको दाबी छ । त्यसपछि सोही छलफलअनुसार मंगलबार दिउँसो कांग्रेसको शीर्ष तहका नेताहरूको बैठक, माओवादी केन्द्रको स्थायी कमिटी र एमालेको नेपाल समूहका नेताहरूको छुट्टाछुट्टै बैठक बसेको थियो । 

कांग्रेसको शीर्ष तहका नेताहरूबीच सभापति देउवानिवास बुढानीलकण्ठमा मंगलबार बसेको बैठकले ओलीलाई विश्वासको मतमा असफल बनाउने निर्णय गरेको छ । साथै आफ्नो नेतृत्वमा वैकल्पिक सरकार गठन गर्नेबारे प्रतिपक्षमा रहेका राजनीतिक दलहरूसँग समेत छलफल र समन्वय गर्र्नेे निर्णय कांग्रेसले गरेको कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । 

‘प्रधानमन्त्री ओलीले संविधान र लोकतान्त्रिक मूल्यमान्यतालाई एकपछि अर्को गरेर भत्काउने काम गरिरहेका छन् । बैठकले प्रधानमन्त्रीका त्यस्ता कदमहरूको गम्भीर समीक्षा र भत्र्सना गरेको छ,’ सहमहामन्त्री डा. महतले भने, ‘संसद्मा छलफल गर्नुपर्ने धेरै विषय छन् । बजेट अधिवेशन नै राख्नलाई ढिला भइसकेको छ । कोरोना महामारी, रोकथाम र नियन्त्रणको यति ठूलो विषय छ । तर, ती विषयलाई छाडेर सरकारले विश्वासको मत लिने निर्णय गरेको छ । कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मतमा असफल गराउने निर्णय गरेको हो ।’

उता माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ३ फागुन ०७४ मा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । माओवादीले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । स्थायी कमिटी सदस्य गणेश साहले समर्थन फिर्ता गरेको औपचारिक पत्र बुधबार बुझाउने बताए ।