मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख २१ मंगलबार ०८:२७:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

कोरोना महामारीको प्रतिकार्यका लागि सेनाले बेग्लै संयन्त्र बनाउँदै

Read Time : > 1 मिनेट
२०७८ बैशाख २१ मंगलबार ०८:२७:००

नेपाल–भारत सीमामा आठवटा होल्डिङ सेन्टर बनाउने तयारी

नेपाली सेनाले कोभिड–१९ महामारीको प्रतिकार्यका लागि प्रधानमन्त्री कार्यालयमातहतको सिसिएमसीसँग समन्वय गर्न संयन्त्र बनाउँदै छ । प्रस्तावित उपत्यका कमान्ड (हाल उपत्यका पृतना)का कमान्डर अशोक सिग्देलको नेतृत्वमा सेनाले आन्तरिक अपरेसनल तयारी र सरकारी निकायसँग समन्वयका लागि कोभिड मेनेजमेन्ट कोअर्डिनेसन केन्द्र (सिएमसिसी) गठन गर्न लागेको हो । 

सन्तोषबल्लभ पौडेल सैनिक प्रवक्ता 

हामीले आवश्यक बजेटलगायतका विषयमा सम्बन्धित निकायलाई पठाइसकेका छौँ, साधनस्रोत उपलब्ध भएको करिब तीन सातामा होल्डिङ सेन्टर बनाउन सकिन्छ भन्ने हाम्रो मूल्यांकन छ ।

सरकारले एक वर्षअघि नै गठन गरेको कोभिड–१९ क्राइसिस मेनेजमेन्ट सेन्टर (सिसिएमसी) लाई पनि कोभिड–१९ प्रतिकार्यको रणनीतिक विषयमा सेनाको सिएमसिसीले सुझाब दिनेछ । ‘त्यसबाहेक हाम्रो आफ्नै आन्तरिक अपरेसनल तयारी अघि बढाउन सिएमसीसी गठन गर्दै छौँ । यसले कोभिड– १९ को प्रतिकार्य रणनीति, अपरेसनल तयारी र सिसिएमसीसँग समन्वयलगायतका सबै काम अघि बढाउनेछ,’ सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नयाँ पत्रिकासँग भने, ‘सेनाको प्रस्तावित संयन्त्रले मुलुकभरि आवश्यक आइसोलेन सेन्टर, क्वारेन्टिन सेन्टर तथा सेनालाई आवश्यक सबै तयारीको काम अघि बढाउनेछ । कोभिडका लागि मात्रै केन्द्रित गरेर यो संयन्त्र गठन गर्दै छौँ ।’ सेनाले देशभरि ब्यारेकहरूमा आन्तरिक प्रयोजनका लागि क्वारेन्टिन र आइसोलेसन सेन्टर बनाइरहेको छ ।

सेनाले अघिल्लो वर्ष कोभिडको पहिलो लहर आएपछि पनि एउटा संयन्त्र गठन गरेको थियो । ‘त्यो संयन्त्र कोभिडमा मात्रै सीमित थिएन, समग्र प्रकोप व्यवस्थापन प्रयोजनका लागि थियो,’ प्रवक्ता पौडेलले भने, ‘कोभिडमा मात्रै केन्द्रित हुने गरी यसपालि संयन्त्र बनाउन लागेका हौँ । यसले कोभिडको प्रतिकार्यका लागि प्रभावकारिता बढ्छ ।’

यी स्थानमा बन्दै छन् होल्डिङ सेन्टर
सरकारले सेनालाई नेपाल–भारत सीमा क्षेत्रमा आठवटा होल्डिङ सेन्टर स्थापनाको जिम्मा दिएको छ । त्यसका लागि स्थानीय प्रशासनले जग्गा उपलब्ध गराउने र अर्थ मन्त्रालयले बजेट उपलब्ध गराउने सरकारी निर्णय छ । सेनाले आवश्यक साधनस्रोतको विस्तृत विवरण पठाइसकेको छ । ‘हामीले आवश्यक बजेटलगायतका विषयमा सम्बन्धित निकायलाई पठाइसकेका छौँ,’ सैनिक प्रवक्ता पौडेलले भने, ‘साधनस्रोत उपलब्ध भएको करिब तीन सातामा होल्डिङ सेन्टर बनाउन सकिन्छ भन्ने हाम्रो मूल्यांकन छ ।’ 

भारतबाट नेपालीबाहेक अरूलाई आउन प्रतिबन्ध लगाएको सरकारले एक–एक हजारका दरले आठ हजार मानिस अट्ने आठवटा होल्डिङ सेन्टर बनाउन लागेको हो । यसको जिम्मा मन्त्रिपरिषद्ले सेनालाई दिएको छ । 

नेपाल राजपत्रमा ६ वैशाखमै यसबारे सूचना जारी भएको छ । जसअनुसार काँकडभिट्टा, रानी भन्सार, वीरगन्ज बेलहिया, कृष्णनगर, जमुनाह, गौरीफन्टा र गड्डाचौकीनजिकै एक–एक हजारजना अट्ने होल्डिङ सेन्टर बन्न लागेको हो । 

सैनिक प्रवक्ता पौडेलका अनुसार अस्थायी प्रकृतिको संरचना बनाउन स्थानीय प्रशासनसँग सेनाले समन्वय गर्नेछ । भारतबाट आएका नागरिकलाई राख्ने र सम्बन्धित प्रदेश वा स्थानीय तहमार्फत ब्यवस्थित रूपमा घर पठाउने गरी होल्डिङ सेन्टर स्थापना हुन लागेको हो । यसका लागि लाग्ने खर्च व्यवस्थापनका लागि अर्थ मन्त्रालयले स्वीकृति दिइसकेको छ भने बजेट निकासा हुन बाँकी छ । 

सरकारको निर्देशनमा गत वर्ष कोरानाको पहिलो लहरका वेला सेनाले नेपाल–भारत सीमानाकामा १९ वटा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सातवटा होल्डिङ सेन्टरको सञ्चालन तथा व्यवस्थापन गरेको थियो । अहिले नेपाल–भारत सीमामा जम्मा आठवटा होल्डिङ सेन्टर बनाउने तयारी छ । तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउने हवाई यात्रुहरूका लागि विगतमा स्थापित होल्डिङ सेन्टर अहिले सञ्चालनमा छैनन् ।